प्रधानमन्त्रीलाई माओवादी नेताको सुझाव- ‘अखण्ड भारत’ को विवादित नक्साबारे भ्रमणमा कुरा राख्नुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा अखण्ड भारतको नक्सामा नेपाली भूमि समावेश भएको विषयलाई गम्भीर रुपमा उठाउन आग्रह गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमाको विषयमा कुरा राख्न सुझाव दिएका हुन् ।
बैठकमा नेता शिवहरि खनालले प्रचण्डलाई सुझाव दिँदै भने, ‘अखण्ड भारतको नक्सामा नेपालका भूमि लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय बाहिर आएका छन् । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राख्नुस् ।’
नेपाली भूमि अखण्ड भारतको नक्सामा समेटिएको विषय राजनीतिक वृत्तमा चर्चा छ । आजै बसेको प्रतिनिधिसभाको संसदीय समितिमा सांसदहरुले यस विषयमा प्रश्न उठाएका छन् ।
पूर्वाधार विकास समितिको बैठकमा एमाले सांसद ठाकुर गैरेले भनेका थिए, ‘भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् ।’
उनले प्रश्नपछि ऊर्जामन्त्री शक्ति बस्नेतले यो विषयमा प्रधानमन्त्रीले प्रस्ट पार्ने बताए ।
त्यसो त आजैमात्र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतको नक्साको बारेमा प्रश्न उठाएका छन् । भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाइ छ ।