म्यानमारमा पुनः हिंसा चर्कियो, सेना र विद्रोहीको भीडन्तमा २० जनाको मृत्यु – Nepal Press

म्यानमारमा पुनः हिंसा चर्कियो, सेना र विद्रोहीको भीडन्तमा २० जनाको मृत्यु

यांगुन । सैनिक कूको विरोध गर्दै आएको म्यानमारको विद्रोही लडाकु समूह र सुरक्षाकर्मीबीच आज भएको भीडन्तमा कम्तीमा पनि २० जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यम र प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यहाँको सैनिक दमनलाई रोक्न अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दै केही अभियानकर्मी र सैनिक विरोधी समूहले माग गरिरहेको बेला यस्तो हिंसा भएको अलजजिराले जनाएको छ ।

सेनाविरोधी समूहले यो सातालाई ‘नागरिकको प्रतिरक्षा युद्ध’ भनेको छ ।

‘म्यानमारका युवाहरु आफूसँग जे छ त्यहीलाई लिएर लड्नुबाहेक अर्को विकल्प छैन’ नागरिक प्रतिरक्षा आन्दोलन नामक समूहले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

उक्त समूहले त्यहाँको प्रतिपक्ष शक्तिलाई लिएर सरकार गठनमा भूमिका खेल्न राष्ट्रसंघ र दक्षिणपूर्वी एसियाली मुलुकहरुलाई आग्रह समेत गरेको छ । राष्ट्रसंघीय महासभाले म्यानमारको लागि राजदूत चयन गर्नुअघि उक्त समूहले आफूलाई वैधानिकता दिन समेत भनेको छ ।

गत फेब्रुअरी १ मा भएको सैन्य कूको विरोध गर्न उक्त समूह गठन भएको थियो । यो समूहले यसअघि सेनाविरुद्ध विद्रोह गर्न समेत नागरिकलाई आह्वान गरेको थियो ।

आङसान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा अहिले राजनीतिक संकट गहिरिएको छ । फेब्रुअरी १ को सैन्य कू यता म्यानमारमा १०५८ जना मारिएका छन् भने ६३०० जना अहिले पनि हिरासतमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर