जो बैसाखी टेकेरै निरन्तर आन्दोलनमा छन्… – Nepal Press

जो बैसाखी टेकेरै निरन्तर आन्दोलनमा छन्…

काठमाडौं । रत्नपार्कबाट अघि बढ्यो नागरिक अभियन्ताको जुलुस । जोसमा हिंडिरहेको जुलुसले नारा लगाइरहेको थियो– ‘प्रतिगमन मुर्दावाद, टुँडिखेल फिर्ता दे ।’

जुलुसमा ब्यानर समाउँदै पाइला चालिरहेका देखिन्थे– लेखक खगेन्द्र संग्रौला । र थिए थुप्रै परिचित स्रष्टा र अभियन्ता । नारा घन्कँदै थियो, जुलुस हिंड्दै थियो । यही क्रममा जुलुसभित्रबाट गोडा खोल्च्याउँदै बैसाखी टेक्दै एक अधबैंसे मानिस अग्रपंक्तिमा देखिए । अचानक नागरिक अभियन्ताहरूको ध्यान उनीतर्फ मोडियो ।

‘बीचबाट हिंड्नुस् । तपाईंलाई सजिलो हुन्छ’ मोहना अन्सारीले विनम्र भएर भनिन् । ‘हैन, फेरि बाटो ब्लक हुन्छ, यतै ठीक छ’ स्वाभाविक जवाफ दिंदै उनी अघि बढे । एक जना फोटो पत्रकारले सहानुभूतिका साथ अभियन्ता विमल अर्याललाई भनिन्, ‘विमल, उहाँलाई अलि ध्यान दिऊँ है ।’

लेखक युग पाठकले सजग हुँदै अघि हिंडिरहेकाहरूलाई आग्रह गरे, ‘उहाँलाई स्पेस बनाइदिनुस् ।’

तर, उनको गति अरुको भन्दा कम थिएन । उनले सान्त्वना दिंदै भने, ‘२०४६ सालदेखि आन्दोलनमा हिंडेको छु । चिन्ता नगर्नुस् । म आफैं ध्यान दिइहाल्छु नि ।’ उनी जुलुसमा उत्साहित देखिन्थे । ‘प्रतिगमनकारी होसियार’ भनेर नारा लाग्दा बैसाखी टेकेको हात माथि उचाल्न खोज्थे ।

एउटा गोडा जमीनमा टेकिन्नथ्याे । तैपनि टुँडिखेल घेर्ने सपनाले होला, उनमा थकान रत्तिभर देखिन्नथ्याे ।

शहीदगेट हुँदै पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्ने नागरिक आन्दोलनको योजना थियो । सेना र प्रहरीको अवरोधका कारण सभा बाहिरै बस्यो । र बाहिरैबाट नागरिक आन्दोलनको घोषणापत्र जारी भयो । घोषणापत्र जारी हुँदा ती अधबैंसे पुरुष उभिएरै उत्सुकताका साथ सुनिरहेका थिए ।

कतिपय नागरिक आन्दोलनलाई ऐक्यबद्धता जनाउनेहरू सामाजिक सञ्जालमै सीमित छन्, जो सडकमा ओर्लन चाहँदैनन् । तर, उनी एउटा गोडा घिसारेरै पनि सडकमा उत्साहका साथ लागिरहेका छन् । कार्यक्रमको अन्तिमसम्म उभिएरै सुनिरहेका ती व्यक्तिसँग हामीले कुरा गर्‍यौं ।

नागरिक आन्दोलनमा निरन्तर

उनी थिए ४४ वर्षीय जिलिसन साह । जो सेन्टजेभियर्सका विद्यार्थीलाई अंग्रेजी पढाउँछन् । नागरिक आन्दोलनमा उनी आएको भने यो पहिलो होइन । ‘यो पालिसम्म चार पटक आइसकें । बालुवाटारको मार्चमा छुटेको थिएँ, त्यसमा पश्चाताप लागिरहेछ’, उनी सुनाउँछन् ।

आजको कार्यक्रम २ बजे थियो । उनले ठानेछन्, १२ बजे । र साढे बाह्र बज्नुअगावै उनी रत्नपार्क आएका थिए । तर, नागरिकहरूको कुनै आन्दोलन थिएन त्यहाँ । पछि सूचना हेरे । आफू झुक्किएको थाहा पाए । अनि फर्किएर गए । र २ बजे पुनः आइपुगे ।

‘जब जब देशमा संकट आउँछ, हामी नागरिक टुलुटुलु हेरी बस्न हुन्न । र मलाई सडकमा ओर्लन मन लाग्छ’, जिलिसन जोशिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको दिन उनलाई रातभर निद्रा परेन । भोलिपल्ट सडकमा ओर्लन खोजे । तर, नागरिकहरू उर्लिएका थिएनन् । पार्टीको झण्डा बोक्न चाहँदैनथे । त्यसपछि निराश भएर आफ्नो नियमित कर्ममा लागे ।

उनले जब नागरिक समाज ब्युँतिएको थाहा पाए, त्यसपछि सडकमा ऐक्यबद्धता जनाउँदै आउन थाले । जिलिसनलाई लागेको छ– प्रबुद्ध वर्ग आन्दोलनमा आउन ढिलो गर्‍यो । ‘किसानहरू सडकमा ढलिरहँदा आउनुपर्थ्याे, त्यसबखत आएन । तर, ढिलै भए पनि जुर्मुराएकोमा खुसी छु म’, उनी सुनाउँछन् ।

आजको आन्दोलनमा टुँडिखेलभित्रै जाने उनको रहर भयो । तर, पूरा हुन सकेन । भन्छन्, ‘टुँडिखेल राज्यले नागरिकबाट खोसेको हो । यसको ठूलो इतिहास छ । यो नेवार समुदायको धरोहरको रुपमा छ । यो जनताकै हुनुपर्छ ।’

…२०४६ देखि नै बैसाखी टेकेर आन्दोलन

यसपालिको आन्दोलनमा आउँदै गर्दा फोटो पत्रकार उषा तितिक्षुले जिलिसनलाई सोधिन्, ‘ए भाइ तिमी किन आएको ?’ उनले मायाले भनेकी थिइन् । २०४६ सालको जनआन्दोलनमा उनी सडकमा आउँदा पहिलो फोटो खिच्ने उनै उषा थिइन् । उनले मनमनै जवाफ दिए, ‘एउटा शासकको इगोले देश बर्बाद हुँदैछ भने कसरी चुप लाग्न सकिन्छ ।’

१० वर्षको उमेरमा उनको गोडा पारालाइसिस भएको थियो । त्यसयता एउटा गोडाले सहारा दिंदैन उनलाई । २०४६ सालमा पनि आन्दोलनमा सरिक हुँदा सहानुभूतिका नजरले हेर्ने मान्छे टन्नै थिए, जुन अहिले पनि देख्छन् उनी । भन्छन्, ‘हरेक मान्छे केही न केही कुरामा अशक्त हुन्छ । मान्छेको दृष्टिकोण हो । जबकि बैसाखी टेकेर नै म हरेक परिवर्तनको लागि गरिएका आन्दोलनमा सहभागी छु ।’

२०४६ सालमा उनी कम्युनिष्ट पार्टी निकट विद्यार्थी आन्दोलनमा सहभागी थिए । त्यतिबेला एक दिन थुनामा समेत परेको अनुभव छ जिलिसनसँग। २०५४ सालपछि उनको कुनै पार्टी भएन । उनी स्वतन्त्र नागरिक रहेर काम गर्न थाले । २०६२/६३ को आन्दोलनमा छोराछोरीलाई डोहोर्‍याउँदै श्रीमती र आफू आन्दोलनमा सरिक भएको अविस्मरणीय स्मृति छ उनीसँग ।

पटक–पटक अधिकारका लागि नागरिक सडकमा आउनु भने दुर्भाग्य भएको बताउँछन् उनी । जिलिसनलाई लाग्छ– ‘राजनीतिक पार्टीहरूले जनताको मर्म कहिल्यै बुझेनन् ।’ २०७२ सालमा बनेको संविधानमा पनि सीमान्तकृतको मुद्दा नअटाएको उनी बताउँछन् । भन्छन्, ‘त्यसकारण अबको नागरिक आन्दोलन संसद पुन:स्थापनाका लागि मात्र हैन, ती सम्बोधन नभएका मुद्दालाई सम्बोधन गर्नका लागि पनि हुनुपर्छ । त्यसकारण आन्दोलन रोकिनुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर