रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल – Nepal Press

रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।

नेकपा विभाजनपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू फागुन २३ को फैसलासँगै एमाले बनेका छन् । उनीहरुको समायोजनका लागि शनिबार पूर्व माओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भएको हो ।

रामबहादुर थापा बादल, लेखराज भट्ट,टोपबहादुर रायमाझी,मणी थापा,प्रभु शाह लगायतका नेताहरुबीच भएको छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको बताइएको छ ।

स्थायी कमिटी सदस्य मणि थापाले भने विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल भएको बताए । नेकपा विभाजनपछिको निरन्तरता नै अदालतको फैसलापछिको एमाले भएकाले सोही अनुसार विचार,राजनीति र संगठनमा पार्टी एक हुने उनले बताए ।

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि समेत छलफल भइरहेको बादल समूहका नेताहरुले बताएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यी केन्द्रीय कमिटीमा बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद्‌ सदस्य हुने निर्णय भएको छ ।

त्यस्तै एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्नका लागि गृहकार्य भइरहेको छ । संगठन विभागले तयार पारेको विवरण अनुसार महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव तयार पारिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले फागुन २३ पछि पुनःस्थापित भएको नेकपा एमाले पूरानो एमाले नभई नेकपा एकतापछि समाहित भएका व्यक्तिहरुसहितको पार्टी भएको बताउँदै आएका छन् ।

पूर्व माओवादी समूहमा मतान्तर रहेको भनिएका बेला बादलको नेतृत्वमा शनिवार बैठक बसेको हो । प्रभु साहले भने सांगठनिक भन्दा पनि वैचारिक रुपमा साबिक नेकपाको निरन्तरताका रुपमा एमालेलाई अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर