गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै – Nepal Press

गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांगीतिक रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गर्न लागेको छ।

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने कार्यक्रम २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भने, ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।’

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए । प्रतियोगिता भर्चुअल माध्यमबाट हुनेछ । तर फाइनल भने प्रत्यक्ष गर्न लागिएको एनआरएनए भिडिया सहसंयोजक चिरन्जीवीराज देवकोटाले जानकारी दिए । फाइनलको स्थान भने तय भइसकेको छैन ।

‘नेपाली संगीतको अन्तर्राष्ट्रियकरण’

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले आफू सधैं नेपाली संगीतको अन्तर्राष्ट्रियकरणको पक्षमा रहेकाले यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभा जन्मिने विश्वास व्यक्त गरे। उनले सन् १९८७ मा प्रज्ञा प्रतिस्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी , महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवी देवकोटाले पनि कार्यक्रममा शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रमको मूल आयोजक, संस्कृति तथा सम्पदा उपसमितिका संयोजक, गोविन्द प्रसाद गौतमले लामो तयारी गरेर समितिले यो कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रम सफल पर्न सबैलाई आग्रह गरे । ‘विश्वव्यापी रुपमा घातक बन्दै गइरहेको कोरोना संक्रमणका कारण पीडा व्यहोरी रहेका नेपालीका निम्ति यो कार्यक्रमले केही भए पनि राहत पुग्नेछ भन्ने हामीले आशा लिएका छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *