दीपकराजको कटाक्ष- सरकारले केही दिएन रे ? विकास बोर्डको अध्यक्ष दियो त – Nepal Press

दीपकराजको कटाक्ष- सरकारले केही दिएन रे ? विकास बोर्डको अध्यक्ष दियो त

काठमाडौं । कुनै पनि मुद्धाहरुमा आफ्नो प्रतिक्रिया राख्न पछि नपर्ने अभिनेता हुन् दिपकराज गिरी । जुनैपनि विषयमा उनी आफ्नो अभिव्यक्ति दिइहाल्छन् । यसपटक पनि उनले वर्तमान विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ईसारा गर्दै व्यङ्गात्मक कटाक्ष गरेका छन् ।

सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चलचित्र विकास बोर्डलाई बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाउनेलाई उनले उक्त व्यङ्गात्मक कटाक्ष दिएका हुन् । उनले लेखेका छन्, ‘सरकारले चलचित्र क्षेत्रलाई केही दिएन रे ? लौ पोहोरै दिएको होइन ? विकास बोर्डको नयॉ अध्यक्ष । अरू कति खोज्या ?’

पछिल्लो समय विकास बोर्डका अध्यक्ष केसी र अभिनेता गिरीबीच शीतयुद्ध चलिरहेको छ भन्दा फरक पर्दैन । बोर्डले वर्ष २०७९ नसकिँदै आफ्नो चलचित्र ‘छक्का पञ्जा ४’ को कमाई सार्वजनिक गरिदिएपछि गिरीले बोर्डप्रति असन्तुष्टि जनाएका थिए ।

गिरीले बोर्डले आफ्नो चलचित्रको गलत कमाई सार्वजनिक गरेको टिप्पणीसमेत दिएका थिए । उक्त घटनापछि यी दुईले आमनेसामने भएर वार्तालाप गरेको देखिएको छैन । केही समय अगाडि राजधानीमा आयोजना भएको चलचित्रको एक कार्यक्रममा यी दुई आमनेसामने भएका थिए ।

तर उनको अगाडि गिरीले यस विषयमा भने बोल्न चाहेनन् । हामी चलचित्रको लागि आएका हौं, यसै विष्यमा केन्द्रित रहौँ भनेर उनले कुरालाई नै टारिदिए । भेट भएको समयमा कुरा टारेपनि उनी अध्यक्ष केसीलाई बेलामौकामा कटाक्ष गर्न भने छाड्दैनन् ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन, दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो निजी लगानीसहितमा बनाउने घोषणा र साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने कुरा राखिरहँदा चलचित्र विकास बोर्डलाई भने बजेट नछुट्याएको बताउँदै चलचित्र पत्रकार संघका सदस्यहरुले आपत्ति जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर