मास्क नलगाउने ५८ हजारलाई कारवाही, मापदण्ड पालना नगर्ने १ हजारलाई जरिवाना – Nepal Press

मास्क नलगाउने ५८ हजारलाई कारवाही, मापदण्ड पालना नगर्ने १ हजारलाई जरिवाना

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लघन गर्ने २ हजार ३९ सवारी साधन नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा मास्क नलगाई जताभावी हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ सेन्टरमा राखेर सम्झाई बुझाई छोडेको छ । यसै अवधिमा तोकिएको मापदण्ड पालना नगर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराइएको नेपाल प्रहरीले जनाएको हो ।

नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिए ।


उनका अनुसार कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन् ।

 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित सचेतनामुलक कार्यक्रम जारी राखेको छ ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

उपत्यकामा निषेधाज्ञा उल्लघन गर्ने २ हजार ३९ सवारी साधन नियन्त्रणमा

यसैविच बिहिबार बिहान ६ बजेबाट काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञामा साँझ ७ बजेसम्म निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहिबार १ हजार ४ सय ८८ दुई पाङग्रे र ५ सय ५१ चार पाङग्रे सवारी साधान नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *