कोरोनाविरुद्धको खोप आएपछि अर्थतन्त्र सुध्रने उद्योगीको अपेक्षा – Nepal Press

कोरोनाविरुद्धको खोप आएपछि अर्थतन्त्र सुध्रने उद्योगीको अपेक्षा

काठमाडौं । नेपालमा बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउन थालेपछि निजी क्षेत्रले अर्थतन्त्रमा सकरात्मक संकेत देखिने अपेक्षा गरेका छन् ।

कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन, सटडाउन र निषेधाज्ञाले अत्यावश्यक बाहेकका उद्योगधन्दा बन्द अवस्थामा थिए । कोरोनापछि विस्तारै अगाडि बढ्दै गएको अर्थतन्त्रलाई कोरोनाविरुद्धको खोप आएपछि अर्थतन्त्र उकास्ने अपेक्षा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोरोनाको खोप आएपछि निजी क्षेत्रसँगै सबै खुशी भएको बताए । उनले भने, ‘कोरोनाविरुद्धको खोप तीन महिना भित्र सबैलाई लगाउने भनेको छ । यो राम्रो काम हो । कोरोना विरुद्धको खोपले आत्मविश्वास वृद्धि हुने र उद्योगधन्दा, कलकारखाना सञ्चालनले पूर्णता पाउने छ ।’

कोरोनासँग सतर्क रहँदै निजी क्षेत्र अगाडि बढ्नुपर्ने श्रेष्ठको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना विरुद्धको खोप आएकाले अब व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने– तर खोप मात्रै आएर हुँदैन । निजी क्षेत्रका लागि सरकारले बन्द भएका र बन्द हुने अवस्थामा पुगेका उद्योग र व्यवसायहरूलाई राहत हुने नीति ल्याउन आवश्यक छ ।

कोरोनाको कारण व्यापार र व्यवसाय गर्नेहरू ठूलो समस्यामा परेकाले अब त्यो समस्याबाट माथि उठ्नका लागि नयाँ नीति, राहत र व्यवसायमैत्री नियमहरू ल्याउन आवश्यक रहेको पनि श्रेष्ठले बताए ।

व्यापारीहरूले पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । त्यसैले अब व्यापारीहरूले पनि चाँडै कोरोना विरुद्धको खोप पाउने उनले बताएका छन् ।

नेपाल नेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोना विरुद्धको खोप नेपालमा आएकोले निजी क्षेत्र उत्साहित भएको जनाए । कोरोनाको कारणले निजी क्षेत्र समस्यामा रहेको थियो । अब कोरोनाको खोप आएको छ । कोरोना विरुद्धको खोपका कारणले पनि ढुक्क भएर उद्योग, व्यवसाय गर्ने वातावरण निर्माण भएको श्रेष्ठले बताए ।

उनले भने– कोरोना विरुद्धको खोप आए पनि सावधानी भने अपनाउनुपर्छ । सरकारले तोकेको नियमलाई पालना गर्दै व्यापार व्यवसाय अगाडि बढाउन कोरोना विरुद्धको खोपले पनि विश्वास थपेको छ ।

कोरोना महामारी शुरू भएपछि नेपालको मात्रै नभएर विश्वको नै अर्थतन्त्र धरासायी हुँदै गएको थियो । कोरोनाविरुद्धको खोप निर्माण भएपछि विश्व नै आशावादी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *