डेढ करोड लगानीमा ड्रागन खेती गर्दै पूर्वस्वास्थ्यकर्मी हीराबहादुर (भिडिओसहित) – Nepal Press

डेढ करोड लगानीमा ड्रागन खेती गर्दै पूर्वस्वास्थ्यकर्मी हीराबहादुर (भिडिओसहित)

सुर्खेत । सुर्खेतमा पछिल्लो समय ड्रागन खेतीतर्फ आकर्षण बढेको छ । कर्णालीमा ड्रागन खेतीको विकास र विस्तार भएको हो । बजारमा ड्रागन प्रतिकिलो आठ सय रुपैयाँ पर्छ । बजारसँगै मूल्य पाइने भएकाले यो खेतीमा युवाहरुको आकर्षण बढेको छ ।

करिब एक दशक स्वास्थ्य क्षेत्रमा काम गरेका गुर्भाकोट नगरपालिका- १४ भर्लेनीका ३२ वर्षीय हीराबहादुर घर्ती ड्रागन खेतीमा रमाउन थालेका छन् । डेढ वर्षअघि ड्रागन खेती सुरु गरेका उनले अहिले यही) खेतीमा आफ्नो भविष्य देख्न थालेका छन् ।

घर्तीले ड्रागन खेतीमा झण्डै डेढ करोड लगानी गरेका छन् । श्रीमती अमेरिका रहेका उनलाई पैसा कमाउनकै लागि दुःख गर्नुपर्दैन । तर, उनी कर्म र श्रममा विश्वास गर्छन् । त्यसैले कृषि विकास बैंकबाट सहुलियत व्याजदरमा ७० लाख बढी रकम ऋण लिएर ड्रागन खेती गरिरहेका छन् । खेतीलाई निरन्तरता दिएका घर्तीलाई कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले ५० हजार रुपैयाँ सहयोगसमेत गरेको छ । बाँकी लगानी उनकै हो ।

उनले एक विघा जमिनमा ४ हजार रातो र सेतो ड्रागनका विरुवा रोपेका छन् । ड्रागन उत्पादनसमेत हुन थालेको छ । पहिलो चरणमा लगाएका बोटहरुबाट फल उत्पादन भएको घर्ती बताउँछन् ।

‘अहिले दोस्रो चरणको फल पाक्ने बेला भएको छ’, उनले भने, ‘तेस्रो चरणका विरुवा फस्टाइरहेका छन् । चौथो र पाँचौं चरणका बोटहरु क्रमशः हुर्कंदै छन् ।’

ड्रागन फ्रुट मुख्य गरेर जेठदेखि असोजसम्म फल्ने गर्छ । वर्षमा चार चरणसम्म यो फल फल्ने घर्ती बताउँछन् । ‘यसमा कोपिला लाग्ने, फूल फुल्ने र फल फल्ने क्रम एकसाथ चलिरहन्छ । रोपेको १६ वर्षसम्म ड्रागन फ्रुटको उत्पादन लिन सकिन्छ’, उनले थपे ।

घर्तीले ड्रागन फ्रुटको विरूवा पनि प्रतिगोटा २०० रूपैयाँसम्ममा बेच्ने गरेका छन् । उनले यो फललाई ‘राजा’ फलको संज्ञा दिए ।

‘एक घर एक ड्रागन’ अभियान सुरु गर्न आवश्यक छ’, घर्तीले भने, ‘यो फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्छ । मुटु स्वस्थ राख्छ । शरीरको तौल सन्तुलन गर्न, क्यान्सर, बाथलगायत अन्य रोग न्यूनीकरण गर्न ड्रागन फ्रुट सेवन फाइदाजनक छ । त्यसैले प्रत्येक व्यक्तिले आ-आफ्नो घरमा ड्रागन रोपी नियमित सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।’

उनले एक विगाहामा ९७६ वटा विरुवा लगाएका छन् । उनको बगैंचामा दैनिक नौ-दश जनाले रोजगारीसमेत पाएका छन् ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले ड्रागन फ्रुटका लागि अहिले बजार अभाव नभएको बताए । ‘हामीले धेरै स्थानमा यो खेतीलाई प्रोत्साहन दिइरहेका छौं’, उनले भने, ‘हीराबहादुर जस्तै अन्य युवाहरु कृषि क्षेत्रमा आएका छन् । यसले कृषिमा व्यवसायिकता बढ्ने विश्वास लिन सकिन्छ ।’

कृषि पेशामा ‘मनैदेखि लाग्छु’ भन्ने कृषकलाई प्रदेश सरकारको स्रोतले भ्याएसम्म सहयोग गर्ने निर्देशक रोकाय बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर