भीम रावलबारे ओलीको टिप्पणी– मन्त्री नबनाएपछि पर्नु पिर पर्‍यो – Nepal Press

भीम रावलबारे ओलीको टिप्पणी– मन्त्री नबनाएपछि पर्नु पिर पर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड-माधव नेपाललगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको बताएका छन् ।

धनगढीमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने– नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं,संविधान संशोधन गर्‍यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो । यही प्रदेशको एउटा मान्छेको (भीम रावल) टाउको दुख्यो । नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो ।

नेकपा अध्यक्षसमेत रहेका ओलीले भीम रावलको नाम लिएनन् तर अछामको एउटा केटो बाटो हिड्दा हिँड्दै पुलिसले समातेर जेलमा ल्याएपछि आफूले जेलमा राजनीतिक सिकाएको दावी गरे । पद नपाएपछि रावल आफ्नो विपक्षमा मनपरी बोल्दै हिडेको उनको भनाइ छ ।

ओलीले भने– मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो । तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ । मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो । आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ,सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला ।

प्रधानमन्त्री ओलीले चार जना मन्त्री सुदूरपश्चिमले पाउँदा पनि रावल खुसी हुन नसक्नुको कारण वन मास्न नपाउनु हो भने । वनमन्त्री अहिले सुदूरपश्चिमकै प्रेम आले बनेका छन् ।

ओलीले भने– वैज्ञानिक वन व्यवस्थापनका नाममा सखुवाघारी देशभरीबाट फाँडेर सिध्याउने उहाँहरुको योजनामा ब्रेक लाग्यो । त्यसकारण उहाँहरुलाई पर्नु पिर पर्‍यो । बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर