को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ? – Nepal Press

को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ?

काठमाडौं । राजनीतिक रुपमा विभाजित तर कानुनी रुपमा मान्यता पाइनसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुट्न नदिने बामदेव गौतमको अभियान बुधवारबाट औपचारिक रुपमा शुरु हुँदैछ ।

साबिक नेकपाको उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि दुवै समूहमा लागेका छैनन् । गौतमको पार्टी एकता राष्ट्रिय अभियान बुधवार धोविघाटबाट औपचारिक रुपमा घोषणा हुने गौतम निकट नेता हरि पराजुलीले बताए ।

पार्टी एकता राष्ट्रिय अभियानको संयोजक गौतम आफैं हुनेछन् भने हरि पराजुली सहसंयोजक बन्ने भएका छन् । त्यस्तै पार्टी एकता राष्ट्रिय अभियानको सचिव बाबुराम थापा रहने बताइएको छ ।

अभियानमा चार जना सहसचिव र कोषाध्यक्ष पनि रहने पराजुलीले बताए । पदाधिकारी र अन्य अभियानका सदस्यहरुको नाम भने बुधवारै बस्ने कार्य सम्पादन समितिको बैठकपछि सार्वजनिक गरिने उनले बताए ।

यो अभियानमा बामदेवलाई सधैं साथ दिँदै आएका केशवलाल श्रेष्ठ,बलराम बास्कोटा जस्ता नेताहरु सामेल छैनन् । उनीहरु प्रचण्ड माधव पक्षमा लागेका छन् भने बामदेवका अरु धेरै सहयोगीहरु यसअघिनै केपी ओली पक्षमा लागेका छन् ।

पूर्व कृषिमन्त्री पराजुली विभाजनअघिकै नेकपाका केन्द्रीय सदस्य हुन् । उनी प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । तर अब बामदेव गौतमको एकता अभियानको सहसंयोजक हुनेछन् ।

सचिव बन्न लागेका बाबुराम थापा नेकपाका युवा नेता हुन् । तेह्रथुमका थापा युवा संघका पूर्व उपाध्यक्ष हुन् भने अहिले किसान महासंघमा छन् । थापा पार्टी विभाजनपछि कतै खुलेका छैनन् ।

गौतमको राष्ट्रिय अभियानमा पार्टी एकता पक्षधर दुवै पक्षमा नखुलेका देशभरका नेता कार्यकर्ता सहभागी हुने दावी गरिएको छ । केन्द्रमा संयोजक, सहसंयोजक, सचिव र चार सहसचिव सहित कोषाध्यक्ष रहनेछन् भने जिल्ला तहसम्म सोही संरचना बनाइने पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर