माघ १९ को त्यो पीडादायी दिन र मेरा विरुद्धको कुप्रचार – Nepal Press
सन्दर्भ- माघ १९

माघ १९ को त्यो पीडादायी दिन र मेरा विरुद्धको कुप्रचार

प्रतिगमन आंशिक सच्चियो भनेर एमाले देउवा सरकारमा जानु ऐतिहासिक भूल थियो

‘माघ १९’ गते गिरफ्तार भएपछि बदनाम गराउने र चरित्रहत्या गर्ने आम अभियानभित्र मलाई केन्द्रित गरिएको कुरा गिरफ्तार भएको केही दिनमै मैले जेलभित्रैबाट थाहा पाउन थालेको थिएँ । एकातिर दरबारिया तत्वहरू मलाई अनेक प्रसंगसित गाँसेर बदनाम गराउन केन्द्रित भएर लागेका थिए भने अर्कोतिर पार्टीभित्रको एउटा पंक्ति खुलेरै यो काममा लागेको कुरा थाहा पाउन मलाई धेरै समय लागेन ।

‘देउवा सरकारमा पार्टीका प्रतिनिधिहरूको अयोग्यताकै कारण वा नकारात्मक भूमिकाकै कारण माघ १९ मा राजाले कदम चाल्न सकेका हुन्’ भन्ने निष्कर्षको झण्डा फहराएर पार्टीका केही साथीहरूले अभियान छेडेको सुनियाे । ‘माघ १९’ आउनुमा के के कारणहरू जिम्मेवार छन् भन्ने कुराको व्यवस्थित राजनीतिक विश्लेषण विना तत्काल देखिएको विषयलाई मुख्य कारणको रूपमा अघि सारेका थिए, ती साथीहरूले ।

राजाको प्रजातन्त्र विरोधी चरित्र र स्वेच्छाचारी किसिमले शासन संचालन गर्ने चाहना, माओवादीहरूको बहुदलीय प्रजातन्त्र विरोधी अराजकतावादी विचार तथा हिंसात्मक गतिविधि र प्रजातन्त्रका पक्षधर राजनीतिक पार्टीहरूको अदूरदर्शिता एवं अपरिपक्वताहरूको संग्रहित परिणाम थियो ‘माघ १९’ को राजाको कदम ।

यो कुरालाई बुझ्न नसकी एकांगी तथा आग्रहपूर्ण निष्कर्षलाई मनमा राखेर सरकारमा सहभागी भएका पार्टी प्रतिनिधिहरूमाथि किन हमला केन्द्रित गरिंदैछ ? यसमा मलाई किन प्रहारको निशाना बनाइँदैछ ? यही मौकामा पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने प्रस्ताव बोकेर केही साथीहरू किन ‘मूभ’ गरिरहेका छन् ? त्यस्तै साथीहरूले गोप्य रूपमा देशव्यापी रूपमा जारी गरेको विशेष प्रस्ताव–पत्र जेलमा नै एउटा विशेष सूत्रबाट मेरो हात परेको थियाे ।

“…. प्रतिगमनलाई पूर्ण रूपले सच्याउने जिम्मेवारीका साथ सरकारमा गएका र आफ्ना केही गम्भीर तथा नकारात्मक कामहरूले पार्टी, क्रान्ति, आन्दोलन र भविष्यलाई समेत गम्भीर हानि पुर्‍याउँदै पार्टीलाई जनतामाझ मुख देखाउन नसकिने अवस्थामा पुर्‍याउने जिम्मेवार व्यक्तिहरूलाई निजको गम्भीर गल्तीहरूका निम्ति दण्डित गरिनुपर्छ कि पर्दैन ? निश्चय नै यी प्रश्नहरू गम्भीर छन् र यी प्रश्नहरूमा हामीले दिने जवाफले नै आन्दोलनको पुनर्गठनको आरम्भ सही ढंगले हुनसक्छ कि सक्तैन भन्ने कुराको फैसला गर्नेछ ।

विभिन्न बहानामा यो प्रश्नलाई पर्गेल्ने या सबैबाट गल्ती भयो भन्ने नाममा सबैको अमूर्त र अर्थहीन आलोचना गर्दै मुख्य जिम्मेवारलाई चोख्याउने कुरा कदापि  उचित हुन सक्दैन ।” एकातिर राजाले सम्पूर्ण रूपमा समाप्त पार्न एक्ल्याएर बन्दी बनाएको छ, अर्कोतिर यही मौकामा आफ्नै पार्टीका ‘कमरेडहरू’ सम्पूर्ण रूपमा समाप्त पार्न बाहिर बसेर यस्ता ‘मूभ’ गरिरहेका छन् ! कस्तो विचित्र ! कति कृतध्नता !! क्रान्तिकारी राजनीतिको खोलभित्र कस्तो निकृष्ट तानाबाना !!!

दुईतीनवटा प्रसंगलाई लिएर एकसाथ ममाथि प्रहार गरिंदै थियो । पार्टीभित्रको एउटा पंक्ति ममाथि अत्यन्त अमैत्रीपूर्ण रूपमा खनिंदै थियो । खासगरी २०५९ माघमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनदेखि वा त्यसको सेरोफेरोदेखि यस किसिमको आक्रमण शुरु भएको थियो । ती साथीहरूको मप्रतिको व्यवहार पार्टीभित्र वा पार्टी सम्बद्ध निश्चित कमिटीहरूमा प्रकट (व्यक्त) हुँदैनथ्यो । तर बाहिर असम्बद्ध ठाउँ र सञ्चारमाध्यमहरूमार्फत उनीहरू यी कामहरू गरिरहेका थिए ।

घोषित–अघोषित ‘संपादक’, संवाददाता वा ‘विशेष स्रोत’ बनेर उनीहरू यी काम गरिरहेका थिए । पार्टी कमिटीका बैठकहरू – माथिल्लै तहका कमिटीका बैठकहरूका छलफल वा गोप्य राखिनुपर्ने वा सार्वजनिक गर्न नहुने कतिपय निर्णयका विषयहरूमा समेत पनि उनीहरूबाट यस्ता कामहरू हुँदै आएका थिए ।

पार्टी कमिटीहरू र तिनका बैठकहरूमा धेरैपटक अत्यन्त गम्भीर चिन्ताका साथ यस्ता अवाञ्छित कामहरूका बारेमा छलफल चल्ने, यस्ता कामलाई ‘आपराधिक काम’ को कोटिमा समेत राखिने, छानबिन गरिनुपर्ने कुराको आम सहमति हुने र कहिलेकाहीं त छानबिन गर्ने टोली समेत बनाउने काम पनि भएका हुन् । तर पनि त्यस्तो अवाञ्छित प्रवृत्तिमाथि नियन्त्रण भने हुन सकेन । त्यस्ता ‘धन्दाहरू’ चालु रहँदै आएका थिए । पे–रोलमा चल्ने पात्रहरूलाई नियन्त्रण गर्न नसकिएकोमा कतिपय जिम्मेवार साथीहरूले खिन्नता समेत व्यक्त गर्ने गरेका थिए । यस्तै खेलअन्तर्गत पार्टी केन्द्रभित्रको एउटा ‘विरोधी पात्र’ को रूपमा चित्रित गर्दै त्यसमाथि हमलाका सम्भव सबै उपायहरू प्रयोग गरिंदै आएका हुन्, ममाथि ।

तस्बिर: विजय गजमेर/नेपालप्रेस

पार्टीभित्रका खासखाले साथीहरूसित मेरो ‘रसायन मिश्रण’ केही असहज किसिमको रहँदै आएको छ । नेकपा (एमाले) को संगठनात्मक संरचना जस्तो आधारमा खडा गरिएको छ र संगठनात्मक संरचनाको मनोबनावट जसरी निर्माण गरिएको छ, त्यससित संगति नराख्ने प्रवृत्ति र पात्रहरूको एउटा पंक्ति पार्टीभित्र रहेको छ । पार्टीभित्र परिभाषित काममा केन्द्रित हुन नसक्ने, परिभाषित काममा केन्द्रित भएर योग्यता र क्षमता प्रदर्शन गर्न नचाहने वा नसक्ने, पार्टीका नीति–निर्णयमा ‘आत्मकेन्द्रित’ भएर भूमिकाको खोजी गर्ने, अनौपचारिक सन्दर्भ – समूहहरू बनाउने कुरामा रुचि राख्ने र प्रदर्शित हुने विशेष रुचिका कारण खास खालका साथीहरू पार्टीको सांगठनिक जीवनमा असहज बन्ने गरेका छन् । यस्ता साथीहरूसित अहिलेसम्म मेरो भावनात्मक ‘रसायन मिश्रण’ त्यति सहज हुन सकेन । पार्टीभित्र मेरो पृथक् पृष्ठभूमि र कार्य चरित्रको कारणले यस्तो भएको हुनसक्छ । पार्टीभित्र ‘फेस भ्यालु’ को विशेष ‘तौल’ हुन्छ भन्ने मान्यताका कतिपय साथीहरूका लागि मेरो दृष्टिकोण र अभिव्यक्ति त्यति प्रिय हुने गरेको छैन ।

नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठित धाराको रूपमा उदय भएको नेकपा (एमाले) को प्रारम्भिक कालदेखि र आधारभूत तहमा संगठित हुँदै अगाडि बढेका व्यक्तिहरूका लागि पनि त्यति सहज हुन नसकिरहेको विषय हो – यो । यही कारणले पार्टीभित्र कहिलेकाहीं असहमति, विरोध र प्रतिवादको स्थिति पैदा हुने गरेको छ । कहिलेकाहीं त असहजता–अस्वस्थता समेत प्रकट हुने गर्छ । वास्तवमा पार्टीभित्र यो समस्याको अहिलेसम्म राम्रो व्यवस्थापन हुन सकिरहेको छैन । शायद यही कारणले अन्य समस्याहरू पनि प्रकट हुने गरेका होलान् । यही स्थितिमा – पार्टीभित्रैका खास साथीहरूद्वारा मेरा विरुद्ध हुने गरेको संचारमाध्यमहरूको प्रयोग र दुष्प्रचारलाई मैले बुझेको छु, पार्टीभित्र एक किसिमको पीडाको स्थिति हो, यो ।

कम्युनिस्ट पार्टीभित्र चल्दै आएको एउटा पुरातनपन्थी सोचले आफूसित भएको सम्पत्ति वा भौतिक साधनको आकर्षक र उत्तम तरिकाले सदुपयोग गर्ने कुराप्रति प्रायः विमति राख्छ वा त्यसलाई सहज रूपमा लिन सक्तैन । श्रमजीवी जनतासित एकाकार हुने र यसको लागि अत्यन्त सामान्य जीवन बिताउने (खाने–लगाउने कुरामा सामान्य देखिनुपर्‍यो), आदि आदर्श–मान्यता अन्तर्गत यस्ता सोचहरू प्रकट हुने गरेका छन् । वास्तवमा यस्ता सोचभित्र एउटा शाश्वत मूल्य पनि निहित छ र कम्युनिस्ट पार्टीमा लागेका हरकोहीले त्यसलाई आत्मैदेखि स्वीकार गर्नु पनि पर्दछ । तर कुनै पनि क्षेत्रमा पुरातनपन्थ स्वीकार गरिनुहुन्न । परिस्थितिले जन्माएको गतिशीलतालाई पुरातनपन्थले स्वीकार गर्न सक्तैन । विज्ञान, प्रविधि, संचार आदि क्षेत्रमा भएका युगीन परिवर्तन र अकल्पनीय उन्नतिलाई जीवन र आफ्नो कार्यतरिकालाई गुणस्तरयुक्त बनाउन निसंकोच प्रयोग गर्ने कुरामा हिचकिचाउँछ वा स्वीकार नै गर्दैन ।

यस्तो गर्दा ‘कम्युनिस्ट आदर्शमा ह्रास हुने’ र ‘मूल्यमा क्षयीकरण’ हुन्छ भन्ने एक किसिमको मान्यता राखेको पाइन्छ । ‘सर्वहारा वर्गीय’ पार्टीलाई पूँजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभावबाट जोगाउने ‘पवित्र’ चिन्तनमा आधारित भएर नै यो प्रवृत्तिले आफूलाई ‘टिकाउन’ सकेको हो । युगीन परिवर्तनलाई स्वीकार गर्ने, व्यवस्थापन कुशल बन्ने र यी कामबाट आफ्नो जीवन र जिम्मेवारीलाई गुणस्तरयुक्त बनाउने कुरा अग्रगामी मान्यता हो भन्ने बुझ्न नसक्दा नै यस्तो भएको हो भन्ने मलाई लाग्छ ।

पार्टीलाई एकातिर पूँजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभावबाट जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ आफ्नो जीवन र कामलाई गुणस्तरयुक्त बनाउन पुरातनपन्थी मान्यताबाट पनि मुक्त बनाउनु आवश्यक छ । बाहिर आदर्शको खास्टो ओढेर, नदेखिने गरी, कसैले थाहा नपाउने गरी र अपारदर्शी किसिमले गर्दा चाहिं हुने तर उचित कुरा हो र त्यो अहिलेको जीवन र आफ्नो कामको लागि आवश्यक छ भने भएको चीजलाई उपयुक्त किसिमले सदुपयोग गर्न चाहिं नहुने – यो एक किसिमको ढोंग र पाखण्ड हो । साथै, पछौटे मानसिकताको पनि परिणाम हो । नेकपा (एमाले) भित्र यो विषय – पार्टीभित्र कस्तो संस्कृतिलाई प्रोत्साहित गर्ने भन्ने विषय छलफल र व्यावहारिक विवादको विषय पनि बन्दै आएको छ ।

म शुरुदेखि नै, पार्टीमा भूमिगत जीवन शुरु गरेदेखि नै आफूसित भएका वस्तुहरूको व्यवस्थित र उचित सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे । मलाई भएका चीजवस्तु कहीं कतै सुरक्षित राखेर सामान्य वा ‘सादा’ देखिन कहिल्यै मन लागेन । सदुपयोगमा नै वस्तुको मूल्य वा उपादेयता रहन्छ भन्ने मान्यताका कारण नै म त्यसो गर्न सधैं उत्प्रेरित रहें । यसबीच, पार्टी खुला भएपछि, पार्टी संसदीय राजनीतिमा संलग्न भएपछि, परिवर्तित अवस्थामा पनि मेरो त्यो मान्यता तथा अभ्यास कायम रहनु स्वाभाविक थियो ।

अझ भन्ने हो भने – मेरो त्यो अभ्यासले निरन्तरता पाएको थियो । आफ्नो पैत्रिक सम्पत्तिको सिलोबिलो र अरु जे जति सामान्य आय आर्जनका माध्यमहरू छन् – तिनको परिचालन र उपयोग गर्ने कुरालाई मैले उचित र आवश्यक ठानेको हुँ । म यसै हिसाबले व्यवस्थित हुन चाहें । मेरो निजी जीवनको यस किसिमको व्यवस्थापनलाई पनि मप्रतिको नकारात्मक टिप्पणीको एउटा आधार बनाइएको अनुभव हुन्छ मलाई । मैले देखिरहेको छु, थाहा पाइरहेको छु – पार्टीकै कति साथीहरू आफूसित भएको चीजलाई व्यवस्थित गर्न जान्दैनन्, सक्तैनन् वा चाहँदैनन् र यसो गरेर आफ्नो ‘सामान्य स्थिति’ प्रदर्शन गरिरहेका छन् ! अझ कोही कोही त थुप्रै किसिमका ‘भित्री व्यवहारहरू’ गरिरहेका र बाहिर भने ‘सामान्य स्थिति’ देखाइरहेका पनि हुन्छन् । मलाई यी दुवैखाले अभ्यास उचित लाग्दैनन् । कोही कोही त अझ यस्ता पनि ‘सामान्य स्थिति’ देखिने साथीहरू छन् – जसले निजी जीवनमा अनेकौं आकांक्षाका साथ अनगिन्ती व्यवहारमा हात त हालेका छन् – तर प्रायः ती सबैमा असफलता बेहोरिरहेका छन् ।

दुर्भाग्यवश ! २०६१ असारमा शेरबहादुर देउवाको नेतृत्वमा गठित ‘सर्वदलीय सरकार’ मा पार्टीबाट प्रतिनिधित्व गर्न पठाइएको टीमको एउटा सदस्य म पनि बनें । आम साथीहरूको सहमति र संस्थागत निर्णयबाट मलाई त्यहाँ पठाइएको थियो । अहिले मलाई लाग्छ – इतिहासको एउटा अभागी कालखण्डमा मन्त्री हुन पुगिएछ ।

मैले यस्ता सबैखाले ‘सामान्य स्थिति’ मा रहने वा देखिने अभ्यास गर्न चाहिन । मलाई ती सबै उचित लाग्दै नलागेको हो । अस्वस्थ किसिमले विरोध गर्नेहरू र आचरण वा चरित्रमा समेत आँच पुर्‍याउने उद्देश्यका साथ प्रचारमा लाग्नेहरूले मेरो यही चिन्तन र व्यवहारप्रति आफ्नो ईर्ष्या र असहिष्णुतालाई प्रकट गर्ने अवसर पाएका पनि छन् भन्ने मलाई लाग्छ । केही वर्ष पहिले नै तीनतले–चारतले घर बनाउने साथीहरू अहिलेको आफ्नो पारिवारिक आवश्यकता अनुसार पार्टीलाई औपचारिक जानकारी दिएर, त्यसको औपचारिक स्वीकृति लिएर मैले जम्मा ६ कोठे घर बनाएको देखेर पिठ्युँ पछाडि अनेकौं नकारात्मक टीकाटिप्पणी गर्न समेत पछि पर्नु भएन । यस्तो चरित्रलाई के भन्ने ? मैले ‘आकर्षक डिजाइन’ को घर बनाएको आरोप त्यस्ता साथीहरूले लगाउने गरेका छन् रे !

पार्टीभित्र हामीले एउटा व्यवस्थालाई स्थापित गरेका र केही वर्षदेखि अभ्यास पनि गर्दै आएका छौं । कुनै पनि पार्टी नेताले आफ्नो चल–अचल सम्पत्तिको स्रोत देखाउनुपर्ने, खरिद गर्दा (जोड्दा) वा बिक्री गर्दा भएको आर्थिक कारोबारलाई कमिटीमा जानकारी दिनुपर्ने, घर बनाउँदा स्वीकृत नक्सा र त्यसको लगत सहित आफू सम्बद्ध कमिटी र केन्द्रीय अनुशासन निरीक्षण कमिटीमा बुझाउनुपर्ने (स्वीकृति लिनुपर्ने) अनिवार्य प्रचलन पार्टीमा चलाइएको केही वर्ष बितिसकेको छ । यो बाहेक वार्षिक रूपमा वा आफ्नो सम्पत्ति घटबढ हुँदा जानकारी गराउनुपर्ने वैधानिक व्यवस्था पनि पार्टीमा छ ।

वास्तवमा सम्पत्ति, घर आदि विषयलाई लिएर पार्टी पंक्तिभित्र गम्भीर रूपमा ध्यानाकर्षण भइसकेपछि पार्टीमा सर्वसम्मत किसिमले गरिएको व्यवस्था हो, यो । यसको पालना सबैको लागि अपरिहार्य छ । म आफू यो व्यवस्थाको इमानदारीपूर्वक र दृढतापूर्वक पालना गरिनैपर्छ भन्ने मान्यता राख्नेहरूमध्ये एक हुँ । मैले पार्टीभित्रको यो व्यवस्थालाई पालना गर्दै आएको पनि छु । सच्चाइको अर्को एउटा सानो पाटो के पनि छ भने, पार्टीभित्रका केही साथीहरू यो व्यवस्थालाई कार्यान्वयन गर्ने मामलामा तत्पर देखिंदैनन् । यसलाई पन्छाउन पाए वा अवज्ञा गर्न पाए हुन्थ्यो भन्ने मानसिकता उनीहरूले प्रकट गरिरहेका हुन्छन् । साँच्चै, यसलाई उनीहरूले ‘ऐच्छिक’ विषय बनाएका छन् । विडम्बना ! त्यस्तै साथीहरू वा त्यस्ता साथीहरूका विशेष अनुयायीहरू मेरा विरुद्ध संचारमाध्यमहरूलाई कुशलताका साथ प्रयोग गरिरहेका छन् ।

‘प्रतिगमन आंशिक रूपमा सच्चिएको’ भन्ने विश्लेषणसहित सरकारमा जाने कुरा गलत हुन्छ, हामी जो गए पनि केही गर्न सक्तैनौं’ भन्ने भनाइ राखेका थिए । तर त्यसबेला केन्द्रीय कमिटीको अत्यन्त ठूलो बहुमतले सरकारमा जाने निर्णय गरेको थियो । समीक्षा गर्नुपर्छ – हामीले गल्ती गरेकै थियौं ।

दुर्भाग्यवश ! २०६१ असारमा शेरबहादुर देउवाको नेतृत्वमा गठित ‘सर्वदलीय सरकार’ मा पार्टीबाट प्रतिनिधित्व गर्न पठाइएको टीमको एउटा सदस्य म पनि बनें । आम साथीहरूको सहमति र संस्थागत निर्णयबाट मलाई त्यहाँ पठाइएको थियो । अहिले मलाई लाग्छ – इतिहासको एउटा अभागी कालखण्डमा मन्त्री हुन पुगिएछ । अत्यन्त प्रतिकूल परिस्थिति, समन्वयको अभाव र अत्यन्त अयोग्य नेतृत्वअन्तर्गत रहनुपरेको यो कालखण्ड एकैपटक धेरै कुरा देख्ने र थुप्रै भुक्तमान सहनुपर्ने कालखण्ड बन्यो । भत्कँदै गरेको ठूलो घरमा बस्न गए जस्तो वा गलेर पहिराेमा बग्दै गरेको ठूलो भिरालो पाखोमा हिंड्न पुगेको जस्तो भयो त्यो सरकारमा रहँदाको स्थिति ।

केही पहिलेदेखि नै ‘प्रतिगमन आंशिक सच्चिएको’ भन्ने गलत विश्लेषण, त्यस आधारमा निकालिएको गलत निष्कर्ष तथा निर्णय र अयोग्य नेतृत्वअन्तर्गतको ‘संयुक्त सरकार’ मा जाने पार्टीको निर्णय त्रुटिपूर्ण थियो । देउवा नेतृत्वको सरकारमा जाने कुरा हाम्रो लागि घाँटीमा अड्किएको हाड सरह भयो – न निल्न सजिलो न ओकल्न सजिलो’ । पार्टी केन्द्रीय कमिटीका केही साथीहरूले ‘प्रतिगमन आंशिक रूपमा सच्चिएको’ भन्ने विश्लेषण सहित सरकारमा जाने कुरा गलत हुन्छ, हामी जो गए पनि केही गर्न सक्तैनौं भन्ने भनाइ राखेका थिए । तर त्यसबेला केन्द्रीय कमिटीको अत्यन्त ठूलो बहुमतले सरकारमा जाने निर्णय गरेको थियो । समीक्षा गर्नुपर्छ – हामीले गल्ती गरेकै थियौं ।

सरकारमा जानु जति दुर्भाग्यपूर्ण थियो, त्यति नै आफ्नै पार्टीका केही जिम्मेवार साथीहरूको शुरुदेखिकै असहयोग र विरोध दुःखद थियो । केहीपछि त पार्टी सदस्यहरूले संचालन गरेका अखबारहरूले खुलेआम पार्टीका मन्त्रीहरूले हेरेका मन्त्रालयहरूको विरोधमा – ‘मन्त्री स्वयंले घुस खान्छन् र भ्रष्टाचार गर्छन्’ भन्ने सम्मका कपोलकल्पित र भ्रमपूर्ण समाचारहरू नै छपाउन थाले ।

अरु पक्षले सम्हालेका मन्त्रालयहरूका जहाँ थोरबहुत त्यस्ता कामहरू हुने संभावना पनि थियो, कुराबारेमा चूँसम्म नगर्ने ती अखबारहरूले हामी विरुद्ध जेहाद छेडे । ‘मन्त्रीले नै खाए’ भनेर समेत लेखियो – लेखाइयो । पार्टीका ‘कलमजीबी’ केही व्यक्तिहरूले आफ्नै कलमले समेत त्यही लेखे, त्यस्तै अन्तरवार्ता समेत दिए । मेरो मनले खाएका र दौंतरी लाग्ने कतिपय कमरेडहरू समेत यस्तो गर्न पछि परेनन् । त्यसबेला मेरो मन साँच्चिकै पीडाले छट्पटाएको थियो । अझ पछाडि गएर त केही कमरेडले आफैं मुख खोलेर – मेरो नाम लिंदै ‘फलानाले त यति खायो …. खतम गर्‍यो ….. ’ भनेको सुन्ने केही मानिसहरूले आएर मलाई नै सुनाए । त्यसबेला मेरो मन चरक्क चिरिएको थियो । म असह्य भएर मनमनै रोएको थिएँ ।

स्थायी कमिटीका एकजना कमरेड – पार्टीभित्र मेरो मिल्ने साथी – पार्टीभित्रको कतिपय काममा ‘वेभलेन्थ’ मिल्ने पनि साथी ! मैले उहाँलाई पार्टीभित्र ‘गतिशील’ व्यक्तिको रूपमा पनि बुझेको छु । सरकार गठन हुनुभन्दा केही समय पहिले “कांग्रेससितको ‘अन्त्यहीन आन्दोलन’ मा साथै जान सकिंदैन, सर्वदलीय सरकारको लागि कहीं न कहीं ल्याण्डिङ्ग खोजौं” भन्दै विभिन्न ठाउँमा उहाँले मलाई लिएरै जानुभएको थियो । उहाँकै आग्रहमा कुन कुन संभावनाबारे छलफल गरिएन – कहाँ कहाँ पुगिएन ? उहाँ त पूर्ण रूपले सर्वदलीय सरकारको पक्षमा हुनुहुन्थ्यो । यहाँसम्म कि कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री स्वीकार गरेर भए पनि सर्वदलीय सरकारमा जाने कुराको प्रस्ताव बोकेर समेत उहाँ विभिन्न ठाउँमा पुग्नु भएकै हो ।

एकपटक लीलामणि पोखरेलले पनि निमकान्त पाण्डेलाई आफ्नो अनेरास्ववियूबाट कसरी हटाउनु परेको थियो भन्ने कुरा सुनाउनुभएको थियो । पछि, पार्टी खुला भएपछि अत्यन्त खुकुलो वातावरणमा उनी एमालेमा प्रवेश गरेका थिए । उनको पार्टी प्रवेश विवादित विषय पनि रह्यो । पार्टी विभाजनमा उनीद्वारा सम्पादित पत्रिकाको भूमिकाबारे प्रायः सबैलाई थाहा नै छ ।

अलिक पछि आएर साँच्चै शेरबहादुरको नेतृत्वमा पार्टीको तर्फबाट फलाना फलाना साथीहरू सहभागी हुने भन्ने कुरा छलफल हुन थालेदेखि पार्टीभित्र उहाँका प्रस्तावहरू केही भिन्न ढंगले प्रस्तुत हुन थालेको कुरालाई मैले पछिसम्म पनि राम्ररी बुझ्न सकिनँ । पछि, ‘कार्यक्रमिक सहमतिका आधारमा सरकारमा जान सकिने’ भनी केन्द्रीय कमिटीको छैटौं बैठकले निर्णय गरिरहँदा उहाँ विल्कुल पृथक् प्रस्ताव गर्ने अवस्थामा पुग्नुभएको थियो ! मैले उहाँका यी सबै कुरा बुझिरहेको थिइनँ । पछि उहाँ के कार्यक्रम मिलाएर लामै समय विदेशतिर लाग्नुभयो । आएपछि हामीबीच भेटघाट पातलो नै भयो । उहाँको कलमको प्रहार चल्न थालि नै हाल्यो । पछि त नामै किटेर ‘घुस खाएको र भ्रष्टाचार गरेको’ प्रचार गर्दै हिंड्न थाल्नुभयो ! प्रसंगवश, एमालेको भनिने एकजना व्यक्तिको संपादनमा प्रकाशित हुने एउटा साप्ताहिकले मेरो बारेमा जथाभावी लेख्न थालेपछि पार्टीप्रति निष्ठावान एकजना पत्रकारले उनलाई ‘किन यस्तो लेखेको – के आधारमा लेखेको’ भनी सोध्दा उनले तिनै कमरेडको हवाला दिएका थिए ।

जे होस्, कुनै पनि विरोधीले समेत त्यो स्तरमा ओर्लेर गर्न नसकेको विरोध पार्टीभित्रकै केही साथीहरूले गर्नुभयो । मैले अहिलेसम्म बुझ्न सकेको छैन – आखिर साथीहरू मेरो विरुद्धमा त्यसरी किन लाग्नुभयो ? पार्टीभित्र यस्ता केही साथीहरू पनि छन् जसलाई आफ्नो चाहना र माग पूरा गराउन पार्टीभित्र जस्तासुकै दबाब सृजना गर्न पनि पछि नपर्ने ‘कुशल’ व्यक्तिको रूपमा चिनिन्छ । पार्टी प्रकाशनसित सम्बद्ध एकजना साथीले, सरकार बनाउने – बन्ने सेरोफेरोमा एकजना कमरेडले आफैंलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाइनुपर्ने प्रस्तावका साथ अगाडि बढ्न चाहेको कुरा सुनाएका थिए । दुर्भाग्य – सरकारमा प्रतिनिधित्व गराउने सम्बन्धमा पार्टीभित्र भएको छलफलमा त्यो प्रस्तावले प्रवेश नै पाएन ।

मेरा विरुद्ध अलि पहिलेदेखि ‘जनधारणा’ साप्ताहिकले लेख्तै आएको हो । त्यसले कहिले पार्टीभित्र वैमनस्यता पैदा गराउने, एक आपसमा अविश्वास सृजना गराउने र कहिले भने चारित्रिक हिसाबले बदनाम गराउने समाचार तथा टिप्पणीहरू हामी केहीका विरुद्ध छाप्दै आएको हो । यसका संपादक निमकान्त पाण्डेलाई मैले राम्ररी चिन्दा पनि चिन्दिनँ । पार्टीका अरु कतिपय साथीहरूले उनका बारेमा बेलाबेलामा सुनाउनुभएका केही विवादास्पद प्रसंगहरू बाहेक उनका सम्बन्धमा मसित विशेष थप केही जानकारी छैन पनि ।

युवराज ज्ञवाली, प्रदीप नेपाललगायत लुम्बिनी पश्चिम पार्टी काम गर्ने अन्य केही साथीहरूले जानकारी गराएका कुराहरूभन्दा मसित अन्य थप जानकारी छैन । एकपटक लीलामणि पोखरेलले पनि निमकान्त पाण्डेलाई आफ्नो अनेरास्ववियूबाट कसरी हटाउनु परेको थियो भन्ने कुरा सुनाउनुभएको थियो । पछि, पार्टी खुला भएपछि अत्यन्त खुकुलो वातावरणमा उनी एमालेमा प्रवेश गरेका थिए । उनको पार्टी प्रवेश विवादित विषय पनि रह्यो । पार्टी विभाजनमा उनीद्वारा सम्पादित पत्रिकाको भूमिकाबारे प्रायः सबैलाई थाहा नै छ ।

यिनै निमकान्तले माघ १९ गते गिरफ्तारीको लगत्तै सुरक्षा निकायको स्रोतको हवाला दिंदै मेरो घरको छतको पानी ट्याङ्कीभित्र ३ करोड फेला परेको ‘सनसनीपूर्ण’ समाचार मुखपृष्ठमा प्रकाशित गरेका थिए । बन्दी अवस्थामै मैले उनको पत्रिकाको त्यो अंक हेर्ने मौका पाएँ ।

यस्तै पत्रिकाहरू मेरा विरुद्ध लागि नै रहे । सरकारमा गएदेखि नै यिनको अभियान जारी रह्यो । यिनैले आफ्नो पत्रिकाको कुनै अंकमा करोडौं घुस खाएको समाचार लेखे । हुँदाहुँदा, यीमध्ये कुनै एउटाले कुनै अंकमा पैंतीस करोड खाएको कुरा छाप्यो । एउटाले ‘बूढानीलकण्ठतिर योगेन्द्र झापालीसित मिलेर ६८ रोपनी जमीन किन्यो’ आदि समाचार छाप्यो ।

मैले यी ‘दुईपैसे’ पेपरमा प्रकाशित भइरहेका समाचारलाई कहिल्यै गंभीरताका साथ लिइनँ । तीमध्ये कतिपयलाई त दरबारका हुक्के–ढोकेहरूको पछिपछि केही याचनासाथ हिंडिरहेको कैयौं पटक मैले देखेको थिएँ । एमाले प्रवेशको लहर चलेको बेला यीमध्ये कतिपयले बल्खुको एमाले अफिस खुबै धाएका पनि थिए । यिनले हुलहालमै पार्टीमा छिर्ने विचार बनाएका थिए । त्यो सम्भव भएन । एमालेको समीपबाट कुनै लाभ प्राप्त हुन नसकेको र त्यहाँ घुस्न पनि नसकिएपछि उनीहरू आफ्नो असली परिचयसहित देखापरेका थिए । एमाले तथा बहुदलीय व्यवस्थाका विरुद्धमा यिनका पेपरमा सामग्रीहरू आइ नै रहे । कस्तो विचित्र ! कुनै विश्वसनीयता नचाहिने, कुनै दायित्व र जिम्मेवारी लिनु नपर्ने– समाचार पत्रहरूको यस किसिमको स्वेच्छाचारी प्रयोग बहुदलीय प्रजातन्त्रमा निर्वाध रूपमा भइ नै रह्यो । थुप्रै निमकान्तहरू यस किसिमका काममा लागि नै रहे ।

हो, यिनै निमकान्तले माघ १९ गते गिरफ्तारीको लगत्तै सुरक्षा निकायको स्रोतको हवाला दिंदै मेरो घरको छतको पानी ट्याङ्कीभित्र ३ करोड फेला परेको ‘सनसनीपूर्ण’ समाचार मुखपृष्ठमा प्रकाशित गरेका थिए । बन्दी अवस्थामै मैले उनको पत्रिकाको त्यो अंक हेर्ने मौका पाएँ । माघ १९ पछि नेताहरूको तेजोबध गर्ने उद्देश्यका साथ चलाइएको प्रतिक्रान्तिकारी र आपराधिक योजनामा को–कति लागे मसित ती सबैको अहिले कुनै अभिलेख छैन । तर निश्चित छ – त्यस्तै स्तर र उद्देश्य बोकेका केही व्यक्तिहरू त्यो आपराधिक र प्रतिक्रान्तिकारी योजनाका सहयोगी बनेर लागेको हुनुपर्छ । राजाको प्रतिक्रान्तिका अनुचरहरू निकै जागेका छन्, यसबेला ।

नेताहरूका विरुद्ध त्यस्ता समाचारहरू छपाउने र व्यापक पार्ने अनि तिनैलाई रेडियो–टेलिभिजनबाट फुकेर देशव्यापी बनाउने अभियान चलाइएको छ, यसबेला ।

राजनीतिक क्षेत्रमा गरिएको प्रतिक्रान्ति मात्र होइन, अपराधिक गिरोहको अभियान हो, शायद यो । प्रजातन्त्रवादी नेताहरूलाई कसैसित पनि भेटघाट गर्न, बोल्न नदिएर थुन्ने अनि उनीहरूका विरुद्ध एकोहोरो यस्तो प्रचार गराउने– ‘प्रतिक्रान्तिका नायक’ र योजनाकार राजाले यसको जवाफदेही लिनुपर्ने हो । तर ‘भ्रष्टहरूले मात्र शाही कदमको विरोध गरेका छन्’ भन्दै शाही कदमको विरोध गर्ने ‘भ्रष्टहरू’ मा मेरो नामलाई समेत निर्लज्जतापूर्वक उल्लेख गरेको सुन्दैछु ।

यस्तो कुप्रचारले केही भ्रम सृजना गरे पनि यिनको अपराधिक मनसायबारे ढिलोचाँडो सबैका अगाडि वास्तविकता सार्वजनिक हुने नै छ । आपराधिक योजनाका मतियारहरू दिउँसोको उज्यालोमा इमानदार मानिसतिर आँखा जुधाएर हेर्न पनि सक्ने छैनन् । यति हो – मेरा विरुद्धका यस्ता कुप्रचारले ममार्फत पार्टी नजिक बनेका, मेरो पार्टीलाई माया गर्ने मानिसहरू, मलाई चिन्ने र माया गर्ने मानिसहरू, मेरा मित्रहरू तथा मेरा आफन्तजनहरूलाई चोट पुर्‍याएको छ । केही समय भए पनि उनीहरूले त्रसित बन्नुपर्‍यो । मेरो नियतिका अंशियार बन्नुपर्‍यो । यसको लागि उहाँहरू सबैसित म दुःख व्यक्त गर्न चाहन्छु ।

‘माघ १९ गते’को शाही कदमपछि मेरो चरित्र हत्या गर्ने, तेजोबध गर्ने र बदनाम गर्ने काममा खगेन्द्र संग्रौला पनि आफ्नो ‘तीखो लेखनी’ मार्फत व्यक्तिगत रूपमा ज्यादै खनिए । मेरो गिरफ्तारीको विषय, मलाई जेल लगिएको र मलाई त्यहाँ गरिएको व्यवहारको विषयलाई लिएर भारतीय रेल्वे प्लेटफर्ममा बिक्री हुने “सनसनीखेल सत्यकथा”को शैलीमा उनले हजारमा एक प्रतिशत पनि साँचो नभएको कुरालाई लेखेर सर्वत्र बनाए । उनको यो काममा लोकप्रिय “कान्तिपुर दैनिक”ले उदरतापूर्वक स्थान दिइरह्यो । मलाई थाहा छ – खगेन्द्र संग्रौला प्रगतिशील लेखकका रूपमा चिनिन्छन् ।

उनका लेख–रचना धेरै मानिसहरूले पढ्छन् पनि । प्रगतिशील लेखकका नाताले राजनीतिक परिस्थिति तथा घटनाक्रमका बारेमा उनको आफ्नो विश्लेषण हुनसक्छ । त्यस आधारमा उनले आफ्नो दृष्टिकोण निर्माण गरेका हुन सक्छन् । त्यस क्रममा कुनै राजनीतिक पार्टी वा नेताहरूसित उनी समिप हुन सक्छन्, कसैप्रति ऐक्यबद्धता र कसैप्रति विमति प्रकट गर्न पनि सक्छन् । प्रत्येक व्यक्तिलाई जस्तै उनलाई पनि यो स्वतन्त्रता छ । अझ लेखक पनि भएका कारण उनले त धेरैभन्दा धेरै ठाउँमा आफ्ना लेखनीमार्फत आफ्ना ती कुरा पुर्‍याउन पनि सक्छन् । उनको यो नैसर्गिक अधिकार प्रति उच्च सम्मान गर्नै पर्छ । तर खगेन्द्र संग्रौलाले आफ्नो यो अधिकार मात्र प्रयोग गरेनन्, गलत सूचनाका आधारमा व्यक्तिगत रूपमा मलाई लाञ्छित गर्ने दुस्प्रयास गरिरहे ।

नीति, विचार तथा निर्णयका प्रसंगमा होइन, नितान्त गलत, शतप्रतिशत झूट, कपोलकल्पित घटना–प्रसंगको रचना गरे संग्रौलाले । एकातिर संग्रौला मेरा विरुद्ध यसरी लेखिरहेका थिए भने अर्कोतर्फ राजाको कदमका पक्षपोषकहरू मेरा विरुद्धका उनका तिनै लेखहरू साभार गरेर देशभरि वितरण गर्दै थिए । कस्तो विचित्रको संयोग– निरोधराज पाण्डे, निमकान्त पाण्डे र खगेन्द्र संग्रौलाहरू मेरा विरुद्ध एउटै पंक्तिमा उभिन पुगेका थिए, जतिबेला प्रतिगमनका नाइकेहरू मलाई विशेष किसिमले बन्दी बनाइरहेका थिए र बाहिरी संसारसितको सम्बन्धबाट बिल्कुल अलग गरेका थिए ।

५ जेठ, २०६२
क्षेत्रीय प्रहरी इकाई कार्यालयको बन्दी कोठा
राजविराज ।
(उपप्रधानमन्त्री पोखरेलद्वारा २०६१ माघ १९ मा राजाको प्रतिगामी कदमको पृष्ठभूमि र त्यसपछिका राजनीतिक उतारचढावको चित्रणसहितको कृति ‘माघ १९’ बाट साभार गरिएको एउटा अंश)

प्रतिक्रिया

One thought on “माघ १९ को त्यो पीडादायी दिन र मेरा विरुद्धको कुप्रचार

Leave a Reply

Your email address will not be published.