काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने – Nepal Press

काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा महानगरपाललिकाले हस्ताक्षर गरको छ ।

कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले छनोटमा परेका प्रति विद्यालयलाई एक लाख रुपैयाँ दिनेछ ।

अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यावहारिक रुपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरे ।

‘महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ ।

यसलाई व्यावहारिक रुपमा लागू गर्न तपाईँहरू लाग्नुहोला,’ शाक्यले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’

उनले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराए । ‘हामी पूर्वाधारलगायतका लागि लगानी गर्न तयार छौं,’ शाक्यले भने, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईँहरूको हो । सामुदायिकमा पढेको विद्यार्थीले आफूले चाहेको क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस् ।’

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गरे ।

सहरी योजना आयोगका सचिवलाय प्रमुख डिल्लीराम बाँस्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताए ।

पहिलो चरणका लागि छनोटमा परेका विद्यालयहरु–

शिवपुरी माध्यामिक विद्याल, बाँसबारी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय, गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय, नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय, गीतामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *