निषेधाज्ञा उल्लघन गर्ने १ लाख भन्दा बढी सवारी साधन प्रहरी नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लघन गर्ने १ लाख भन्दा बढी सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । मुलुकभरका ७७ जिल्लामध्ये अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा अहिलेसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा उल्लघन गर्ने १ लाख १ हजार २ सय ६४ वटा साधनमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको ‘ ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५ सय ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *