बाँकेमा कोरोनाको भयावह अवस्था : एकैदिनमा ७ जनाको मृत्यु, अस्पतालमा बिरामी राख्ने ठाउँ छैन – Nepal Press

बाँकेमा कोरोनाको भयावह अवस्था : एकैदिनमा ७ जनाको मृत्यु, अस्पतालमा बिरामी राख्ने ठाउँ छैन

रुपन्देही । केही सातायता कोरोना संक्रमितको प्रभावित क्षेत्र बनेको बाँकेमा २४ घण्टाको अवधिका उपचारको क्रममा सात जना बिरामीको मृत्यु भएको छ । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले बताए ।

यो घटनासँगै २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमित बिरामीको मृत्यु भएको वलीले बताए । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएका वलीले बताए । यी घटनासँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

बिरामीलाई भुइँमै राखेर उपचार
केही सातायता बाँकेमा कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन गरिएको छ । अहिले बाँकेका सबै अस्पताल भरिएका छन् ।

केही दिनयता बाँकेमा कोरोना संक्रमित बिरामीलाई उपचारको लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड पनि अभाव हुन थालेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा बेड पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारको लागि तयार गरेको कोभिड वार्डका सबै १ सय ४२ बेड भरिएको थापाले बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकोले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेकाले स्वास्थ्यकर्मी थप चिन्तित छन् ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका विरामीले भरीभराउ भएकोले अक्सिजनको मात्रा कम भएका विरामीलाई घर पठाउनुपर्ने बाध्यता आइसकेको बताए । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका विरामीलाई उपचार व्यवस्था मिलाउन सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा बेड अभाव भएकोले विरामीलाई भर्ना गर्न नसकिने अवस्था रहेको बताए ।

शिक्षण अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुले आइसियु बेड पर्खेर बसेको बताउँदै संक्रमित विरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर जान लागेको बताए ।

भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए अहिले प्राय सबैमा संक्रमण देखिएको बताए ।

कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित बन्न थालेका छन् ।

बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर संक्रमितको संख्या बढिरहेकोले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

नेपालगञ्जका पत्रकार भेषराज बस्नेतले अहिले नेपालगन्ज उपमहानगरपालिकामा लकडाउन भएपनि बाहिर सबै खुला रहेको बताए । अहिले पनि दिनहुँ भारतीय नाकाबाट नेपालीहरु आइरहेको र सबै सिधै गाउँ गइरहेकाले भोलिका दिनमा थप भयानक स्थिति आउनसक्ने बताए ।

लापरबाहीले स्थिति भयावह
बाँकेबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका मन्त्री महेन्द्र यादवले कसैले कल्पना नगरेको महामारीले बाँकेलाई भयावह बनाएको बताए ।

उनले जनशक्ति अभावमा सबै बिरामीलाई उपचार गराउन नसकेको नेपाल प्रेसलाई बताए । ‘म हिजैदेखि जिल्लामा बसेर सबै संयन्त्रलाई चुस्त राख्न आग्रह गरेको छु, अहिले उपचार भइरहेका भेरी अस्पताल र मेडिकल कलेजमा मात्रै उपचार सम्भव नभएकाले सबै निजी अस्पताललाई कोभिड उपचारका लागि आग्रह गरिएको छ । स्वास्थ्यकर्मीले १५ दिन अगावै लकडाउन नभए स्थिति नियन्त्रण बाहिर जाने सुझाव दिए पनि हामीले कार्यान्वयन गर्न सकेनौं । यसबाट सबैले पाठ सिक्नुपर्दछ,’ उनले भने ।

प्रदेश सरकारले आवश्यक आर्थिक व्यवस्थापन गर्ने र केन्द्र सरकारसँग पनि समन्वय गरी थप उपचारको बन्दोबस्त गर्ने तयारी गरेको मन्त्री यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर