भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान – Nepal Press

भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान

एजेन्सी । भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना विमारीहरु मरिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।

भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।

दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन नपाएर २० जना संक्रमितको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भारतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तैनाथ राखिएको बताएको छ ।

शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृत्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘महाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई परास्त गरेको ठानेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले कोरोनाबिरुद्धको लडाईं अन्त्यतिर पुगेको बताएका थिए ।

तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भेरिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक समारोह, कुम्भमेला लगायतका गतिविधि रोकिएन । यही महिनाको सुरुआतमा हरिद्वारमा आयोजित कुम्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए ।

राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सामर्थ्यको अन्तिम अवस्थामा रहेको चेतावनी दिएका छन् । होली फ्यामिली अस्पतालले आईसीयूसहित आफ्ना सबै बेडहरु भरिभराउ रहेको जनाएको छ ।

‘लगभग सबै अस्पताल अन्तिम स्थितिमा छन् । अक्सिजन पाइएन भने हामीले कुनै पनि रोगका विरामीको उपचार गर्नै सक्दैनौं,’ दिल्लीका एक चिकित्सकले बीबीसीसँग भने, ‘अक्सिजन नपाएको अवस्थामा १ मिनेटभित्र ती बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमा रहेका बिरामीलाई उच्च प्रवाहको अक्सिजन जरुरी हुन्छ । उनीहरुले त्यो सुविधा पाएनन् भने अधिकांशले मृत्युवरण गर्न बाध्य हुनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर