निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक – Nepal Press

निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक

काठमाडौं । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीको नाममा भोलि एउटा ‘रेकर्ड’ बन्दै छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो व्यक्ति बन्न लागेका छन् उनी ।

गत साता नेपाल भित्रिएको कोरोनाविरुद्धको खोप  ‘कोभिशिल्ड’को प्रयोग बुधबारबाट सुरु हुन लागेको हो । र, पहिलो खोप राजभण्डारीले लगाउने तय भइसकेको छ । पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई निशूल्क लगाउने सरकारको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप लगाउने अभियानको उद्घाटन गर्ने छन् । खोप कार्यक्रमको सुरुवात टेकु अस्पताल, टिचिङ र एपीएफ अस्पतालबाट गरिने छ ।

राजभण्डारी भन्छन्ः सुनौलो अवसर

कोरोनाविरुद्धको पहिलो खोप लगाउन लागेका टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले यो आफ्नो लागि सुनौलो अवसर भएको बताउँछन् । पहिलो प्रयोग आफूले गरेर खोप सुरक्षित छ भन्ने सन्देश दिन खोजेको उनको भनाइ छ ।

निर्देशक राजभण्डारीले नेपाल प्रेससँग भने, ‘नेपालमा कोरोना भाइरसको पहिलो संक्रमितको उपचार टेकु अस्पतालले गरेको हो । खोप पनि पहिलोपटक यही अस्पतालको स्वास्थ्यकर्मीले लगाउँदा सकारात्मक सन्देश जान्छ भन्ने लाग्छ ।’

उनी थप्छन्, ‘सामान्यतया कुनै नयाँ भ्याक्सिन बन्न ५/६ वर्ष लाग्छ । तर कोभिडको खोप एकै वर्षमा यति धेरै बनेको छ । वैज्ञानिकले धेरै दुख गरेका छन् । पहिलो खोप लगाउन पाउनु मेरो लागि सुनौलो अवसर हो ।’

कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मी, चिकित्सकहरु फ्रन्टलाइनमा खटिइरहेकाले उनीहरु उच्च जोखिममा छन् । अस्पतालकै स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत घर–परिवारमा कोरोना सर्न सक्ने खतरा भएकाले सुरक्षित रहन अहिले भ्याक्सिन लगाउनुपर्नेमा राजभण्डारीको जोड छ ।

उनले थपे, ‘कोभिड–१९ ले स्वास्थ्यमा मात्र नभएर मानिसको हरेक पक्षमा असर गरेको छ । यसबाट मुक्त हुनको लागि भ्याक्सिन लगाउनुपर्छ ।’

यो भ्याक्सिन सुरक्षित छ कि छैन भन्नेमा जनमानसमा रहेको संशय हटाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

उनी भन्छन्, ‘स्वास्थ्यकर्मी नै खोप लगाउन अघि सर्दा अरुलाई पनि ढुक्क हुन्छ भनेर पहिले हामी आफैंले लगाउन आँटेका हौं ।’

‘साइड इफेक्ट न्यून’

‘कोभिशिल्ड’ हरेक हिसाबले सुरक्षित रहेको उनी बताउँछन् । डा. राजभण्डारीको भनाइअनुसार यो भ्याक्सिनले ०.१ प्रतिशत मात्रै साइट इफेक्ट गर्छ । अर्थात्, हजार जनालाई खोप दिँदा एक जनालाई सामान्य लक्षण देखिन सक्छ ।

‘सामान्य लक्षण भन्नाले ज्वरो आउन सक्छ । तर त्यो भनेको भ्याक्सिनले काम गरेको हो । भ्याक्सिन सक्रिय हुँदा ज्वरो आउने, जोर्नी दुख्ने हुन्छ । केही घण्टामा आफै ठिक हुन्छ ।’

लाखौमध्ये एक–दुई जनालाई गम्भिर प्रकारका लक्षणहरु देखिन सक्ने उनी बताउँछन् ।

गर्भवती महिला, दम, मुटुको रोग भएका विरामी, एलर्जी हुने व्यक्ति, सुत्केरीलाई खोप दिँदा गम्भिर असर पर्ने देखिएकाले त्यस्ता व्यक्तिलाई खोप नदिने उनले बताए ।

सुरक्षित रुपमा खोप दिने अस्पतालको तयारी छ । त्यसका लागि सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीको सूची बनाइएको छ । बुधबार १० बजेदेखि खोप लगाउन सुुरु गरिने छ ।

अस्पतालका दुई जना चिकित्सकले खोप लगाएपछि स्वास्थ्यकर्मी र सरसरफाईकर्मीले लगाउनेछन् । कसैलाई गम्भिर लक्षण देखिए त्यसको उपचारका लागि औषधी लगायत सबै बन्दोबस्त गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर