भारतसंग सिमा जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो – Nepal Press

भारतसंग सिमा जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो

विराटनगर । भारतसंग सिमाना जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो बनाइएको छ । प्रदेश १ का विहार र पश्चिम बंगाल राज्यसंग सिमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो ।

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीबाट अब कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाईटमा राखिएको अनलाइन फर्म भरेर सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ । जसका कारण ति नाकाबाट आवत जावतमा सहजता मिलेको हो ।

नेपाल र भारतका आम नागरिकले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाइटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

अनलाइन फर्म भरेपछि प्राप्त हुने बारकोड सहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने छन् ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन परिपत्र गरे पनि नाकाको आवागमनमा सर्तसहित भारततर्फ जाने व्यवस्था मिलाइएको मोरङ्खका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

नेपालबाट भारततर्फ जान कुनै समस्या नरहे पनि भारत वा अन्य देशबाट आउँदा भने स्वास्थ्य परिक्षणको रिर्पोटलाई अनिवार्य गरेको उनले बताए ।

गृह मन्त्रालयले गत विहिबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिमा नाका खुकुलो बनाउन परिपत्र पठाएको थियो । तर सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागि भने नाका सिमापार जान र आउन कडाई गर्न परिपत्रमा निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण गत चैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाका सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो ।

दुई महिनायता हवाई सेवा सञ्चालनमा आईसके पनि सीमा नाका बन्द थिए । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नाता–गोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोर–दोहोर गर्न पाएका थिएनन् ।

जसका कारण ती क्षेत्रका स्थानीयले नाका क्षेत्रमा दिनहूँ जस्तो जनस्तरबाट सीमानाका खोल्न दबाबमूलक कार्यक्रम गदै आएका थिए ।

जिल्ला प्रशासन कार्यलय मोरङका अनुसार सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकको हकमा भने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य परिक्षणमा केही लक्षण देखिए उनीहरुलाई तत्कालै क्वारेन्टाईनमा राखिने स्थानीय प्रशासनको तयारी छ । भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेर मात्र नेपाल प्रवेश दिने व्यवस्था रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर