सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारबाहीमा – Nepal Press

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार ३ सय ५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४ सय ६० मोटरसाइकल, १४ हजार ७ सय ४० जिप र कार, ११ हजार ३ सय १ ट्रक, नौ हजार ५ सय ९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १ सय ३४ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सवारी साधनबाट रु तीन करोड ७० लाख ८४ हजार ५ सय राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । ‘यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो,’ उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ ।’

अघिल्लो आर्थिक वर्ष ५६ हजार १ सय ५३ सवारी साधन कारवाहीमा पर्दा रु तीन करोड ३१ लाख ९९ हजार ५ सय राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आव नौ महिनामा नै आठ हजार १ सय ५२ बढी सवारी साधन कारबाहीमा परेका छन् भने रु ३८ लाख ८५ हजार राजस्व बढी संकल न भएको देखिन्छ ।

सवारी साधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ । उनले भने, ‘सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ । सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।’

यस वर्षको नौ महिनामा ४ सय ८१ सवारी दुर्घटना हुँदा ६ सय ७४ सवारी साधनमा क्षति भएको छ भने १ सय ४७ को ज्यान गएको छ । यस अवधिमा ५ सय ११ गम्भीर र ४ सय ४७ जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवको नौ महिनामा २ सय ३२ सवारी दुर्घटना हुँदा ३ सय ७ सवारी साधनमा क्षति भएको थियो भने १ सय १६ को ज्यान गएको थियो ।

अघिल्लो आवको नौ महिनाको तथ्यांक हेर्दा यस चालू आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ ।

बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्छ । ‘अधिकांश सवारी दुर्घटना चालकको होइन नागरिकको लापर्वाहीले समेत भएका हुन्छन् । दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ’, सवारी चालक चौधरी भन्छन्, ‘कतिपय साथीहरू अरुको गल्तीले पनि कारवाही भोग्न बाध्य छन् । त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ ।’

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर