सुर्खेतमा देखियो ‘बर्डफ्लु’, कुखुरा र अण्डा नष्ट – Nepal Press

सुर्खेतमा देखियो ‘बर्डफ्लु’, कुखुरा र अण्डा नष्ट

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ ।

वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो । संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।

वीरेन्द्रनगरको नौलो टोलका दुई जना स्थानीयले पालेका २ सय ७९ कुखुरा, १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिए ।

सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली खटिएको छ । निर्देशनालयले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरेको छ ।

सरकारले भारतबाट भित्रिने पन्छी तथा पन्छीजन्य वस्तुमा ६ वर्ष अघि नै प्रतिबन्ध लगाए पनि खुला सिमानाको फाइदा उठाउँदै भारतीय कुखुरा बाँके हुँदै कर्णाली प्रदेश भित्रिरहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर