रवि लामिछानेको टिभी होस्टमा राजेश हमालदेखि रमेश प्रसाइँसम्म – Nepal Press

रवि लामिछानेको टिभी होस्टमा राजेश हमालदेखि रमेश प्रसाइँसम्म

काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ ल्याउने घोषणा गरेका छन् । राजधानीको तारे होटल म्यारिअटमा उनले घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा टेलिभिजनले प्रसारण गर्ने लाइनअप पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता राजेश हमालले होस्ट गर्ने ‘को बन्छ करोडपति’देखि दीपकराज गिरीको ‘क्राइम प्याट्रोल’सम्म छन् ।

सामाजिक अभियन्ता रमेश प्रसाइँले ‘लाल मोहर’ नामक टक-शाे चलाउने भएका छन् । टक-शाे भुइँमान्छे लक्षित हुने प्रसाइँले बताए । विगतमा एपीवान टिभीमा प्रसारण भएको ‘को बन्छ करोडपति’ पनि ग्यालेक्सी टिभीमा प्रसारण हुने भएको छ ।

हमाल र गिरीले आफूहरुले संचालन गर्ने कार्यक्रमको पोस्टर अनावरणगरे । राष्ट्रिय आविष्कार केन्द्रका संचालक डा. महावीर पुनले इनोभेसनसम्बन्धी कार्यक्रम होस्ट गर्ने भएका छन् । उनकी व्यवस्थापक मीरा पोखरेलले कार्यक्रमले वैज्ञानिक उत्पादन गर्ने जानकारी दिइन् ।

इन्दिरा जोशी, न्यूह बज्राचार्य र कालीप्रसाद बाँस्कोटा निर्णायक रहने सांगीतिक रियालिटी सो ‘सारेगमाप लिटल च्याम्पियन’ पनि उक्त टिभीबाट प्रसारण हुने भएको छ ।

कवि नवराज पराजुलीले ‘फरेभर’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । ‘यो नरम र कोमल कार्यक्रम हो’ पराजुलीले भने, ‘संसारमा कोमलता बचाइराख्न यो कार्यक्रम ल्याउनुपरेको हो ।’

अब कुरा ‘सीधा कुरा…’ चलाउने

लामिछानेले चलाउने कार्यक्रमको नाम चाहिँ ‘सीधा कुरा’ हुने भएको छ । यसअघि न्यूज२४ मा ‘सीधा कुरा जनतासँग’ चलाएका उनले सोही नाम अनुसार ‘सीधा कुरा…’ चलाउने घोषणा गरे । सीधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रमको अवधारणा अनुसार यसलाई चलाउने उनले जनाए । जनताको मुद्दालाई यही कार्यक्रमबाट निरन्तरता दिने लामिछानेले जनाए ।

साथै, नेताको खोजी गर्ने कार्यक्रम ‘द लिडर’ पनि प्रसारण गरिने भएको छ । स्वदेश तथा विदेशमा अडिसन गरिने भनिएको कार्यक्रमबाट समाजमा सक्षम नेताहरु जन्माउने होस्ट लामिछानेले घोषणा गरे । यो कार्यक्रम प्रसारण हुन केही समय लाग्ने उनले जनाए । यसबारे वैशाखपछि थप जानकारी गराइने भएको छ ।

टिभीबाट ‘कामका कुरा’ कार्यक्रम पनि प्रसारण हुने भएको छ ।

टेलिभिजन लन्च समारोहमा राजेश हमाल, नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, केदार घिमिरेलगायतका सेलेव्रिटी पनि सहभागी थिए । 

गोरखा मिडिया नेटवर्कद्वारा संचालन हुने टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको रुपमा रहनेछन् । उनको टीममा न्यूज२४ छाडेका पत्रकार प्रमोद न्यौपानेलगायत छन् । 

विजय कुमारको ‘सम्बन्ध’ पनि

चर्चित टेलिभिजन कार्यक्रम संचालक विजय कुमारले पनि ‘सम्बन्ध’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । आफूलाई ‘द विजय कुमार’ भन्ने सम्बोधन मन नपर्ने बताउँदै उनले जनताको दुःखलाई समेटेर कार्यक्रम चलाउने बताए ।

‘जनतालाई सर्वोच्च अदालतको फैसलाको पनि अर्थ छ र आम जनताको दुःखको पनि अर्थ छ’ विजयकुमारले भने । उनले यसैवर्ष ‘सम्बन्ध’ नामक पुस्तक पनि प्रकाशन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर