राजेश हमालको असन्तुष्टि : अस्थिर राजनीतिले तन्नेरी पुस्तालाई ‘कन्फ्युज’ बनायो – Nepal Press

राजेश हमालको असन्तुष्टि : अस्थिर राजनीतिले तन्नेरी पुस्तालाई ‘कन्फ्युज’ बनायो

अभिनेता राजेश हमालले अस्थिर राजनीति र सूचना प्रविधिको कारण वर्तमान पुस्ता ‘कन्फ्युज’ भएको टिप्पणी गरेका छन् । ‘हामीले बाँचिरहेको समय चुनौति र अन्यौलले भरिएको छ’ नेपालप्रेससँग उनले भने, ‘यसका लागि धैर्य गर्न सिक्नुपर्छ ।’

‘महानायक’ हमाल प्रायः तन्नेरी पुस्तालाई जीवनको भोगाइ र भविष्यका टिप्स दिन रुचाउँछन् । ‘अवश्य पनि हामीले बाँचिरहेको समयले हामीलाई कन्फ्युज बनाएको छ’ भन्छन्, ‘यसमा अस्थिर राजनीति र सूचना प्रविधि मुख्य जिम्मेवार छ ।’

‘अहिलेको पुस्तामा पाँच सेकेन्ड पनि धैर्य गर्ने क्षमता छैन । हतार गर्ने बानीले झनै अन्यौल बनाएको छ’ हमाल भन्छन्, ‘पाँच मिनेटभित्र रिप्लाइ आएन भने हामी दुःखी हुन्छौं । तर, पहिलेको पुस्तामा एक घन्टामा रिप्लाइ आयो भनेपनि खुशि हुने बेला थियो । अहिलेको जेनेरेसनको मुख्य समस्या अधैर्य हुनु हो ।’

अबको बीस वर्षमा सूचना प्रविधि र आर्टिफिसियल इन्टिलेजेन्सले झनै चुनौति थप्ने भन्दै हमालले युवाहरुलाई बदलिँदो परिस्थितीअनुसार अपग्रेड हुन आग्रह गरे । ‘सिकाइ भनेको कहिल्यै सकिँदैन । अबको दसबीस वर्षमा सूचना प्रविधिले गर्दा अहिलेको सीपलाई नष्ट गर्न सक्छ । बरु सिक्दै र सिकाउँदै अगाडि बढ्नुपर्छ ।’

आर्टिफिसियल इन्टिलेजेन्सले युज र युजलेसजस्ता दुई वर्ग खडा गर्ने भन्दै हमालले प्रविधिको अपग्रेडसँग आफूलाई विकास गर्न आग्रह गरे । ‘राजनीति पनि यही हो । युवा पुस्ताको भावनालाई बुझेर नेताहरुले राजनीति गर्नुपर्छ’ हमालको कथन छ, ‘अस्थिर राजनीतिले हामीले बाँचिरहेको समयलाई चुनौतिपूर्ण बनाएको छ । यसको अन्त्य हुनैपर्छ ।’

गतमहिनासम्म नेपाली टेलिभिजनमा जातको प्रश्न नामक टकसो होस्ट गरेका हमालले अर्को एक नयाँ होस्टका लागि तयारी गरिरहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *