दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा – Nepal Press

दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । पहिलो चरणका दुई खेलमा जित तथा गोलविहीन रहँदै नेपाल थ्री नेसन्स कपको फाइनलमा पुगेको छ । पहिलो खेलमा किर्गिस्तान यु २३ सँग गोलरहितमा रोकिएको नेपाल आज बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नै पर्ने बाध्यतासहित मैदानमा उत्रिएको नेपालले सोही नतिजा दोहोर्‍यायो ।

दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

त्यसको तीन मिनेट नबित्दै त्रिदेवले २४औं मिनेटमा प्रहार गरेको भली फ्रेममा परेको थिएन ।

नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

प्रतिस्पर्धात्मक दोस्रो हाफको ५४औं मिनेटमा बंगलादेशी कप्तानले ४० यार्ड टाडाबाट प्रहार गरेको फ्रि-किक नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

त्यसको पाँच मिनेट नबित्दै सब्टिच्युट खेलाडी सुनिल बलले पेनाल्टी एरिया भित्र दिएको पासलाई अञ्जनले सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । अञ्जनले गरेको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद सहिदुल आलमले सहजै रोकेका थिए ।

रन्जित धिमालले सब्टिच्युट हुनुभन्दा तीन मिनेट अगाडि ६२औं मिनेटमा बाँयातर्फबाट गरेको क्रसमा अभिषेक रिजालले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको हेडर फ्रेममा परेन ।

पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ । दुई खेलमा दुई अंक जोडेको नेपाल पहिलो चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

बिहीबार भएको पहिलो खेलमा किर्गिज युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपालले आज सोही नतिजा दोहोर्‍यायो ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश नै आमनेसामने हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएबल प्लेयरले ५०० डलर तथा प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई २५० डलर प्रदान गरिने एन्फाले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *