गण्डकीको ‘खेलकुद’ : सरकार नढल्ने संकेतपछि सभामुखले बीचमै फुके सिटी ! – Nepal Press

गण्डकीको ‘खेलकुद’ : सरकार नढल्ने संकेतपछि सभामुखले बीचमै फुके सिटी !

पाेखरा । गण्डकीको प्रदेश सभा वैठक र त्यसको सेरोफेरोमा भएको ‘खेलकुद’ आज राष्ट्रिय चासो र चर्चाको विषय बन्यो । दिनभरको यो खेलकुदले कुनै परिणाम भने निकाल्न सकेन । ‘अम्पायर’को भूमिकामा रहेका सभामूख नेत्रराज अधिकारीले बीचमै ‘सिटी फुकेर’ आजको खेल टुंग्याएका छन् । उनले पर्याप्त तर्क र आधारविन प्रदेशसभाको वैठक स्थगित गरिदिए ।

अर्को वैठकको मितिसमेत तोकिएको छैन । संसद चल्दै गर्दा आफ्ना एक सांसद सदनमा उपस्थिति नभएको भन्दै उनको खोजी गर्न जनमोर्चाकी सांसद पियारी थापाले निवेदन दिएकी थिइन् ।

त्यही निवेदनको चिर्कटोलाई आधार बनाएर सभामुखले संसद अनिश्चितकालका लागि स्थगित गरिदिएका हुन् । एक सांसद अनुपस्थित हुँदैमा सदनको यति महत्वपूर्ण कारवाही रोकेको भन्दै सत्तारुढ दल एमालेले आपत्ति जनाएको छ । सो दलका सचेतक मायानाथ अधिकारीले सभामूखको भूमिकामा प्रश्न उठाएका छन् ।

उनले पत्रकारहरुसँग भने, ‘एकजना सांसद बिरामी भएर अस्पताल भर्ना हुनुभएको भनेर मिडियामै आइसकेका थियो । तर, उहाँको निहु गरी संसदको प्रक्रिया सभामुखले कसरी रोक्न मिल्छ ?’ उनले थपे, ‘भोली हामीलाई पनि झोक चल्यो भने एक संसद अनुपस्थिति भएर संसदमा निवेदन दिने अनि सभामुखले वैठक स्थगित गराउँदै जाने हो त ?’

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल भएको मात्रै नभएर छलफल पनि टुंगिन लागिसकेको थियो । तर, मतदान हुनुभन्दा ठीक अघि संसद स्थगित भएपछि प्रक्रिया लम्बिएको मात्रै छैन, संसदीय पद्धतिमा नै प्रश्न उठेको छ । अविश्वास प्रस्ताव पारित नहुने संकेत देखेर सभामुखले नियतवस प्रक्रिया लम्ब्याएको आरोप सत्तारुढ दलका नेताले गरेका छन् ।

संसद स्थगित गरेर सभामुख अहिले आफैं ‘गायब’ बनेका छन् । उनी अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको निर्धारित वैठक पनि बस्न सकेन । ‘हामी दलको वठक बस्दै थियौं, एकैछिनमा आउँछौं भनेर सचिवज्यूलाई जानकारी पनि दिएका थियौँ,’ एमाले दलका प्रमूख सचेतक मायानाथ अधिकारीले भने, ‘तर, हामी नआएको भनेर वैठक स्थगित गर्ने काम भयो ।’

सभामुखले यसअघि कार्यव्यवस्था परामर्श समितिकै सल्लाह अनुसार काम गर्दै आएको भए पनि अहिलेको प्रकरणमा उनले पक्षधरता देखाएको अधिकारीको आरोप छ । सभामुखले किन संसद स्थगन गर्न हतार गरे त ? उत्तर जटिल छैन् ।

सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्ताव पारित हुनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस, माओवादी र जसपा गरी कुल २८ जना सांसद छन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदको साथबिना उनीहरुले सरकार ढाल्न सक्ने अवस्था थिएन ।

वैठकअघिसम्म पनि जनमोर्चाले साथ दिने आशामा रहेको विपक्षी गठवन्धन अन्तिम समयमा झस्कियो, जब सो पार्टीका सांसद खिमविक्रम शाही वैठकमै आइदिएनन् । फोन पनि ‘स्वीच’ अफ गरेर लापता भएपछि अविश्वास प्रस्ताव फेल हुने ‘खतरा’ देखियो ।

स्वतन्त्र सांसद दिपक मनाङ्गे पनि सम्पर्कबिहिन भए । अब एमालेका सांसदले फ्लोर क्रस गरेर ‘अविश्वास प्रस्ताव’ को पक्षमा भोट हाले मात्रै सरकार ढल्ने गरी परिस्थितिमा नाटकीय फेरबदल भएको थियो । सरकार जोगिने सम्भावना देखेरै सभामुखले आज मतदान टारेको एमाले नेताहरुको निस्कर्ष छ ।

एमाले सासद राजिव पहारीले भने, ‘माओवादीबाट निर्वाचित हुनुभएका सभामूखले संसदीय विधि र पद्दतिलाई मिचेर आफ्नो मातृ पार्टीप्रति वफादारिता देखाउनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर