सातामा ५ एयरलाइन्सका १० अन्तर्राष्ट्रिय उडानलाई अनुमति (सूचीसहित) – Nepal Press

सातामा ५ एयरलाइन्सका १० अन्तर्राष्ट्रिय उडानलाई अनुमति (सूचीसहित)

काठमाडौं । सरकारले शनिबार र आइतबारबाहेक सातामा ५ दिन आउने र जानेगरी दुईटा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । पर्यटन नथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो ।

टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् ।

नयाँ तालिका अनुसार अब हरेक विहिबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ ।

दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जानको लागि सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने भएको छ ।

अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ । थप नियमित उडानको थपघट भने महामारीको अवस्थालाई हेरे गरिने जनाइएको छ ।

सरकारले चीनको लागि पनि उडान अनुमति दिएपनि चीनका कुनै एयरलाइन्सले उडानमा रुचि देखाएका छैनन् । चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने छ ।

सरकारले सोमबार विदेशबाट आउने नेपाली र विदेशी नागरिकको हकमा मापदण्ड सार्वजनिक गरेको छ । जसअनुसार उनीहरु अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । नियम नमान्नेलाई ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियम अनुसार जरिवाना तथा सजाय हुने भनिएको छ ।


प्रतिक्रिया

One thought on “सातामा ५ एयरलाइन्सका १० अन्तर्राष्ट्रिय उडानलाई अनुमति (सूचीसहित)

  1. अष्ट्रेलिया बिगत यक डेढ बर्षदेखी भिषा लागेर उच्च शिक्षा हासिल गर्न जान नपायका बिध्यार्थिहरु को हकमा पनि अष्ट्रेलिया जाने उडान खोल्नुपर्छ , मेरो सुझाब !

Leave a Reply

Your email address will not be published. Required fields are marked *