‘पहिले भूकम्पले सिध्यायो, अहिले बाढीले’ – Nepal Press

‘पहिले भूकम्पले सिध्यायो, अहिले बाढीले’

सिन्धुपाल्चोक मेलम्ची-११ कि मनिषा दुलालको आँखामा दुई ठूला घटना भय बनेर नाचिरहन्छन् ।

राति सुत्दा होस् वा कुनै कुरा सोचिरहँदा, पटक-पटक अत्तालिएर उनको निधार भिज्छ । शरीर काँपेजस्तो, निसास्सिएजस्तो, कुनै अजंगको पहाडले थिच्नै आएजस्तो हुन्छ । अनायास बग्ने आँसुले यतिबेला मनिषाको चित्कार सुनाइरहेका छन्, ‘भूकम्प आउँछ घर भत्काउँछ, बाढी आउँछ हामीलाई नै सोहोर्छ ।’

हुन पनि यो ६ वर्षको बीचमा मनिषाको परिवारले के-के सहेन ? दुई ठूला प्रकोपले उनीहरूको बास उखेल्यो, अन्न उमार्ने खेत बगायो । बाढीले ननाघ्ने स्थानमा बसेका छन्, उनीहरू अहिले । एउटा घरको ४ वटा कोठा लिएर कस्टकर रात र दिन काटिरहेका छन्, मेलम्चीमा ।

‘खोला उही डरलाग्दो गरी बग्छ, फेरि सोहोरेर लैजाला जसरी,’ भययुक्त आवाजमा मनिषा भन्छिन् ।

बाढीले अरु डुबाए पनि मनिषाको घर बाँकी थियो । तर, बगरमा ठिंग उभिएको । १२ गतेको बाढीले त्यो पनि रहेन । अहिले त्यसतर्फ आँखा डोहोर्‍याउन खोज्छिन्- ‘घर त खोलामा तैरिएर बसेको छ ।’

०००

१२ वैशाख, २०७२ । त्यसदिन ९ महिनाकी छोरी घरमै छाडेर मनिषा बारीमा मकै गोड्न निस्किइन् । बिहानको काम नसकेपछि घर फर्किइन् र खाना बनाउन थालिन् । घरधन्दाकै क्रममा उनी किचनबाट बाहिर निस्केकी मात्र के थिइन्, एक्कासि घर हल्लियो । एक निमेशमै पल्टियो घर । छोरी तीन तला माथि सुताएकी थिइन् ।

उनी बेहोसीमा चिच्याउन थालिन् ।

लगत्तै देवर र श्रीमान् (कृष्ण दुलाल) आएर थिचिएकी छोरीलाई निकाल्न थाले । छोरी पुरिएकी थिइन् । निकाल्दा निधारबाट रगत बगेको थियो । धुलोले ढाकिएको थियो शरीर ।


उनले मुटु निचोर्दै सोचिन्- अब छोरी फिर्ता आउँदिनन् ।

‘छोरीलाई अस्पताल लग्यौं, तर अस्पतालमा पनि लासहरूको लहर देखेँ । निधारमा पट्टी बाँधेर घरनिरकै चौकीमा ल्याएर उपचार गर्‍यौं । ठूलो चोट हुन पाएनछ,’ उनी सुनाउँछिन् ।

धन्न ! भाग्यले बाँचिन् उनकी छोरी ।

त्यस रात उनीहरूले नजिकको समता स्कुलमा काटे ।

रातभरि मरिन्छ कि भन्ने पीरले उनको परिवारलाई सताइरह्यो । भोलिपल्टबाट बस्नका लागि उनीहरूले टहरा बनाए । घरले पुरिएर बाँकी रहेका सामानलाई बाहिर निकाले ।

अघिल्लो वर्षसम्म पनि उनीहरू त्यही छाप्रोमा बस्थे । छाप्रोमा बस्दा अनेक दुःख क्रष्ट भयो । वर्षाको बेला पहिरोले घर थिच्ला भन्ने डर, भेल आएर घर भित्र पस्ला भन्ने डर ।
डरै डरमा कतिञ्जेल बाँच्ने ?

त्यसपछि ९० लाख लागतमा तीन तलाको घर बनाए मनिषा दप्पत्तिले । २०७६ असार २८ गते नयाँ घरमा सरे । नयाँ घरमा अर्की छोरीको पनि जन्म भयो । खुसी छाउँदै गरेको परिवारमा उनले महसुस गरिरहेकी थिइन्- अब पहिरो र भेलको सामना गर्नु पर्दैन ।

०००

०१ असार, २०७८ । जे नहोस् भन्ने कामना थियो, त्यही भयो । त्यसदिन साँझ ८ बजे उनीहरू खानपिनको तयारीमा थिए । त्यहीबेला गाउँमा मानिसहरू चिच्याएको आवाज आयो- बाढी आयो, बाढी आयो…!

त्यो अत्तालिएको आवाजले उनीहरूलाई झकायो । भाग्ने तयारीमा लागे ।

बाढी घरमुनिको खेतसम्म पसिसकेको थियो । अचानक घर पनि भूकम्प आएजसरी काप्न थाल्यो । खाना नै नखाइ उनीहरू घरबाट निस्किए । माथि छिमेकीको घरमा आश्रय लिन पुगे ।

छोरीहरूलाई त्यहीँ सुताएर मनिषा र उनको श्रीमान् सुसाइरहेको बाढीको बहाब हेरेर बसे ।

हेर्दाहेर्दै घरमुनि छिमेकीको १८ रोपनी खेत बगायो । र बगायो मनिषाको २ रोपनी खेत । खेत हुँदै बाढी घरमा उक्लन थाल्यो । ‘राभतरि आँखामा निद्रा परेन । बिहान साढे तीन बजे गएर हेर्दा घरमा खोला पस्नै थालिसकेछ,’ मनिषा मलिन आवाजमा सुनाउँछिन् ।

घर, घर नरहने निश्चित थियो । उनीहरूले ३ वटा भैंसी निकाले । अनि सामानहरू पनि निकाले ।

तर घर निरन्तरको बाढीले बगरमा परिणतमा गराइछाड्यो ।

यसरी आँखैअघि घर, खेत, स्कुल र गाउँ नै सोहोरिएको देख्दा मनिषाका मन थामिन्नन् । पानीको बहाब अझै घटेको छैन । निरन्तर हुने वर्षाले तर्साइरहन्छ ।

तैपनि मनिषा र उनका पति कृष्णले हार मानेका छैनन् । ‘ज्यान त जोगियोस् । बाँकी त पौरखैले सिर्जना गरिहाल्नेछौं नि,’ उनको दबिएको आवाजमा बल्ल दृढता भेटिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर