जनमोर्चा संसदीय दलका नेता भन्छन्– बदनाम गर्न खोजियो, हाम्रो मत अविश्वास प्रस्तावमै – Nepal Press

जनमोर्चा संसदीय दलका नेता भन्छन्– बदनाम गर्न खोजियो, हाम्रो मत अविश्वास प्रस्तावमै

पोखरा । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफूहरु निर्णायक शक्ति भएकाले बदनाम गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमै मतदान गर्ने बताएका छन् ।

अविश्वासको प्रस्तावमा मतदान नगर्न सांसद खिमविक्रम शाहीले ‘कोरोना बहाना बनाएको’ भन्ने आरोप सत्य नभएको जिकिर गर्दै थापाले जनमोर्चाका सबै सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने दाबी समेत गरे । नेपाल प्रेससित कुरा गर्दै नेता थापाले भने, ‘हाम्रो कसैसित मिलेमतो छैन, हामी निर्णायक भएकाले अनेक हल्ला चलाइयो ।’

अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची भएको बुधबारको संसद बैठकमा जनमोर्चाका सांसद शाही उपस्थित नभएका कारण संसद बैठक नै स्थगित भयो । बुधबार एक्कासी सांसद शाही सम्पर्कविहीन भएपछि गण्डकीको राजनीतिक नै तरंगित भएको थियो ।
एक्कासी शाही ‘बेपत्ता’ भएपछि कांग्रेस, जनमोर्चा, जसपा गरी ३ दलका प्रतिनिधि भएर शाहीलाई लिन घरसम्मै पुगेपनि कोठामा ताल्चा ठोकिएको देखेपछि रित्तै फर्किएका थिए । लगत्तै जनमोर्चाकी प्रमुख सचेतकसमेत रहेकी सांसद पियारी थापाले अज्ञात अवस्थामा रहेका आफ्ना सांसद खोजी पाऊँ भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिइन् ।

त्यही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चित कालका लागि संसद स्थगित गरिदिए र त्यहाँबाट आफू पनि गायब भए । उनको अनुपस्थितिमा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न पाएन र अर्को सदन कहिले सुरु हुन्छ अन्यौलमै सकियो ।

पछि हराएका भनिएका सांसद खिमविक्रम शाही नागढुंगास्थित चरक मेमोरियल अस्पतालको आईसीयूमा भर्ना भएको खबर आयो । उनलाई कोरोना पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था एक्कासि खराब भएपछि अस्पताल भर्ना भएको शाहीको सचिवालयले जानकारी दियो ।

यद्यपि, प्रदेशसभामा मंगलबार गरिएको परीक्षणमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ थियो । पछि निजी प्रयोगशाला लाइफ केयर डायग्नोस्टिक सेन्टरमा गरिएको परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ आएको देखिएको थियो । बुधबार बिहान आएको २ वटा रिपोर्टको समयान्तर १० मिनेट छ ।

एकै समयमा २ रिपोर्ट आएपछि विपक्षीले ‘मिलेमतो’को आरोप लगाए । उनीहरुको आरोप छ, ‘सांसदलाई किनियो, अविश्वास प्रस्तावमा मतदान नगर्नका लागि गरिएको यो प्रपञ्चमात्रै हो । जनमोर्चाले धोका दियो ।’

६० सदस्यीय प्रदेश सभामा जनमोर्चाले साथ दिँदा अविश्वास प्रस्तावमा ठीक बहुमत अर्थात् ३१ मत पुग्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर