एमाले स्थायी कमिटी बैठक जारी, थप नेतामाथि छैन कारवाहीको एजेण्डा – Nepal Press

एमाले स्थायी कमिटी बैठक जारी, थप नेतामाथि छैन कारवाहीको एजेण्डा

काठमाडौं । बिहान ११ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटीको बैठक दुई घण्टा ढिला शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जसपासँगको पछिल्लो वार्ता प्रक्रिया,पार्टी एकताका लागि भएका प्रयास र बजेटका बारेमा छलफल हुँदैछ ।

कार्यदलमा रहेका नेताहरुले माधव नेपाल पक्षका नेताहरुसँग सोमवार मध्यरातसम्म पनि वार्ता गरेका थिए । वार्ता प्रक्रिया सकारात्मक रहेकाले अहिले थप नेताहरुमाथि कारवाही नहुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका विघटित प्रतिनिधिसभाका १२ जना सांसदमाथि कारवाही गर्ने एजेण्डा बैठकमा नरहेको बताएका छन् । उनले नेपाल प्रेससँग भने, ‘कोही व्यक्तिगत रूपमा पार्टी छोडेर गए एउटा कुरा नत्र कोहि पनि सदस्य बाहिर जाओस् भन्ने पार्टी चाहदैन ।’

पार्टीविरुद्ध गतिविधि गरेको, कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर राष्ट्रपतिसमक्ष र अदालत गएको तथा ह्वीप उल्लंघन गरेको जस्ता अभियोगमा झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।

सुृरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई एमालेले स्पष्टीकरण सोधेको छ । तर, उनीहरुले बुझाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर