कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा नबोक्ने – Nepal Press

कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा नबोक्ने

सोमबार देशभर आन्दोलन, तर माग के हो ? कार्यकर्ता अन्यौलमा

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादको अभ्यास’ भनेको नेपाली कांग्रेसको अबको कदम के होला ? कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा यसै विषयमा गरमागरम बहस चलिरहेको बेला सभापति शेरवहादुर देउवाले शुक्रवार प्रष्ट शब्दमा भने– संसद पुनस्र्थापनाको कुरै नगरौं ।

संसद विघटनलाई असंवैधानिक मान्ने नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) सडकमा उत्रिसकेका छन् । उनीहरुले सभामुखले विशेष अधिकार प्रयोग गरेर प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने समेत बताएका छन् र पुनस्र्थापनाको लागि सडक र न्यायिक दुवै लडाइँ रोजेका छन् ।

एकपटक ओलीइतर पार्टीहरुको सर्वदलीय बैठकसमेत आयोजना गरेको कांग्रेस भने प्रतिनिधिसभा पुनस्र्थापनाको एजेण्डामा आन्दोलन गर्ने मुडमा देखिँदैन । भलै कांग्रेसभित्रै यस विषयमा दुई धार छ, तर सभापति देउवाको भनाइले अब प्रतिनिधिसभा पुनस्र्थापना कांग्रेसको एजेण्डा होइन ।

पार्टीभित्र तत्काल आन्दोलनमा उत्रन दवाव बढेपछि पुस १३ गते कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । तर कांग्रेसको प्रदर्शन के का लागि ? कांग्रेस संसद पुनः स्थापनाको पक्षमा हो वा होइन ? कांग्रेसका नेता कार्यकर्ता नै अलमलमा छन् ।

२०५८ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री एवं हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरेका थिए । संकटकाल लगाउने विषयमा पार्टीमा उत्पन्न परिस्थितिको सामना गर्नुको साटो देउवाले संसद भंग गरेपछि नेपाली कांग्रेस विभाजनको अवस्थामा पुग्यो ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ‘प्रतिनिधिसभा पुनःस्थापना’ को एकसूत्रीय माग अघि सारे । त्यसबेला पुनस्र्थापनाको माग राखेर सडकमा जाने निर्णयले कोइरालालाई एक्लो बनायो । नेकपा एमाले, नेपाली कांग्रेस (प्रजातान्त्रिक) लगायतका कुनै पनि ठूला दल पुनः स्थापनाको पक्षमा उभिएनन् ।

‘हिजोको जस्तो अवस्था अहिले छैन । अदालतले पुनःस्थापना गर्यो भने ठीकै छ नत्र चुनावमा जानुपर्छ । आन्दोलनबाट संसद पुनःस्थापना गराउनु उपयुक्त हुँदैन’, देउवापछि सभापतिको दावी गरिरहेका नेता विमलेन्द्र निधिको भनाइ छ ।

समयक्रममा सात दललाई आफ्नो एजेण्डामा सहमत गराएर संयुक्त आन्दोलनको नेतृत्व कोइरालाले गरे । चार वर्षको लगातार आन्दोलनबाट संसद पुनःस्थापना गराउन कोइराला सफल भए । कोइरालाको नेतृत्वमा संसद पुनः स्थापना गरिएको यो घटनालाई कांग्रेसजन गर्वको विषय मान्दछन् ।

यद्यपि अहिले कांग्रेस संसद पुनःस्थापनाको पक्षमा उभिन सकेको छैन । कांग्रेसभित्र ‘आन्दोलनभन्दा अदातल’ प्राथमिकतामा परेको छ । यसले पनि संसद पुनस्र्थापनाको मुद्दामा कांग्रेस प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा भन्दा केपी ओली नेतृत्वको नेकपासँग नजिक देखिएको छ । यद्यपि, कांग्रेसले विघटनलाई भने असंवैधानिक भनेको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले बिहीबार केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा संसद पुनःस्थापना कांग्रेसको माग हुन नहुने प्रष्ट बताएका थिए । शुक्रबार रामचन्द्र पौडेललाई क्रस गरेर देउवाले ‘पुनस्र्थापनाको कुरै नगरौं’ भनेपछि कांग्रेस यस विषयमा अदालतको फैसला नआउन्जेल प्रवेश नगर्ने देखिन्छ ।

‘हिजोको जस्तो अवस्था अहिले छैन । अदालतले पुनःस्थापना गर्यो भने ठीकै छ नत्र चुनावमा जानुपर्छ । आन्दोलनबाट संसद पुनःस्थापना गराउनु उपयुक्त हुँदैन’, देउवापछि सभापतिको दावी गरिरहेका नेता विमलेन्द्र निधिको भनाइ छ ।

केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित गरेर कांग्रेसले पुस १३ मा देशभर संसद विघटनको विरुद्ध प्रदर्शन गर्दैछ । प्रदर्शन ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध’ भनिएपनि कांग्रेसको माग के हो खुलाइएको छैन । सरकारले आफ्नो कदम सच्याउनुपर्ने हो वा होइन ? यसबारे कांग्रेस नेतृत्वले मौनता साँधिरहेको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने संसद पुनःस्थापना कांग्रेसको एजेण्डा नभएको बताउँछन् । संविधान निर्माणकै क्रममा संसदले सरकार जन्माउन नसकेको अवस्थामा बाहेक विघटित हुँदैन भन्ने मान्यता स्थापित भएको आचार्यको भनाइ छ ।

‘सरकार दिन नसकेको बाहेक अवस्थामा संसद विघटन हुनै सक्दैन भन्ने मान्यतामा कांग्रेस छ । त्यसैले विघटित हुन नसक्ने संसद पुनःस्थापना गर्नुपर्छ भन्ने माग राजनीतिक हिसाबले उपयुक्त होइन’, आचार्यले नेपाल प्रेससंग भने ।

आचार्यका अनुसार असंवैधानिक कदमको निरुपण अदालतले गर्ने भएकोले पुनः स्थापनाको एजेण्डा सडकसम्म पुग्दैन । ‘कांग्रेसले सरकार अलोकतान्त्रिक भो, संविधान असुरक्षित भयो भनेर जनतामा जाने हो । पुनःस्थापनालाई एजेण्डा नबनाउनु कांग्रेसको हितमा हुन्छ’, आचार्यको भनाई छ ।

आन्दोलनलाई प्राथमिकता दिने वा चुनावको तयारी थाल्ने भन्नेमा कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल जारी छ । यद्यपि आन्दोलन र निर्वाचन तयारी दुवैलाई कांग्रेसले संगै अगाडि बढाउने सम्भावना देखिन्छ । कांग्रेसका अधिकांश शीर्ष नेताहरु आन्दोलन ‘कम्युनिष्ट’का विरुद्ध हुने तर आफ्नो कमजोर उपस्थिति रहेको ‘संसद पुनःस्थापना’ का लागि नहुने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर