राजनीतिमा महिला : के-के छन् दुःख-सुख ? – Nepal Press

राजनीतिमा महिला : के-के छन् दुःख-सुख ?

भनिन्छ, राजनीति सबै ‘नीति’ को राजा हो । त्यसैले समाजका हरेक विषय राजनीतिसँग ठोक्किन्छन् । कुनै पनि सामाजिक–आर्थिक एजेण्डा राजनीतिले कसरी सम्बोधन गर्छ भन्नेमा सबैको चासो हुन्छ । विश्वको महिला आन्दोलन होस् वा नेपालकै महिला अधिकार प्राप्तिको लडाइँ, राजनीतिको भूमिका महत्वपूर्ण नै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको उत्पत्ति नै महिलाले राजनीतिक अधिकार प्राप्त गरेबाट सम्भव भएको हो । सन् १९०८ मा अमेरिकाको न्यूयोर्क सिटीमा १५ हजार महिलाले एकैसाथ प्रदर्शन गरे । काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्नेलगायत मागसहित महिला आन्दोलित भएका थिए । त्यसको एक वर्षपछि अमेरिकामा पहिलो राष्ट्रिय महिला दिवस मनाइयो । १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले सो दिवसलाई अन्तर्राष्ट्रियकरण ग¥यो । त्यसयता मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको ११० वर्ष बितिसकेको छ ।

यस अवधिमा महिला आन्दोलनले धेरै राजनीतिक–सामाजिक अधिकार स्थापित गरिसकेको छ भने अझै केही महत्वपूर्ण सवालहरू सम्बोधन हुनै बाँकी छन् । महिलाका सवालहरूको सम्बोधन राजनीतिले कसरी गर्दैछ ? हामीले नेपालको राजनीतिक दलमा आबद्ध महिला नेतृत्वहरूको विचार बुझ्ने प्रयास गरेका छौं ।

‘महिलालाई राजनीतिमा सफलता पाउन ठूलै चुनौती छ’
डा. डिला संग्रौला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

राजनीति भनेको देशको मेरुदण्ड हो । राजनीतिबाट नै आम जनताका कुरा राज्यको मूलधारसम्म पुग्छन् । राज्यको नीतिनिर्माणमा राजनीतिको भूमिका अपरिहार्य छ । राजनीतिले राज्यका सबै वर्ग, तहका नागरिकलाई समान अवसर प्रदान गर्छ । राज्यको उच्च स्थानमा रहने राजनीतिमा महिला सहभागिता धेरै हुनुपर्छ । त्यसमा पनि महिला राजनीतिज्ञको भूमिका त अत्यन्त महत्वपूर्ण छ ।

महिला नेतृले आफ्नो पीडा र समस्या मात्र होइन देश विकासमा नै ठूलो भूमिका निर्वाह गर्नेछन् । पछिल्ला समयमा हामी देख्छौं, राजनीतिमा युवाको आकर्षण भन्दा पनि वितृष्णा बढी छ । यसो हुनुमा केही कारण छन् । जस्तो कि पहिला–पहिला राजनीति गर्दा ऊर्जाशील युवाको जमात कुनै पनि आन्दोलन होस् या पार्टीको कार्यक्रम पहिलो पंक्तिमा हुन्थ्यो तर, अहिले तिनै युवा राजनीतिक कार्यक्रममा आउनै चाहँदैनन् ।

अझ महिलाहरूलाई राजनीतिमा सफलता हासिल गर्न ठूलै चुनौती छ । राजनीतिले युवालाई अवसर र जिम्मेवारी दुवै कम दिएका कारण आकर्षण घटेको हुनसक्छ । पहिला पो मान्छे नामका लागि मात्र पनि राजनीति गर्थे त अहिले त त्यस्तो हुँदैन । त्यसैले युवापंक्ति राजनीतिमा पछिल्लो समय देखिन छाडेको यही कारण हो ।

मेरै परिवारको कुरा गर्नुहुन्छ भने पनि मेरा छोराछोरी राजनीतिबाट टाढा छन् । यसको कारण उनीहरूले देखेको हाम्रो राजनैतिक दुःख हो । यद्यपि निराश भइहाल्नुपर्ने कारण छैन । यहाँ समस्या मात्र होइन अवसर पनि छ । राज्यको नीति निर्माण गर्ने तहमा युवा पुग्नु भनेको देशले चाँडो विकास गर्नु पनि हो ।

अहिले पनि देशमा महिलाका मुद्दा धेरै छन् । राज्यले महिलालाई केही अधिकार दिएको भए पनि कार्यान्वयनको पक्ष अत्यन्त फितलो छ । यसले पनि महिला राज्यको नीतिनिर्माण र विकासका लागि अगाडि आउनु अति आवश्यक छ । तर, युवा महिलाको समस्या पनि राजनीतिक दलले बुझ्नुपर्छ । युवा अवस्थामा नै महिलाले धेरै भूमिका निर्वाह गर्नुपर्छ ।

‘महिला राजनीतिज्ञलाई व्यावहारिक जटिलता धेरै छन्’
रचना खड्का, केन्द्रीय सदस्य, नेकपा (एमाले)

नेपालको राजनीति र महिला मुक्तिका लागि आएको महिला दिवसको इतिहास लगभग उस्तै उस्तै छ । तर, पनि नेपालमा आम महिलाले अझै पनि सुखानुभूति गरेका छैनन् । १११औं महिला दिवस मनाइहँदा नेपालका महिलामा पनि धेरै परिवर्तन त भएको तर, मुक्ति भने पाएका छैनन् । अझै धेरै महिला अधिकारको सुनिश्चित गर्नै बाँकी छ । प्राप्त अधिकारलाई पनि कार्यान्वयन गराउन अग्रसर हुनुपर्नेछ ।

नेपालको राजनीतिक इतिहास धेरै लामो नभए पनि विशेष परिघटनाले युवा राजनीतिमा आउने गर्छन् । जस्तै २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२/६३ सालको जनआन्दोलनले नयाँ युवापंक्ति राजनीतिमा आए । यही बेला महिलाहरू पनि राजनीतिमा प्रवेश गरे । यही आन्दोलनमै हामी पनि आयौं । योभन्दा अगाडि पनि युवा अवस्थामा धेरै महिला नेपालको राजनीतिमा आएका थिए ।

राजनीति भनेको राष्ट्रिय मुद्दासँग जोडिएको विषय र यसमा महिलाको सहभागिता धेरैभन्दा धेरै हुनुपर्छ । राजनीति भनेको सजिलो बाटो होइन, त्यो पनि महिलाका लागि । किनभने महिलाको जीवनमा पुरुषको भन्दा अलि बढी व्यावहारिक जटिलता छन् । महिलाले विवाहपछि परिवार र छोराछोरीलगायतका काममा केही समय व्यतीत गर्नै पर्छ । र, त्यो समय ऊर्जाशील रहन्छ । तर, राजनीतिमा यही समयमा लामो ग्याप रहन्छ । त्यो ग्यापलाई पनि राजनीतिक दलले विदाका रूपमा बुझ्नुपर्छ ।

राजनीतिलाई महिलाले बुझेनन् भने आफ्नो जुन सम्मान छ त्यो गुमाउनुपर्ने हुन्छ । महिला राजनीतिमा आउनु भनेको मुख्यतया आफ्नो सम्मानित जीवनको बाटोमा प्रकाश छर्नु हो । अहिले महिलालाई राजनीतिमा अवसर पनि छ । मेरो आफ्नै कुरा गर्नुहुन्छ भने पनि मलाई पार्टीको केन्द्रीय सदस्यका रूपमा सबैभन्दा सानो उमेरमा छानिएको हो । शायद मलाई युवा भनेरै छानिएको हो । जसका कारण आज म यहाँ छु । मैले पनि त्यही अनुरूपको काम गर्न सक्नुपर्छ ।

तर, अहिले नेतृत्वमा युवा महिला निकै कम छन् । भएकालाई पनि उचित जिम्मेवारी छैन । जति युवा वर्ग राजनीतिक पार्टीको माथिल्लो तहमा छन् त्यसमा महिलाको संख्या कम देखिन्छ । अहिले महिलालाई अगाडि ल्याउने राज्यले जुन प्रणाली बनाएको छ त्यो व्यावहारिक देखिएको छैन । समानुपातिकमा आएका महिला प्रत्यक्षमा आउन नै सक्नुभएन । यसलाई परिवर्तित गरेर राज्यका निकायमा युवा महिलाको उपस्थिति मजबूत गर्नुपर्नेछ ।

‘सामाजिक संरचनामा अहिले पनि पुरुष–सत्ता नै हावी छ’
रञ्जु दर्शना, नेतृ विवेकशील साझा पार्टी

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा नेपालमा भने महिलाको स्थिति नाजुक नै छ । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि, महिला हकअधिकार राज्यका तर्फबाट सुनिश्चित गरिए पनि अझै कार्यान्वयन हुनसकेको छैन । यस्तो अवस्थामा नेपालमा युवा नेतृको आवश्यकता अत्यन्त धेरै छ ।

राजनीति राज्यसँग मात्र होइन व्यक्तिगत जीवनसँग जोडिएको विषय हो । मेरै कुरा गर्नुहुन्छ भने पनि सानैदेखि म राजनीतिप्रति चासो राख्थें । शायद मलाई मेरो घरकै परिस्थितिले पनि हुनसक्छ, राजनीतिमा लाग्न पे्ररित गरिरह्यो । एकल महिलाको पीडा र नाजुक आर्थिक अवस्था, राज्यमा महिला पहुँच आदि कारणले पनि म राजनीतिमा होमिएँ ।

देशमा भएको विभेदले नै सानैबाट शायद ममा राजनीतिक चेतना भएको हुनुपर्छ । एउटा युवासँग जोश जाँगर, र ऊर्जाशीलताले भरिएको हुन्छ । ऊ राजनीतिमा आउनै पर्छ । राजनीति भनेको राज्यको नीतिनिर्माण बनाउनेदेखि राज्य संचालन गर्नेसम्मको काममा महिला नेतृत्वको भूमिका एकदमै ठूलो हुने गर्छ ।

अहिले नेपाल नीतिगत विकासमा केही अगाडि बढेको छ । तर, सामाजिक संरचनामा अहिले पनि पुरुष–सत्ता नै हावी छ । नेपालमा रहेका राजनीतिक पार्टीको कुरा गर्ने हो भने अहिले पनि पुराना पार्टीमा दोस्रो पुस्ताका युवाको जमात निकै कम देखिन्छ । पहिलो पुस्तामा पार्टीको संरचना अडिएको छ । हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने हाम्रो पार्टी दोस्रो पुस्ताले ल्याएको हो । यहाँ युवाका लागि धेरै नै अवसर छन् । युवाले आफूसँग भएको क्षमतालाई प्रस्फुटित गर्दै राजनीतिमा आउने हो भने आफ्नो मात्र होइन देशको नै भविष्य उज्ज्वल हुनेछ ।

सामाजिक संरचनामा नेपालमा खासै सुधार नभएका कारण अहिले पनि कुनै पनि काम गर्दा महिला र पुरुषले गर्न सक्ने र नसक्ने भन्दै छुट्याइन्छ । महिलाले नीतिनिर्माण र उच्च तहका काम गर्न सक्दैनन् भन्ने संकीर्ण सोचको अन्त्य अझै भइसकेको छैन । अहिले पनि पुरुषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जामा नै हेरिन्छ । यो भ्रमलाई चिर्न पनि युवा महिलाको नेतृत्व आवश्यक छ ।

तर, यसो भन्दै गर्दा हामी युवाका लागि समस्यै समस्या छन् भन्ने होइन । यहाँ अवसर पनि छन् । युवा आफैंले पनि राजनीतिमा विश्वास गर्नुपर्छ, हामीले नगरे कसले गर्ने ? त्यसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युवा पुस्ता राजनीतिमा जोडिन आवश्यक छ । आफ्नो आवाज आफैंले बुलन्द गर्दै देश विकास र राज्य संरचना फेर्न अघि बढ्नुपर्छ ।

‘महिला मुक्तिका लागि पनि नेतृत्वमा युवा महिला आउनुपर्छ’
रेखा थापा, केन्द्रीय सदस्य, राप्रपा

अहिले नेपालको राजनीतिमा युवा नेतृत्वलाई होहल्लाका रूपमा मात्र हेरिन्छ । त्यसमा पनि महिलाको स्थान त झन् सुखद छैन । मेरै कुरा गर्नुहुन्छ भने म कलाकारिताबाट राजनीतिमा लागेको १२ वर्ष भयो तर मलाई राजनीतिज्ञका रूपमा हेर्ने दृष्टिकोण फेरिएको छैन । मलाई एउटा कलाकारका रूपमा मात्र हेरिन्छ ।

म राजनीतिमा आउनुको कारण नामका लागि होइन । नाम त मेरो कलाकारिता क्षेत्रमा नै छ । तर, मैले पनि देशका लागि केही गर्नुपर्छ भन्ने लागेर नै म राजनीतिमा आएकी हुँ । म सडकमा त्यतिकै आएकी थिइनँ । देशको परिवर्तनका लागि नै आएकी थिएँ । तर, अझै पनि पार्टीमा हामी युवालाई हेर्ने दृष्टिकोणमा फरक आएको छैन । पार्टीमा यी केटाकेटी हुन् झैं गरिन्छ । र, युवालाई चुनावमा पनि धेरैले छान्दैनन् ।

वास्तवमा अहिलेको सन्दर्भमा त राजनीतिमा युवा वर्ग आउनुपर्छ । जोसँग ऊर्जाशील समय छ । युवासँग शक्ति, बुद्धि, जोस, जाँगर र नयाँ खोजका लागि आतुर छन् यिनलाई पार्टीको मूल नेतृत्वमा आउन दिनुपर्छ । अनि मात्र परिवर्तन संभव छ ।
देश विकासमा युवाको भूमिका अपरिहार्य छ । साथै, राजनीतिमा महिला नेतृत्वको भूमिका अपरिहार्य छ । आज पनि महिला शोषणको चपेटामा छन् । महिला हिंसा, बलात्कार, घरेलु हिंसालगायतका कैयौ हिंसाको जडमा महिला जेलिएका छन् । महिला मुक्तिका लागि पनि नेतृत्वमा युवा महिला आउनुपर्छ ।

‘राजनीतिका माध्यमबाट पार्टी र समाजमा खबरदारी गर्दै अगाडि बढ्नुपर्छ’
पञ्चा सिंह, नेतृ नेकपा माओवादी केन्द्र

अहिले पनि नेपालको राजनीतिमा महिलाको उपस्थिति अत्यन्त न्यून छ । नेपाल कम्युनिष्ट पार्टी जस्तो ठूलो पार्टीमा पनि महिलाको उपस्थिति १७ प्रतिशत मात्र छ । त्यसमा तपाईं आफैं अन्दाज गर्न सक्नुहुन्छ युवा नेतृको उपस्थिति कति होला ? भन्न त संविधानमा नै हरेक तह र तप्कामा महिलाको उपस्थिति ३३ प्रतिशत भनिएको छ । तर, अझै पनि यो लागू हुनसकेको छैन ।

म २०५८ सालमा १४ वर्षको उमेरमा माओवादीमा भूमिगत भएँ । त्यसदेखि अहिलेसम्म निरन्तर पार्टीको काममा लागिरहेकी छु । तर, हामी युवालाई सङ्घर्ष र बलिदानका वेला मात्र प्रयोग गरिन्छ । जब सत्ताको कुरा आउँछ, युवा पंक्तिलाई अत्यन्त न्यून संख्यामा मात्र सत्तामा लगिन्छ । माओवादी संघर्षका दिनमा युवाको उपस्थिति ९० प्रतिशतको हाराहारीमा थियो । अहिले सत्तामा खै ती युवा जमात कहाँ गए ?

यस्तो हुनु भनेको अझै पनि राज्यको नीतिनिर्माण गर्ने तहमा पाका उमेरकै व्यक्तिको हालीमुहाली छ । उहाँहरूको निर्देशन मात्र चल्ने गर्छ । उहाँहरूको मनोविज्ञानलाई परिवर्तन गर्न जरूरी छ । फेरी युवा नेतृको मात्र कुरा गर्ने हो भने पनि युवा अवस्थामा हामीले अनेक जिम्मेवारी निभाउनुपर्छ । यसले पनि हामीलाई राजनीति गर्न निकै कठिन छ । तर, पनि हिम्मत हार्नुहुँदैन अब पालो युवाको हो । हामी आफैं राजनीतिका माध्यमबाट पार्टी र समाजमा खबरदारी गर्दै अगाडि बढ्नुपर्छ ।


प्रतिक्रिया

One thought on “राजनीतिमा महिला : के-के छन् दुःख-सुख ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर