‘एक वर्षअघि नयाँ विज्ञापन खोल्न कठिन छ’ – Nepal Press

‘एक वर्षअघि नयाँ विज्ञापन खोल्न कठिन छ’

कर्मचारीतन्त्रमा कर्णाली नेपालकै विकट प्रदेशको रूपमा लिने चलन छ । आकर्षक सेवा–सुविधाको अफर दिंदा पनि कर्णालीमा काम गर्न आउने कर्मचारीको संख्या अत्यन्तै न्यून छ । प्रदेश सरकारका २५०० भन्दा बढी दरबन्दीमा झण्डै एक हजारभन्दा बढी कर्मचारी अहिले पनि आएका छैनन्, दरबन्दी रिक्त छ ।

कर्मचारी अभावका कारण सरकारले काम गर्न नसकेको भन्दै गत साता कर्णाली प्रदेश लोकसेवा आयोगको गठन गरेको छ । गठन भएको आयोगले अहिले के गर्दैछ, कसरी कर्मचारी भर्ना गर्छ ? अहिलेको कर्णालीको अवस्था कस्ताे छ भन्नेबारे नेपाल प्रेसका शेरबहादुर थापाले नवनियुक्त अध्यक्ष रामप्रसाद उपाध्यायसँग गरेको कुराकानीको सारसंक्षेपः

प्रदेश लोकसेवा आयोग गठन भएको छ, अहिले के गर्दै हुनुहुन्छ ?

हामीले भर्खरै शपथ लिएका छौं । अहिले हामी ऐनहरू अध्ययन गर्ने, आयोगको कामलाई तीव्रता दिन के गर्न सकिन्छ भन्नेमा लागिरहेका छौं । अझ त्योभन्दा पहिले हामीसँग कार्यालय नै छैन । कार्यालय खोज्ने क्रम जारी रहेको छ । कार्यालय भेटिएको एक–दुई दिनमा नै हामी त्यहाँ सर्छौं र कर्णालीमा नयाँ जनशक्ति भर्ना बारेमा आवश्यक काम शुरू गर्छौं ।

कर्णालीमा कर्मचारी अभावका कारण सरकारले काम गर्न नसकेको कुरा दोहो¥याइरहँदा अब तपाईंहरूको पहिलो प्राथमिकता भनेकै कर्मचारी भर्ना त होला नि ?

आयोगको कार्यालय भर्खर स्थापना भएको छ । कर्मचारी भर्ना सम्बन्धी विभिन्न ऐन अध्ययन गर्न शुरू गरेका छौं । अन्य प्रदेशमा दुई वर्षअघि आयोग गठन भए पनि हालसम्म कर्मचारी भर्ना नभएको अवस्था छ । प्रदेश–३ मा भर्खर विज्ञापन भएको छ । हामी पहिले आन्तरिक तयारी गर्छौं ।

अर्को कुरा, आयोगको यो नयाँ संरचना हो । यो आयोगलाई दौडने बनाउनका लागि आवश्यक कर्मचारी व्यवस्थापनको कार्य अघि बढाउँछौं ।

शिक्षा, प्रशासन, अन्य क्षेत्रका विज्ञहरू नियुक्त गर्ने, पाठ्यक्रम निर्धारण गर्ने काममा हातै हाल्न पाएका छैनौं । सबैभन्दा पहिले हामी यी प्राविधिक कुराहरूमा ध्यान दिन्छौं ।

संरचना बलियो बनाएर विवाद नआउने गरी ऐन, कानून, नियम, विनियम र कार्यविधि बनाई अन्य सबै तयारी पूरा गरेर मात्रै कर्मचारी भर्ना गर्छौं । लोकसेवा गठन भएको एकै महिनामा विज्ञापन गर्न सकिने रहेनछ भन्ने कुराको बोध भएको छ । हामी जतिसक्दो छिटो सबै प्रक्रिया पूरा गरेर आयोगलाई बलियो बनाउनतिर लाग्छौं ।

भनेपछि, तत्काल कर्मचारीका लागि विज्ञापन खोल्ने मनसायमा हुनुहुन्न ?

सबै संरचना भइदिएको भए हामी हिजै विज्ञापन खोल्थ्यौं तर त्यस्तो छैन । मैले अघि पनि भनें, कर्मचारी भर्नाका लागि विज्ञापन गर्नुपूर्वका चरणमा हामी प्रवेश गर्न लागेका छौं । कसरी कर्मचारी भर्ना गर्ने भन्ने बारेमा अब छलफल शुरू गर्छौं । विभिन्न क्षेत्रका विज्ञको धारणा लिने काम गर्छौं । सबैसँग सुझाव माग्दै कसरी आयोगलाई निष्पक्ष बनाउन सकिन्छ त्यसमा लाग्छौं ।

आगामी एक वर्षमा कर्मचारी नियुक्तिका लागि तयार हुने विश्वासका साथ हामी अहिले लागिरहेका छौं । आगामी एक वर्षमा हामी कर्मचारी भर्ना सम्बन्धी विज्ञापन पनि गर्छौं ।

कस्ता कर्मचारीलाई नियुक्तिमा प्राथमिकता दिनुहुन्छ ?

हामीले कर्णाली प्रदेश सरकारलाई आवश्यक पर्ने सबैखाले जनशक्ति उपलब्ध गराउनका लागि विज्ञापन गर्छौं । विगतमा कर्णालीमा काम गर्न नचाहने ठूलो समूह हुन्थ्यो । मुख्यमन्त्रीले तदारुकताका साथ काम गर्न निर्देशन दिनुभएको छ । हामी दिन–रात नभनी सरकारको अपेक्षा अनुसार काम गर्छौं ।

लोकसेवा आयोगमा जागिर खान भनेर प्रतीक्षा गरिरहेका युवालाई आयोगको सन्देश के हो ?

भर्खर काम शुरू भएको छ । अबको एक वर्षमा हामी पाठ्यक्रमदेखि सबै काम सम्पन्न गर्छौं । अनि मात्र विज्ञापन खोल्ने तयारी गर्छौं ।

कर्णालीका युवालाई मेरो आग्रह हो, यहाँहरूको अपेक्षा अनुसार काम गर्छौं । जति सकिन्छ त्यो एक वर्षभन्दा पनि पहिले नै कर्मचारी भर्ना गर्ने गरी हामी काम गर्छौं । यहाँहरू तयारी गर्दै बसे हुन्छ ।

अझ भन्ने हो भने लोकसेवा आयोग जनताको कार्यालय हो । यसलाई सबैका आकांक्षा पूरा गर्ने वातावरण बनाउँछु । आयोगको लोकसेवा सम्बन्धी जग बलियो बनाउँछौं ।

राजनीतिक दलहरूबाट निष्पक्षतामा सपोर्ट होस् भन्ने हाम्रो चाहना छ । सबै वर्ग, क्षेत्रबाट हामीलाई सकारात्मक सुझाव आउने र उहाँहरूको सुझाव अनुसार नै आफूहरू अघि बढ्ने तयारीमा छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर