‘मैले २० वर्षमा बुझाउन नसकेको कोरोनाले एक वर्षमा बुझाइदियो (भिडियो) – Nepal Press
नेपाल टक

‘मैले २० वर्षमा बुझाउन नसकेको कोरोनाले एक वर्षमा बुझाइदियो (भिडियो)

नेपालमा कोरोनाको दोस्रो लहरको चर्चा अहिले सर्वत्र छ । नेपालमा ‘लहर’ कै रुप लिइनसकेको भए पनि कोरोनाको दोस्रो भेरियन्ट प्रवेश भइसकेको छ । अब यो महामारीसँग कसरी लड्ने भन्ने सन्दर्भमा फरक–फक विचारहरु विज्ञबाट आइरहेका छन् । एकथरिले लकडाउन नै एक मात्र ओखती भएको बताउँछन् भने अर्काथरि चाहिँ अरु विकल्पमा जानुपर्ने सुझाउँछन् । जे भए पनि कोरोनाको दोस्रो छालसँग लड्नका लागि देशले विभिन्न तयारी गर्नैपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोनाको नयाँ भेरियन्टका विषयमा थप अनुसन्धान हुनुपर्नेमा जोड दिन्छन् । नेपालमा कोरोनाले धेरै क्षति पुर्‍याए पनि सरुवा रोगका विषयमा जनचेतना भने बढेको उनले बताए । डा. पुनसँग कोरोनाका विभिन्न आयामहरुबारे नेपाल प्रेसले गरेको कुराकानी यहाँ प्रस्तुत छ-

एक वर्षअघि कोरोना शुरु हुँदाको समयलाई कसरी सम्झनुहुन्छ ?

पोहोर साल जुन कोरोना भाइरस देखिएको थियो, त्यो हाम्रो लागी र सबैको लागि नौलो थियो । हामीले बनाएका योजनाहरु अनुभव र अनुसन्धानमा आधारित थिए । त्यसरी नै हामीले कोरोनाको लडाई लड्यौं ।

त्यसबेला उपचार यही भन्ने पनि थिएन । हामीले भनेका बाँच्ने उपायहरुमा पनि थप सुधारहरु हुँदै आइरहेका थिए । यो कसरी नेपालमा फैलिइरहेको छ र फैलिन सक्छ भन्ने पनि अनुमान थिएन । पहिले एयरपोर्ट बन्द गर्‍यौं, लकडाउन लगायौं तर भारतबाट एकदम अप्रत्याशित रुपमा आयो । यो नौलो भएको हुनाले हाम्रो योजनाहरु सोचेजस्तो भइरहेको थिएन ।

हाम्रो कोशिसका बावजुद पनि कोरोना भाइरसले केही मानवीय क्षती गर्‍यो । लाखौंलाई संक्रमण भयो । पछिल्लो समयमा यो कम हुँदै गइरहेको अवस्थामा यसले फेरी अर्काे उचाई लेला भन्ने त्रास सबैमा छ । त्यो भनेको दोस्रो लहर आउने सम्भावनालाई संकेत गरिरहेको छ ।

पोहोर र अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुभित्रको माहोलमा के फरक छ?

पहिले र अहिलेमा त्यस्तो फरक भन्ने त हुँदैन । हामी आ-आफनो ठाउँबाट उत्तिकै सक्रिय हुने हो । समग्रमा नेपालको कुरा गर्दा चाहीँ जुन अनुभव लिएका थियौं, त्यसका आधारमा थप सक्रिय रहेका छौं । यो कोरोना भाइरस सोचेजस्तो नहुन सक्छ । यस्को हर्कत फरक-फरक देखिइरहेको हुनाले यसलाई नजिकबाट नियाल्नु पर्ने हुन्छ ।

कोरोनाको नयाँ भेरियन्टहरु देखिएको छ । त्यसको आफ्नै फरक खालको व्यवहार, हर्कतहरु छन् । त्यसलाई नियाल्नु पर्ने छ । तर नागरिकको हैसियतबाट चाहिँ जनस्वास्थ्यका मापदण्डहरुलाई थप व्यवस्थित गर्नुपर्ने र निरन्तरता दिनु पर्ने देख्छु ।

अघिल्लो साल स्वास्थ्यकर्मीहरु पनि कोरोनाको विरामीको अघि जान डराउँथे, अहिलेको अवस्था कस्तो छ ?

मलाई जहाँसम्म लाग्छ, पहिलो लहरमा हामीले एक किसिमको संघर्ष गरिसकेका छौं । त्यसैले पहिले जति त्रास त म पाउँदिन । हामी कर्मचारीले पनि केही हुने हो कि भन्दै काम गर्‍याैं । तर त्यो डर स्वभाविक पनि हो । एक वर्षको अनुभवले गर्दा अहिले डर त छैन ।

पहिले पनि डर भन्दा जिज्ञासा थियो, के होला, कसो होला भनेर । मलाई भए पनि मेरो परिवारलाई नभईदिए होस् भन्ने थियो । मलाई लाग्छ धेरैले एक किसिमको अनुभव प्राप्त गरिसकेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट कस्तो हो ? नेपालमा देखिएको नयाँ भेरियन्ट कस्तो हो र पहिलेको भन्दा यो कति फरक छ ?

नेपालको भन्दा पनि यो आयातित भनिएको छ । यो युके भेरियन्टको डबल म्युटेन्ट भनिएको छ । मेरो आफ्नो सोच के छ भने ब्राजिल, दक्षिण अफ्रिका, युकेको कुरा गर्दैगर्दा नेपालमा पनि नहोला भन्न सकिँदैन । त्यसको बारेमा खोजिनिती गर्नुपर्ने हुन्छ । विश्लेषण गर्नुपर्ने हुन्छ, परिक्षण गर्नुपर्ने हुन्छ । अहिले नदेखिए पनि पछि देखिने हुन सक्छ । भेरियन्ट भनेको जीनमा परिवर्तित भएर आएको भन्ने बुझौं अहिलेको लागि । त्यो निरन्तर रहिरहन सक्ने सम्भावना रहन्छ ।

दोस्रो लहरमा बालबालिका अलिक चपेटामा परेको देखिन्छ । त्यो कारणले हामीलाई अलि नौलो लाग्छ । वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षण हुन सक्छ । पहिले ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने सुनिन्थ्यो । वच्चाहरुमा मल्टी इन्फ्यामेटरी सिन्ड्रम अर्थात विभिन्न अंगहरुमा समस्या ल्याउने पनि हुन सक्छ । त्यो चाहिँ अलिक फरक हो । त्यसमा विशेषगरी बाल अस्पतालहरुले चुनौती सामना गर्नु परेको देख्छु ।

पछि कस्तो हुन्छ भन्न सक्दिनँ, तर हाम्रालागि यो उमेर समूह पनि नयाँ नै हो । त्यो कारणले कोरोना भाइरस आफैंमा बदलाव आइरहने र हर्कतहरु फरक फरक देखिने भएकोले निरन्तरता हुन्छ जस्तो लाग्छ । त्यसकारण भाइरसको नयाँ हर्कत के कारणले भयो, आगामी दिनमा हाम्रो समुदायमा के असर पार्छ भन्ने जानकारी लिनु पर्छ जस्तो लाग्छ । त्यही अनुसारले योजना बनाउनु पर्छ ।

अहिले कुन उमेर समूहका बालबालिकामा धेरै देखिएको छ ?

अहिले १० देखि १८ भनिएको छ । पहिले संक्रमण थियो कि थिएन आफ्नो ठाउँमा छ । परिक्षण पनि भएको थिएन होला । तर एकपछि अर्को भर्ना हुनु पर्ने अवस्था थिएन । अहिले चाँहि भर्ना भइरहेको भन्ने कुरा आएको छ । यो एउटा फरक कुरा छ । अहिले बालबालिको कुरा गर्दै गर्दा हामी अलि संवेदनशील भइरहेका छौं ।

कोरोना भाइरस फैलिने वातावरण भनेको धेरै मानिस जम्मा हुने ठाउँ हो । धेरै मध्यमा एउटा शैक्षिक संस्था पनि पर्छ । अरु पनि छ । बालवालिकाको कुरा गर्दा शैक्षिक संस्था पनि पर्छ । अहिले बालबालिकालाई थप समस्या नहोस् भन्नलाई पुनर्विचार गर्नुपर्ने अवस्था छ ।

अहिलेको दोस्रो लहरमा यस अस्पतालमा बालबालिका वा अन्य संक्रमितको चाप कस्तो छ ?

हामी यहाँ बालबालिका हेर्दैनौँ। । त्यसैले यहाँ राख्ने कुरा भएन । बाल अस्पतालका समकक्षीसँग कुरा गर्दा पछिल्लो २-३ हप्तायता त्यहाँ जँचाउन आउने क्रम बढेको भन्ने कुरा आएको छ । र कतिपयलाई पोजिटिभ पनि देखिएको छ ।

अघिल्लो वर्ष देखिएको लक्षण र अहिले बालबालिकामा देखिएको लक्षणमा के फरक छ ?

बाल रोग विशेसज्ञहरुका अनुसार खान मन नलाग्ने, वान्ता गर्ने जस्ता विभिन्न समस्याहरु छन् । स्कुलमा वा परिवारमा कसैलाई कोरोना संक्रमित भएको प्रमाणित भएको छ भने र त्यो बच्चामा खान मन नलाग्ने, वान्ता हुने लक्षण देखिएको छ भने एकपटक चिकित्सकको सम्पर्कमा रहनु होला । यसमा पनि कन्ट्याक्ट हिस्ट्री महत्वपूर्ण हुन्छ । किनकि बच्चा आफैं त टाढा जाँदैन । घरमा, ऊ खेल्न जाने वा शिक्षण संस्था जस्ता ठाउँमा कोरोना संक्रमित रहेछ भने उसलाई सर्नसक्ने सम्भावना हुन्छ ।

साना बच्चाहरुलाई कसरी जोगाउने त ?

बच्चाहरु स्वभावले चञ्चल हुन्छन् । उनीहरुलाई मापदण्ड पनि थाहा हुँदैन र बुझेको पनि हुँदैन । पढाइबाहेक अरु समयमा खेल्न रुचाउँछन् । जहाँ धेरै मानिस जम्मा हुन्छन्, त्यहाँ कोरोना फैलिने जोखिम धेरै हुन्छ । मैले विद्यालय मात्र भन्दिनँ, अरु कुनै पनि ठाउँ जहाँ मिटिङ, नारा, जुलुश, भेला कोरोना फैलनलाई राम्रो वातावरण हो । त्यसमध्यमा यो पनि पर्छ ।

त्यसैले मैले दुई प्रकारले हेर्ने गरेको छु । बालबालिका साथीभाईसँग अलि खेल्ने, सँगै बस्ने गर्छन् । त्यसैले नचाहँदा नचाहँदै पनि फुत्किन्छन् । त्यसैले संक्रमित साथीबाट स्वस्थ विद्यार्थीसम्म सर्छ र उसको घरसम्म पुग्छ । बालबालिका घुलमिल हुने भनेको हजुरबुबा हजुरआमासँग हो । ज्येष्ठ नागरिक यसै पनि जोखिममा पर्नु हुन्छ । यसरी नै परिवार र परिवारबाट समुदायमा सर्ने हो ।

अलि ठुलो कलेज पढ्नेहरुको हकमा के हुन्छ भने उनीहरुले बुझ्छन् । मास्क पनि लगाउलान्, दुरी पनि कायम गर्लान् तर शिक्षण संस्थाभित्र मात्र । बाहिर साथीभाईसँग निक्लेपछि त खुल्ला छ । र साथीभाईसँग गफ गरिएला, चिया खाइएला, घुम्न गइएला, त्यो बेलामा पनि सर्न सक्ने सम्भावना रहन्छ ।

यदि कुनै ठाउँमा हट स्पट बनेको छ भने, तीब्र गतिमा फैलिएको छ भने भनिराख्न जरुरी छैन ।

अहिले नेपालमा उपलब्ध भारतीय र चिनिया खोपमध्ये कुन बढी प्रभावकारी छ ?

दुवै खोप प्रभावकारी नै छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी नै छ । त्यही कारणले नै अनुमति दिएको हो । यसको प्रभावकारिता सन्तोषजनक नै छ । सुरक्षित पनि भनिएको कारणले नै निरन्तरता दिइएको हो ।

खोप लगाउँदा लगाएको व्यक्ति जटिल अवस्थामा जान नसक्ने हुन्छ भने ऊमार्फत अरुलाई सर्न सक्ने प्रतिशत पनि कम हुन्छ । यद्यपि सार्दै सार्दैन भन्न खोजेको हैन । त्यसैले समुदायमा धेरैले खोप लगाउन पायो भने कोरोना भाइरस फैलिने समस्या कम हुन्छ । तर समुदायमा धेरैले खोप लाउन नपाएको अवस्थामा वा खोप लगाएको भएमा पनि सुरक्षाको मापदण्ड निरन्तर अपनाउनु पर्छ ।

खोपको पहिलो डोज लगाएर दोस्रो लगाउन नसक्दा के हुन्छ ?

खोपको दुवै डोज नलगाइ पूर्ण सुरक्षित भन्न सकिँदैन । वैज्ञानिकहरुको भनाइ अनुसार पहिलो डोज लगाएपछि शरीरमा केही प्रतिरोधात्मक क्षमता विकास त हुन्छ, तर पूर्णरुपमा नहुनाले दोस्रो डोज पनि पूरा गर्नुपर्ने आवश्यकता हुन्छ ।

तपाईं स्वयम् वा तपाईंको परिवारमा कसैलाई कोरोना लाग्यो कि लागेन ?

खोइ, थाहै भएन । म बिरामी भइँन । त्यसैले जाँच पनि गरिनँ । जाँच गरेको भए थाहा हुन्थ्यो होला ।

आजकाल आफ्नो घर-परिवारमा कस्तो सावधानी अपनाउनु भएको छ ?

घर गएपछि छुट्टाछुट्टै हुन्छौं । घर पुगेर साबुनापानीले हात धुन्छाैं। धेरै लामो समय आमनसामने नहुने, फरक कोठामा बस्ने । यस्तै सावधानी अपनाइरहेका छौं ।

कोरोनालाई धेरै मानिसले सामान्य रुपमा लिन लिनुपर्छ भन्न थालेका छन् । कोरोनासँग लड्ने कि भाग्ने त ?

पहिलो कुरा त जसले जसरी भोगे, कोरोनालाई त्यसरी नै बुझे । जो आइसोलेसनमा पुगे, जसको आफन्तको कोरोनाको कारण मृत्यु भयो, उसले कोरोनालाई कमजोर ठान्दैन । जसलाई लाग्यो तर तातोपानी खायो र निको भयो, उसले कोरोना केही हैन भन्छ । अरु लागेर थाहा नभएको वा नलागेको, जुन समूह ठूलो छ, उनीहरुले यो कोरोना भन्ने छैन कि पनि भन्लान् ।

अहिले कोही व्यक्ति बाटोमा हिँड्ने हो भने कोरोनाको कुनै गुन्जायस देख्दैन । म चिकित्सकको हैसियतले हेर्दा आईसीयू पूरा भरिएको देख्छु । मृत्यु पनि भइरहेको हुन्छ । भनेपछि मैले पो देखेको छु त । यदि म स्वास्थ्यकर्मी नभएर अरु व्यवसायी भएको भए, म कहिले देख्दिन थिएँ ।

मानिसहरु आरामसँग घुमेको छ, हिँडेको छ । समाचारले भनेको छ, तर देख्दिनँ भन्ने हुन्छ । तर यदि उहाँहरु अस्पताल आएर आईसीयूमा हेर्ने हो भने बल्ल थाहा हुन्छ । कसलाई कसरी हुन्छ थाहा छैन । मानौ पाँच जनालाई भयो, पाँचै जना सिकिस्त हुन्छ भन्ने छैन । कहिलेकाहीँ नहुन सक्छ ।

नदेखेसम्म, नभोगेसम्म नमान्नु हाम्रो मानवीय स्वभाव पनि हो । जसले जस्तो दुःख भोगेको छ उसले बुझ्छ दुःख भनेको के हो भनेर । जो जटिल अवस्थामा पुगेर फर्केर आएको छ, उसले बुझ्छ कोरोना के हो भन्ने कुरा । जसलाई लागेको छैन वा लागेर पनि सामान्य भयो उसको लागी त खास केही हैन ।

हाम्रो काम गर्ने कर्मथलो नै अस्पताल भएकोले, अझ म त कोरानाकै विशेष अस्पतालमा भएको आधारमा भन्दा नेपाल आर्मी दिनमै दुईपटकसम्म लाश उठाउन आउँथ्यो । कोरोना केही हैन, वाहियात हो भन्ने मान्छे यहाँ बसेर हेर्ने हो भने बल्ल थाहा पाउँछ । तर हेर्न आउने कुरा त भएन । अनि समाचार हेर्‍यो यति र उति भन्छ, बाहिर तरकारी फलफुल किन्न गयो, आनन्दसँग मान्छेहरु घुमीराछ । त्यसैले जसले जसरी भोग्यो, त्यसरी नै बुझ्छ ।

केही समय अघि दैनिक जीवन सामान्य बनेको थियो । अहिले फेरि संक्रमण बढ्नुको कारण हो?

योभन्दा अलि अगाडि मत्थर हुने बेलामा कम थियो । ७०-८० को हाराहारीमा देखिन्थ्यो र त्यो बेलामा विदेश जाने वा अन्य प्रयोजनका लागि परीक्षण गरिएको थियो । अर्काे भाषामा भन्दा उनीहरुले आफूलाई स्वस्थ्य ठान्थे ।

एउटा कुरा याद गर्नुहोस्, उहाँहरुलाई लागेको छ भने कहाँबाट लागेको छ ? हाम्रै समुदायबाट होला । अनि उहाँहरु मज्जाले घुमिरहनुभएको छ । प्रतिबन्ध त थिएन । एउटा त्यो कारण जस्तो लाग्छ । अर्को चाहीँ भेरियन्टको कुराहरु छ । धेरैभन्दा धेरै मान्छेहरु संक्रमित भइसकेको जस्तो लाग्छ ।

स्वास्थ्यकर्मीको ‘सेरोप्रिभालेन्स’ टेस्ट गर्दा ४५ प्रतिशतलाई थाहा नपाई लागिसकेको रहेछ । धेरैलाई लाग्यो होला । त्यो टेस्ट नगरेकोलाई पनि लाग्यो होला । र त्यो एक प्रकारको शिथिल भएर आएको अवस्थामा फेरी भेरियन्टले त प्रतिस्थापन गर्दै जान्छ । पुरानोलाई नयाँले गर्दै जाला । अहिले नयाँ लहर देखिनुमा नयाँ भेरियन्ट त छदैछ, अहिले तत्काल नहोला तर पछि प्रतिस्थापन गर्ने सम्भावना देख्छु भने, अर्काे चाहिँ जनस्वास्थ्यको मापदण्ड वास्ता गर्न छोडेपछि त बढ्ने नै भयो ।

सरकारले कोरोनाविरुद्ध लिएको रणनीति कति प्रभावकारी छन् ?

गर्ने कुरा त यही नै हो । मैले यति भनेँ कि, जहाँ धेरै मान्छे जम्मा हुन्छन्, त्यो चाहे सरकार होस् वा अरु कोहि होस्, स्वास्थ्यको दृष्टिकोणले राम्रो हैन । स्वास्थ्य मन्त्रालयले पनि त्यो त भनेको भनेकै छ । उ सरकारी निकाय नै हो । गर्ने तरिका त्यही नै हो ।

कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउने, आइसोलेसन भएन अस्पताल पुर्‍याउने, उपचार गर्ने, उहाँहरुको दायित्वमा पर्छ । त्यो मात्रले पनि पुग्दैन । हामी आफैं पनि सचेत हुनु पर्छ । मानिसहरु केही नभए जसरी घुमिराछन् । एक हातले ताली बज्दैन । दुवै जिम्मेवार हुनुपर्छ जस्तो मलाई लाग्छ ।

कोरोनाको कारण नेपालको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन आएको छ ?

स्वास्थ्य क्षेत्रमा भन्दा पनि जुन बेलामा म पहिला सरुवारोगको विषयमा लबिङ गर्थेँ, लेख्थेँ, बोल्थेँ, त्यो बेला म एक्लै बोलेको जस्तो लाग्थ्यो । कोरोनाको समयभन्दा अगाडीसम्म लगभग म एक्लै थिएँ । हुन त कोरानाले धेरै मानिस मरे । त्यो त राम्रो हैन । तर अर्काे सकारात्मक पक्ष के रह्यो भने सरुवा रोगलाई कम आक्नु हुँदैन रहेछ, सरुवा रोगको लागि बजेट बढाउनु पर्ने रहेछ भन्ने खालको महसुस गर्ने वातावरणको सृजना भएको छ ।

हरेक प्रदेशमा सरुवारोग अस्पताल स्थापना गर्न बजेट निकालियो । केन्द्रमा ३०० को हाराहारीमा बेडहरु बनाउने कुराहरु आएको छ । यो भनेको सकारात्मक पक्ष हो । अर्काे भनेको मान्छेहरुले सुगर, प्रेसर जस्तो नसर्ने रोगहरु मात्र सुनेका थिए । सरुवा रोग पनि खतरा हुँदो रहेछ भन्ने जनतालाई पनि महसुस गराएको देख्छु । कुनै समयमा म एक्लै हिँडिरहेको थिएँ भने, सरुवा रोगको बारेमा नीति निर्माणदेखि सर्वसाधारणले पनि चासो दिएको देख्दा मलाई खुशी लाग्छ ।

यसले एउटा वातावरण चाहिँ सृजना गरिदियो । त्यो सँगसँगै भेरियन्टको कुरा छ । भेरियन्ट त यत्तिकै पत्ता लाग्दैन । यसको लागि अनुसन्धान चाहिन्छ । मेरो विषय पनि अनुसन्धानतिर झुकेको हुनाले आगामी दिनमा सोच्न बाध्य होला । २१ औं शताब्दीमा नयाँ-नयाँ भाइरसहरु आउलान् । त्यसको पनि विश्लेषण गर्नुपर्ला । त्यो सधैं विदेश पठाएर लाखौं डलर खर्च गर्नुभन्दा नेपालमै जनशक्ति उत्पादन गर्‍यो भने झनै राम्रो होला । त्यसैले अनुसन्धानको पाटोबाट र स्वयं सरुवा रोगको विषयमा केही हदसम्म बुझ्ने वातावरण सृजना गर्‍यो ।

मैले दुई दशक विताउँदा यसको बारेमा बुझाउन निकै गाह्रो परेको थियो । तर यो एक वर्षले नै धेरै मानिसलाई बझ्ने मौका दियो जस्तो लाग्छ ।

नयाँ भेरियन्टको भाइरसको लागी टेस्टिङ लगायतको तयारी के छ त?

त्यसको लागि केही छैन । त्यसको लागि सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । सामान आयो भन्ने मात्र सुनेको छु, देखेको छैन । तर त्यो पनि ल्याउनु भनेको फाइदा नै हो । अरु भाइरसको लागि पनि प्रयोग गर्न सक्छौं ।

अहिलेको खोप नयाँ भेरियन्टको लागी कत्तिको प्रभावकारी छ ?

अहिलेसम्म त ठीकै छ । युके भेरियन्ट हो, यसलाई कोभिसिल्डले काम गर्छ भन्ने छ । दक्षिण अफ्रिकी भेरियन्टहरु बढ्यो भने चाहीँ भन्न सक्दिनँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर