‘ओलीजी ! बहुमत पुर्‍याएर फेरि हटाउँछन् कि भन्ने डर मान्नु पर्दैन ’(भिडियो) – Nepal Press

‘ओलीजी ! बहुमत पुर्‍याएर फेरि हटाउँछन् कि भन्ने डर मान्नु पर्दैन ’(भिडियो)

मन चङ्गा त कठौतीमा गंगा । तर केपी ओलीको मन नै चङ्गा (शुद्ध) छैन

केपी ओलीले फेरि अस्ति मलाई फोन गर्नुभयो- भेटौं भनेर । ल हुन्छ भनेँ । फेरि बालुवाटार आउनुहोस् भन्नुभयो । हुन्न भनेँ । उहाँले निजी निवास बालकोटामा आनुहोस् भन्नुभयो, जान्न भनेँ । त्यसपछि मैले तुलसीलाल प्रतिष्ठानमा आउनुहोस् भनेँ । त्यहाँ त नगरौं भन्नुभयो । मैले होटेल एभरेष्टमा आनुहोस् भनेँ, उहाँले होइन मेरियटमा आउनुहोस् भन्नुभयो । मैले ल हुन्छ भनेँ ।

मैले भनेँ- कूटनीतिले के भन्छ ? तपाईं त परराष्ट्र मन्त्री भइसकेको मान्छे हो । अनि उहाँले भन्नुभयो- तपाईं पनि त म भन्दा सिनियर परराष्ट्र मन्त्री हो । हो, म नेकपा (एमाले)को पहिलो परराष्ट्र मन्त्री हुँ । परराष्ट्रबारे राम्रो ज्ञान छ। त्यसले के भन्छ- द्वन्द्व व्यवस्थापन गनुपर्‍यो भने दुवैलाई उपयुक्त ठाउँको व्यवस्था गर्नुपर्छ । जनतामा के प्रभाव पर्छ भन्ने कुरा सोच्नुपर्छ । म अहिले बालुवाटार गयो भने माधव नेपाल लुरु-लुरु बालुवाटार गयो भन्ने पर्छ ।

त्यसो हुनाले यो सबै मन मिल्दा खेरीको अवस्थामा हो । ‘मन चङ्गा त कठौती मे गङ्गा’। मनै चङ्गा छैन भने के हुन्छ ?

मैले अरु पनि नेताहरुलाई बोलाउँछु भनेपछि हुँदैन तपाईं एक्लै आउनुहोस् भन्नुभयो । सबै स्थायी कमिटीका साथीहरूले भन्नु भयो- तपाईं जानुहोस् । केही फरक पर्दैन कमरेड । हाम्रो तर्फबाट जानुहुन्छ भने एक्ला-एक्लै गएर कुरा गर्दा फरक पर्दैन ।

कुरा एउटा होला प्रचार अर्को भइदेला फेरि- माधव नेपालले टाइम मागेर रोइरहेको थियो (हाँसो) । अनि आफ्नै पदको निम्ति याचना गर्दै थियो भने के भन्नु मैलेँ । मैले त पहिले नै भनेको थिएँ-बालुवा पेलेर तेल निस्कनेवाला छैन । बालुवाटारको बालुवामा तेल छँदै छैन । मैले वामदेव कमरेडलाई पनि धेरै पटक भन्ने गरेको छु- बालुवा पेलेर तेल निस्कनेवाला छैन ।

तैपनि होइन, अझै पनि कोसिस गरौं भन्ने कुरा आयो । म गएँ । कुराकानी भए । कुराकानी भइसकेपछि अलिकति मलाई आशा चाहिँ जागेको थियो । मैले भनेँ- तपाईंको अध्यक्ष पदलाई पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट पनि हट्नुहोस् भनेर भनेको पनि छैन अहिले । बस्नुहोस् प्रधानमन्त्री । तर, पार्टी चाहिँ स्टिमको आधारमा चलाउनुहोस् । यो पद, सद चाहिएन । माधव नेपाललाई पद चाहिएको छैन । तर्सिनु पर्दैन । बहुमत पु-याएर प्रधानमन्त्री भएर निकालिदिन्छ कि भनेर डराउनुपर्दैन ।

त्यसो भए केही उपाय छ त भनेर भन्नुभयो । मैले भनेँ- म उपाय खोज्छु । ल ठीक छ, तपाईंको सरकारलाई स्थायित्व दिनलाई म आफ्नो भूमिका खेल्न तयार छु । आशा जाग्या थियो- मिल्छ कि भने ।

फेरि हिजो बसियो । बस्नुभन्दा पहिले बिहानै उहाँको प्रवचन सुनियो । भाषण प्रवचन, पार्टी स्थापना दिवसको अवसरमा । उहाँले धुरन्धार गाली गरेर यिनीहरूलाई तह लगाइदिन्छु भन्नुभयो । के ठानेको छ भनेर बल्खुमा गएर भाषण ठोक्नु भए छ उहाँले । लक्षण उहाँको देखियो बिहानदेखि । हुर्मत लिने सोच छ उहाँको । माधव नेपालको हुर्मत उहाँले लिन सक्नुहुन्न ।

अनि त्यसपछि बस्दाखेरी उहाँले आफ्नो चरित्र देखाउनुभयो । मैले भनेँ-अब जेठ २ गते फर्कौं कमरेड । पार्टीलाई एकतावद्ध बनाउँ र मिलेर जाऊँ । को कसलाई थप्नुपर्छ त्यही ठाउँमा छलफल गरौं । त्यही बसेर छलफल गरौं । केही फरक पर्दैन । रामबहादुर थापाहरू थपिएर केही फरक पर्दैन । हामी पनि दुई/चार जना मान्छे थपिदिउँला भनेर मैले भनेँ ।

उहाँले भन्नुभयो- हुँदैन । तपाईंहरू बैठकमा किन आउनु भएन ? मैले भनेँ- तपाईंले बोलाउनु भयो कसैलाई ? बोलाएको हो, तपाईंको मोबाइल विग्रिएको थियो रे । (हाँस्दै) अब यस्तो पनि हुन्छ ? सबैको मोबाइल विग्रन्छ ? (हाँस्दै) सबैको मोबाइल । हामी नब्बे, पन्चानब्बे जनाको मोबाइल विग्रेको रहेछ । (फेरि हाँस्दै ) यो एनटीसीले बिगारिदिएको होला । यस्तो जाली कुरा ।

७ गते उहाँले टेलिभिजनबाट आह्वान गर्नुभयो आउनुहोस् भनेर । हामी जान्छौं लत्तारिएर ? हुँदैन । त्यो निर्णय फिर्ता लिनुहोस्, अनि बल्ल हुन्छ । यो भनिसकेपछि फेरि कुरा आयो । मैले भनेँ- जिल्ला अध्यक्षहरू जो पहिले अधिवेशनबाट जितेर आएका छन्, त्यो अध्यक्षलाई तपाईंले निकाल्नुभयो । आरोप के हो भने त्यो माधव नेपालको पक्षमा भएकाले ।

महाधिवेशनमा भोट दिएको हुनाले । तपाईंले हटाउन मिल्छ ? एकीकृत पार्टीको पनि अध्यक्ष । पहिले एमालेको पनि अध्यक्ष । अहिले तपाईंले हटाउन मिल्छ ? उहाँले भन्नुभयो-मिल्छ । उसले राम्रो भूमिका खेलेन हटादिइम । अनि तपाईंले हटाइदियो भनेर हामी मानेर जान सक्छौं ?

मनु सिगदेल, लोकबहादुर वाइवा, गोविन्द न्यौपाने । यी सबै माधव नेपाल नजिकका अध्यक्ष । प्रमोद यादव । यी सबैलाई हटाइदिने तपाईंले एकलौटी ? कुन विधानबाट ? कुन तरिकाबाट ? उहाँले भन्नुभयो- हैन, उनीहरूले भूमिका खेलेनन्, राम्रो भएन । चेन्ज गरिदिएँ ।

हिजो उहाँले सुन्न तयार हुनुभएन । र, के बुझियो भने केपी ओली कुनै हालतमा एकताको पक्षमा हुनुहुन्न । एउटा भनाइ छ- खाए खा, नखाए घिच । माने मान, नभए बाटो खुला छ जा । यो ढंगको अहंकार, दम्भ छ ।

अनि तपाईंहरूले एउटा समाचार पनि खुब सुन्नु भएको छ हिजो राति- वामदेव कमरेडसहितको डिनर मिटिङ भयो बालुवाटारमा । आज बिहान मलाई वामदेव कमरेडले फोन गर्नु भयो र मलाई म्यासेज पठाउनुभयो- हिजो राति आठ बजे डिनरमा मलाई बोलाएका थिए । म पनि अन्तिम कोसिस गरौं न त भनेर त्यहाँ गएँ । मेलै भने, पार्टी मिलाउने कुरामा तपाईंले भूमिका खेल्नुहोस् । फागुन २८ का निर्णय तपाईंले फिर्ता लिनुहोस् । उहाँले फिर्ता लिन्न भनेपछि डिनरै नखाएर त्यहाँबाट हिँडे भनेर मलाई म्यासेज पठाउनुभयो मोबाइलमा । अनि फोन गर्नुभयो- यो केपी ओली दम्भी छ । आज तपाईं र म बसेर निर्णय गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । यसले पार्टी सबै सिध्याउनुभयो । आन्दोलन समाप्त गर्ने भए भनेर उहाँले भन्नुभयो । त्यसो हुनाले वामदेव कमरेडबारे पनि भ्रम नरहोस् ।

अनि उहाँले २७ जना मान्छेमाथि फेरि कारवाहीको नयाँ प्रक्रिया । पहिले हामी चारजनालाई कारवाही गर्नुभयो । ६ महिनामा निम्ति सस्पेन्ड । केपी ओलीले माधव नेपाललाई सस्पेन्ड गर्ने ? २०३१ सालमा कोअर्डिनेसन केन्द्र शुरू गर्ने म माधव नेपाल । २०३२ सालमा को के बनाउने नेता, पोलिटब्यूरो सदस्य म माधव नेपाल । २०३५ सालमा नेकपा (एमाले) बनाउने माधव नेपाल।

हिजो उहाँले भन्नुभयो- तपाईंको त्यो ६ महिनाको कारवाहीको निर्णयमा सोच्न सकिन्छ । मैले भनेँ-तपाईंले मलाई पार्टीबाट निकाल्ने ? जो माधव नेपालले संगठन र आन्दोलन दुईटै संचालन गर्दै आएको छ, कसैले निकालेर निक्लनेवाला छैन । आन्दोलनबाट भाग्ने मान्छे होइन, माधव नेपाल । संगठन छोडेर हिँड्नेवाला छैन ।

त्यसपछि के देखियो भने- केपी ओलीका दम्भ अहिले धरहराभन्दा माथि चढेको छ । त्यसकारण हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनु भएको थियो । त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौं । पार्टी छोड्दैनौं । लोकतन्त्र छोड्दैनौं । संघीयता त्याग्दैनौं । यो संविधानको मर्म र भावना अनुसार देशलाई, जनतालाई अगाडि बढाउने बाटोमा । समाजलाई परिवर्तन गर्ने बाटोमा लाग्छौं । एउटा व्यक्तिको मुख हेरेर हामी आन्दोलनमा जुटेका छैनौं । हामी जनतालाई हेरिरहेका छौं । नेपाल राष्ट्रलाई हेरिरहेका छौं । हामी नेपाली भएको हुनाले नेपाली स्वाभिमानलाई, नेपाली जनताको समस्या समाधान गर्नका लागि सहि विचारलाई हेरिरहेका छौं ।

(नेता नेपालले जनकपुरिस्थत एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राखेका धारणाको सम्पादित अंश ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर