बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित) – Nepal Press
अहिलेसम्म कतिले छाडे काठमाडौं ?

बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमण तीव्र गतिमा फैलिएपछि हुन लागेको लकडाउनका कारण उपत्यका छाड्ने सर्वसाधारणको संख्या आज बिहानसम्म १ लाख नाघेको छ ।

अर्कातिर, उपत्यका भित्रिने नाकामा प्रहरीले बुधबार राति १२ बजेदेखि कडाइ गर्नका लागि विशेष योजना बनाएको छ ।

सोमबार मन्त्रिपरिषद् बैठकले उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै मंगलबारमात्रै ४५ हजार सर्वसाधारणले उपत्यका छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

तर, उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी भने मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको दावी गर्छन् ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार, काठमाडौंबाट देशका विभिन्न भागका लागि प्रस्थान गर्ने लामो दूरीका ५ हजार सवारीसाधन विभिन्न नाकाबाट बाहिरिएको एसपी वस्नेतले बताए । तर, ट्राफिक प्रवक्ता अधिकारीका अनुसार उपत्यकाका तीनै जिल्लाको विवरणका आधारमा ८ हजार सवारी साधन मंगलबार बाहिरिएका छन् ।

त्यो क्रम बुधबार बिहानदेखि तीव्र रूपमा बढेको र बुधबारमात्रै २ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ । उसले गरेको अनुमानअनुसार, बुधबार विहान १० बजेभित्र १ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

बुधबार राति १२ बजेसम्म उपत्यका छोड्ने र भित्रिने यात्रुका हकमा कुनै कडाइ नगरिएको, तर त्यसपछि फरकखाले सुरक्षा नीतिका साथ प्रहरी परिचालित हुने भएको छ ।

उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार बुधबार राति १२ बजेपछि उपत्यका भित्रिने यात्रुका हकमा उपत्यकास्थित तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको मापदण्डका आधारमा व्यवहार गरिनेछ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न ढुवानीसहितका अत्यावश्यक क्षेत्रसँग सम्बन्धित सवारी साधन र व्यक्तिलाई अवागमनमा अवरोध नगरिने एसएसपी रञ्जितकारले बताए ।

निगरानी गरिने स्थान

बुधबार राति १२ बजेदेखि देशका विभिन्न भागबाट राजधानी उपत्यका भित्रिने विभिन्न नाकामा प्रहरीको अवरोधक टोली तैनाथ हुने भएको छ ।

नागढुंगा हुँदै उपत्यका भित्रिन चाहने यात्रुलाई झ्याप्लेखोलादेखि नै अवरोधमा पर्ने छन् । त्यस्तै, भीमफेदी-फर्पिङ रुटबाट उपत्यका छिर्ने नाका हुमाने भञ्ज्याङ, कान्तिराजपथ हुँदै उपत्यका छिर्ने नाका भट्टेडाँडा, वीपी राजमार्ग हुँदै उपत्यका छिर्ने नाका साँगा भञ्ज्याङ र मेलम्ची हुँदै उपत्यका छिर्ने जहरसिंहपौवालगायतका नाकामा प्रहरीले कर्डन ड्युटी खटाउने गरी योजना बनाएको छ ।

‘तर, स्वास्थ्य, सुरक्षा र सञ्चारलगायतका अत्यवश्यक सेवामाथि कुनै अवरोध हुने छैन’, एसएसपी रञ्जितकारले भने, ‘उहाँहरूले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे, नगरेको अनुगमन गरिनेछ । यदि मापदण्ड पालना नगरेको भए जोसुकैमाथि पनि हामी कारवाही गर्न सक्छौँ ।’

मास्क अनिवार्य

प्रहरीले मास्कबिना यात्रा गर्ने यात्रुलाई ५० रूपैयाँ जरिवाना गरी मास्क अनिवार्य लगाइदिने नीति अबलम्बन गरेको छ । यो जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार, सवारीसाधनमा सीट संख्याभन्दा बढी यात्रु राखिएमा र दुरीसम्बन्धी मापदण्ड पालना नगरिएमा त्यस्ता सवारी साधनमाथि कारवाही गरिएको बताए ।

सम्हाल्नै गाह्रो

आ-आफ्नो थातथलो जानका लागि हतारिएका सर्वसाधारणले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड व्यापक रुपमा उल्लंघन गरिरहेका छन् ।

बुधबार बिहानैदेखि नागढुंगामा केन्द्रित भएका ट्राफिक प्रवक्ता अधिकारी भन्दै थिए, ‘जति सम्झाउँदा पनि मान्दैनन्, कतिलाई कारवाही गर्नु ?’

बुधबार कलंकीचोकदेखि शुरू भएको ट्राफिक जामको लहर धादिङस्थित खानी खोलासम्म पुगेको थियो । ‘गाडीभरि यात्रु खचाखच छन्, तिनलाई उतार्ने कि जाम खुलाउने, बडो तनावमा छौँ हामी’, प्रवक्ता अधिकारीले भने ।

तर, आँखाले देखेसम्म स्वास्थ्य मापदण्ड पालना नगर्ने यात्रुलाई आफूहरूले कारवाही गरिरहेको चेकपोष्ट प्रहरी, थानकोटका इन्स्पेक्टर याम बञ्जाडेले बताए । ‘ट्राफिक प्रहरीसँग समन्वय गरेर हामी यो कामलाई कडाइँका लागि कार्यान्वयन गर्दैछौँ’, उनले भने ।

प्रहरी प्रमुख नै संक्रमित

कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमणबाट उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पाल स्वयं नै ग्रस्त भएका छन् ।

मंगलबार उनको पीसीआर रिपोर्ट पोजिटिभ भएपछि महाराजगञ्जस्थित प्रहरी अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । तर, उनको स्थिति सामान्य रहेको एसएसपी रञ्जितकारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर