बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन ! – Nepal Press

बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन !

काठमाडौं । अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि कोरोना संक्रमितका आफन्तले सोझै अक्सिजन उद्योगलाई फोन गर्न थालेका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजनको कोटा तोकेपछि केही अस्पतालले बिरामी भर्ना नलिने तथा उपचार गरिरहेका बिरामी डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले अक्सिजनका लागि आफूहरूलाई बाक्लो फोन आउन थालेको बताउँछन् ।

शारदाले नेपाल प्रेससँग भने, ‘बिरामीको आफन्तले अक्सिजन दिएर आफ्नो बिरामीको ज्यान बचाइदिनुपर्‍यो भन्छन् । हामीले अस्पताललाई नै अक्सिजन दिने गरेका छौं भनेर बुझाउँछौं । अहिले हामीले उत्पादन गरेको अक्सिजन सीधै अस्पतालभन्दा अन्य ठाउँ बिक्री गर्न मिल्दैन । फोन गर्नेहरूले कति पैसा लाग्ने हो त्यती दिन्छौ समेत भन्ने गरेका छन् ।’

सिलिन्डरको अभावले उत्पादन भएको सबै अक्सिजन उपभोग गर्न सक्ने अवस्था नरहेको उनले बताए । नेपाल अक्सिजन उत्पादक सघंका उपाध्यक्ष वसन्त मरठ्ठाले पनि अक्सिजन दिएर बिरामीको ज्यान बचाइदिनुपर्‍यो भनेर दैनिक धेरै फोन आउने गरेको बताए ।

मरठ्ठाले भने, ‘अक्सिजन उद्योगीलाई अक्सिजन दिनु पर्‍यो भनेर धेरै फोन आउने गरेको छ । अक्सिजन उत्पादकले फोन थेग्नै नसक्ने अवस्था छ । अहिले स्वास्थ्य मन्त्रालय र सीसीएमसीको मात्रै फोन उठाउने अवस्था आएको छ । अक्सिजन चाहियो भन्नेहरूको फोन आएर फोन सधै बिजी हुने गरेको छ । यस्तो महामारीको समयमा घरमा भएको सबै अक्सिजन सिलिन्डर प्रयोगमा ल्याउन सके केही सहज हुन्छ कि भन्ने अवस्था आएको छ ।’

उनले भने, ‘साना सिलिन्डर घरमा नै थन्किएर बसेका भए त्यसलाई तत्कालै प्रयोगमा ल्याउनु पर्‍यो । अहिले सिलिन्डरको अभावले गर्दा भएको सबै उत्पादन प्रयोग गर्न सकिएको छैन । त्यसलाई प्रयोग गर्न पनि घरमा लगेर राखेका र अक्सिजन प्रयोग गर्ने उद्योगहरुसँग भएको सबै सिलिन्डर प्रयोगमा ल्याउन सके अवस्था केही सहज हुने थियो ।’

सीसीएमसीले काठमाडौं उपत्यकाका अस्पतालहरूलाई क्षमता हेरेर ५ देखि ३ सय सिलिन्डर दिन अक्सिजन उद्योगहरूलाई आदेश गरेको छ ।

अहिले अक्सिजन बिक्री डिपोबाट नभइ उद्योगबाटै सीधा अस्पताल जाने गरेको छ । चीनबाट हिजो मात्रै ४ सय थान अक्सिजन सिलिन्डर जहाजबाट नेपाल भित्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर