महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ – Nepal Press

महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्चको फैसला सेटिङमा आएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामा जहानीया शैली देखिएको टिप्पणी गरेका छन् ।

फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार माइतीघरमा गरेको विरोधसभामा बोल्दै उनले न्यायालयभित्र बसेर राणाले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौती दिए ।

बस्नेतले भने ‘आज सर्वोच्च अदालतले फैसला गर्‍यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदहरूलाई कारवाही गर्न पाउँदैन । सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र शमशेरलाई चुनौती दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाईं एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।’

देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफैं प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न प्रधानन्यायाधीश तयार भएको उनको टिप्पणी थियो ।

बस्नेतले भने, ‘चोलेन्द्र शम्शेरजी, जहानीया राणा शासन सकियो । तपाईंको थर राणा हो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । अब तपाईं फेरि अर्को चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मदै तुहिने छ ।’

निरंकुशहरू, लोकतन्त्रविरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप बस्नेतकव थियो । संवैधानिक इजलास गठन हुने बेलादेखि नै आफूहरूलाई शंका लागेको भन्दै उनले अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरू रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गरे ।

बस्नेतले भने ‘रमण श्रेष्ठ र शम्भु थापाहरूको संवैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाइ छ, कांक्रो चोरेर चोरले आफू खान्छ अनि वियाँ साथीको मुखतिर दल्दिएर भन्छ- कांक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर जुन फैसला गरेका छन् । उनीहरूले नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर