पाल्पा कांग्रेस नेतृत्वका लागि आधा दर्जन नेता दौडमा, दुवै पक्षमा रस्साकस्सी – Nepal Press

पाल्पा कांग्रेस नेतृत्वका लागि आधा दर्जन नेता दौडमा, दुवै पक्षमा रस्साकस्सी

रुपन्देही । निर्धारित मितिमै महाधिवेशन हुने शंका बढे पनि पाल्पामा आधा दर्जन कांग्रेस नेताले नेतृत्वको आकांक्षा व्यक्त गरेका छन् । दुईपटक जिल्ला सभापति भएका अहिलेका सभापति वीरबहादुर राना नदोहोरिने भएपछि करिब आधा दर्जन नेताले नेतृत्वका लागि आन्तरिक तयारी थालेका हुन् ।

आकांक्षीहरुले बाहिर मुख खोलेर प्रचार नगरे पनि आफ्नो समूह तथा नेता कार्यकर्ताकोमा पुगेर आफूलाई अगाडि सार्न आग्रह गरिरहेका छन् । जिल्ला नेतृत्वका लागि कृष्ण बस्याल, यमलाल तिमिल्सिना, रमण थापा, देवराज ढकाल, अजय कर्माचार्य, माधव नेपाललगायत आकांक्षी रहेका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट अहिलेका उपसभापति देवराज ढकाल र माधव नेपाल छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नेता यमलाल तिमिल्सिना, कृष्ण बस्याल र रमण थापा रहेका छन् ।

‘दुईपटक क्षेत्रीय सभापति भएँ, महाधिवेशन प्रतिनिधि बनेर काम गरिरहेको छु, अब जिल्लाको नेतृत्वका लागि अगाडि बढेको छु’ नेता कृष्ण बस्यालले नेपाल प्रेसलाई बताए । उनी अहिलेका सभापति रानाको समूहमा छन् ।

बस्यालले सभापतिको आफूलाई सहयोग हुने आश गरेका छन् । तर सभापति रानाले बस्याललाई भन्दा तिमिल्सिनालाई अगाडि सार्नसक्ने आंकलन उनीनिकट नेताहरुको छ । यसो भएमा बस्याल अर्को समूहको पनि साथ लिएर अगाडि बढ्नसक्ने छन् ।

त्यसैगरी रामपुर नगरपालिकाका प्रमुख रमण थापाले पनि आकांक्षा राखेका छन् । नेतृत्वका लागि अहिलेको कार्यकालभन्दा अगाडि पनि उम्मेदार बनेर जित्न नसकेका देवराज ढकाल पनि आकांक्षी रहेका छन् ।

देउवा समूहका ढकाल अहिलेको जिल्लामा उपसभापति रहेका छन् । यसअघि जिल्ला नेतृत्वका लागि तयारी गरेपनि महाधिवेशन प्रतिनिधिमा आउन नसकेका नेता माधव नेपाल पनि कार्यकर्ताहरुबीच आकांक्षीको रुपमा पुगेका छन् । उनी देउवा समूहमा रहेका अहिलेका केन्द्रीय सदस्य हरि नेपाल निकट मानिन्छन् । पाल्पामा यस अगाडि नेतृत्वको तयारी गरेर समूह बनाउनेलाई महाधिवेशन प्रतिनिधिबाट हराउने गरिएकाले यो पटक धेरैले आन्तरिक तयारी गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट अहिले सभापति बनेका नेता बीरबहादुर राना प्रदेश सभापति अथवा केन्द्रीय सदस्यमा जाने तयारी गरेको बताए । ‘जिल्लाको सबै तयारी पूरा भएको छ, सबैको सहमतिमा सदस्यताको कुरा टुंगिएको छ, अब मेरो प्रदेश सभापति वा केन्द्रीय सदस्य तयारी हो, सबैको सल्लाहमा अगाडि बढ्छु’, नेपाल प्रेससँग रानाले भने । उनी लुम्बिनी प्रदेशसभाको सदस्य हुन् ।

पाल्पाबाट अहिले केन्द्रीय सदस्य रहेका नेता हरि नेपाल, दुईपटक पाल्पाको सभापति बनेर यसअघि केन्द्रीय सदस्यमा पराजित नेता राजन पन्त केन्द्रीय सदस्यका आकांक्षी हुन् । प्रदेश समितिमा कृष्ण अधिकारी, सीता नेपाल आकांक्षी रहेका छन् ।

पाल्पामा पौडेल पक्ष बलियो रहेको दावी सो समूहले गरेपनि संस्थापन देउवा समूहको पनि कमजोर नरहेको दावी छ । अहिलेका सचिव अजय कर्माचार्यले महाअधिवशेनको तयारीमा लागेको र सबैको सहमतिमा आगडि बढ्ने बताउँछन् ।

कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर