आत्मकथाको ‘आत्मकथा’: कथा तीर्थको, लेखे अर्जुनले – Nepal Press

आत्मकथाको ‘आत्मकथा’: कथा तीर्थको, लेखे अर्जुनले

कैलाली । सुदुरपश्चिम प्रदेशसभाको सभामुख हुन्, ६७ वर्षीय अर्जुनबहादुर थापा । फागुन ६ गते उनको आत्मकथा विमोचित भयो । जब अर्जुनबहादुरले आफ्नै जीवनकथा भन्दै ‘तीर्थप्रसादको जीवन यात्रा’ विमोचन गरे सहभागिहरुमा कौतुहलता बढ्यो ।

सबैको जिज्ञासा मेट्दै सभामुख अर्जुनबहादुरले भने– म नै तीर्थप्रसाद हुँ ।

०००

बझाङको तत्कालीन तामातोला गाविसको देहली गाउँमा जङ्गबहादुर थापाको परिवार थियो । श्रीमती राइकोशाको कोखबार ३ छोरी जन्मिइसकेका थिए । जंगबहादुर दम्पत्तिलाई एक छोरा पाउने धोको छदैथियो ।

त्यसमाथि तत्कालीन समाजमा ‘अपुतो’ हुने भयो भनेर खेपेको दुर्वचनले दुवैलाई चिन्तित तुल्याउँदै थियो । जंगबहादुर ५१ वर्ष पुगिसकेका थिए भने, राइकोशाको महिनावारी पनि रोकिइसकेको थियो । कान्छिी छोरी हीरा जन्मिएको ७ वर्षसम्म सन्तान बस्न सकेन ।

छोरो जन्माउने आशमा जंगबहादुर र राइकोशाले तीर्थ यात्रा सुुरु गरे । नेपाल र भारतका विभिन्न धार्मिक मठमन्दिर घुमे । व्रत बसे । ‘तीर्थ गरे पुत्र प्राप्ति हुन्छ’ भन्ने मनोविज्ञानले जंगबहादुर दम्पत्तिको मष्तिष्कमा डेरा जमाएको थियो । २ वर्षको लगातार तीर्थ यात्रापछि हिराकोशाको महिनावारी नियमित भयो । लगत्तै गर्भ बस्यो र २०१० साल चैत २४ गते मंगलबार बिहान जंगबहादुर दम्पत्तिलाई पुत्र लाभ भयो । आफूले गरेको तीर्थको प्रसाद पाएको अनुभूति दुवैले गरे । गाउँलेहरुले बधाई दिए । जंगबहादुर दम्पत्तिले बुढेशकालमा पाएका पुत्र नै प्रकारान्तरले सुदुरपश्चिमको राजनीतिमा स्थापित भए । सबैले ‘तीर्थ प्रसाद’ भनेर बोलाउने उनै अर्जुनबहादुर थापाले ६७ वर्षको उमेरमा आत्मकथा सार्वजनिक गरे ।

साहित्यकार वेदप्रकाश जोशीले कथाझैं लाग्ने तीर्थप्रसाद उर्फ अर्जुनको जीवनको वास्तविकता खोलिदिएसंगै कार्यक्रममा सहभागिहरुको कौतुहलता मेटियो । ‘तीर्थबाट प्राप्त भएको प्रसाद हुनु हुनुहुन्छ अर्जुन बहादुर थापा अर्थात् सुदूरपश्चिम प्रदेशका सभामुख ’ साहित्यकार जोशीले विस्तारमा भने ।

कसरी जन्मियो तीर्थ प्रसाद ?

तीर्थ प्रसाद भनेर आफूलाई चिनाएका सभामुख थापा त तीर्थको प्रसाद स्वरूप आफूले धर्तीमा पाइला आएको मान्छन् । तर, उनको पुस्तक भने कसरी आयो त ?

‘मेरो फुर्सदको उपलब्धी हो आत्मकथा’ सभामुख थापाले सुनाए ।

राजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका थापालाई २०७१ सालमा आफ्नैबारे लेख्ने ईच्छा जाग्यो । त्यसयता निरन्तर ६ वर्ष उनले आफ्नो जीवनका सम्झिएसम्मका घटनाक्रमलाई पुस्तकमा उतारे । बाल्यकालका भोगाई, ग्रामीण जीवनका सुखदुःख, विद्यालय पढ्दाका अनुभवदेखि राजनीतिक जीवनका उतारचढावसम्मलाई थापाले आफ्नो आत्मकथामा समेटेका छन् ।

सुरुमा उनलाई पुस्तकको नाम ‘जीवनको ऐना’ वा ‘जे देखेँ, त्यही लेखेँ’मध्ये एउटा राख्ने सोच थियो । तर, आत्मकथा लेख्दा लेख्नै उनी प्रदेशसभाको सभामुख भए । पछिल्ला घटनाक्रमहरु जोडिदै जाँदा पुस्तकको आकार पनि बढ्यो । आफ्नै जीवनका भोगाई उतारेको हुनाले उनले आफ्नो जन्मसंग जोडिएको भेदलाई नै कृतिको नाम दिने विचार गरे । जसबाट अर्जुनबहादुरको आत्मकथाको नाम ‘तीर्थ प्रसादको जीवन यात्रा’ रहन गयो ।

३१० पृष्ठ पुस्तकमा उनले ६७ वर्षको उमेरसम्म भोगेका र देखेका सबै बिषय समेटेका छन् । ‘मेरो बेलाको समाज, मेरो बेलाको शिक्षाक्षेत्र र यसक्षेत्रको राजनीतिक परिवेश बुझ्न आत्मकथा उपभयोगी हुनेछ’, अर्जुनले भने ।

९ वर्षको उमेरमा पहिलो विवाह , २० वर्षमा अर्काे

प्रायः आत्मकथामा आत्मप्रशंसा मात्रै लेख्ने वा कमजोरी लुकाउने प्रवृत्ति हुन्छ । आफ्नो कृतिमा अर्जुनबहादुर इमान्दार रुपमा प्रस्तुत भएका छन् । नौ वर्षको उमेरमा आफूभन्दा ३ वर्ष जेठी देवसरासंग विवाह गरेको घटनालाई अर्जुनले रोचक ढंगले प्रस्तुत गरेका छन् । त्यस्तै २० वर्षको उमेरमा उनले दोस्रो विवाह गरे । कान्टी श्रीमती पाउसरा देवी थापालाई भित्राएपछि पनि देवसरासंगको सम्बन्धमा हार्दिकता नघटेको विषय उनको आत्मकथामा उल्लेख छ ।

देवसराको २०५५ सालमा निधन भयो भने पाउसरा अहिले खप्तड छान्ना गाउँपालिकाको उपाध्यक्ष छिन् । साँवा अक्षरसम्म नचिन्ने पाउसरालाई विवाहपछि अर्जुनले नै अक्षर चिनाए । कुनै बेला गाउँको विद्यालयमा प्रधानाध्यापक रहेका अर्जुनले श्रीमती पाउसरालाई पढ्न प्रेरित गरे । पढाईसंगै राजनीतिमा पनि पाउसरालाई सक्रिय गराउँदै गए ।

समयक्रममा आफू प्रदेशको सभामुख बन्दा पाउसरा गाउँपालिकाको निर्वाचित उपाध्यक्ष बनेको कुरा अर्जुनले रोचक ढंगले आत्मकथामा उल्लेख गरेका छन् ।

लेखनीको सुरुवात

२०५६ सालको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभामा २ सय ८१ मतले पराजित भएका अर्जुनलाई एमाले जिल्ला कमिटीले शिक्षा विभागको जिम्मेवारी दियो । विभागको दायित्व पूरा गर्न उनी बझाङका गाउँ गाउँमा पुग्थे । प्रशिक्षण कार्यक्रमका दौरान सबै ठाउँमा एउटै कुरा पटक–पटक भन्नुपरेपछि अर्जुनको दिमागमा पुस्तक लेख्ने सोच आयो । त्यसअघि पनि लेखनमा रुची राख्दै आएका थापाले पुस्तक भने प्रकाशित गरिसकेका थिएनन् ।

‘प्रशिक्षण दिदा एउटै कुरा धेरै ठाउँमा दोहो¥याउन परेपछि मैले कम्युनिष्ट आन्दोलनबारे लेख्ने निधो गरे । पाण्डुलिपि भीम रावललाई देखाएर २०६० सालमा प्रकाशित गरे’, अर्जुनने भने । कम्युनिष्ट आन्दोलनको एक झलक (विश्व–नेपाल–बझाङ) नामक सो पुस्तक प्रकाशनको नौ वर्षपछि ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद’ नामक पुस्तक प्रकाशन गरे । उनले सुदुरपश्चिम प्रदेशको नमूना राजधानी र नमूना गाउँको अवधारणा पत्र पनि लेखेका छन् ।

उनले सुदूरपश्चिम प्रदेशको नमुना राजधानी र नमुना गाउँको अवधारण पत्र पनि लेखेका छन् । २०४५ सालमै उनले लेखेको ‘खप्तड एक चिनारी’ नामक कृति भने अझै अप्रकाशित छ । खप्तड क्षेत्रबारे लेखेको कृति प्रकाशन चाडै गर्ने उनको सोच छ । ‘त्यतिबेला खप्तडको विषयमा धेरै मानिसको रुची नदेखेर लेखेको पुस्तक पनि सार्वजनिक गरिन । अहिले खप्तडको महत्व बढ्दैछ छिट्टै पुस्तक सार्वजनिक गर्छु’,अर्जुनले भने ।

विद्यालय जीवनदेखि नै साहित्य र लेखनमा सक्रिय रहेका अर्जन राजनीतिक दिनचर्याबाट फुर्सद हुनासाथ लेख्न रुचाउँछन् । विगतमा आफूले लेखेका नाटकहरु संग्रहित गर्न नसकेकोमा भने उनलाई पछुतो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *