मेयर बालेन्द्रको सन्देश: कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले संकलन गर्दैन – Nepal Press

मेयर बालेन्द्रको सन्देश: कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले संकलन गर्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै घरबाट निकाल्न नगरबासीलाई आग्रह गरेका छन् । यसरी नछुट्याइएका फोहोर महानगरले संकलन नगर्ने उनको भनाइ छ ।

हिजो काठमाडौंको फोहोर विसर्जनबारे भएको सहमतिपछि सामाजिक सञ्जालमार्फत साहले यस्तो आग्रह गरेका हुन् । फोहोर उठ्नु मात्रै समाधान नहुने भन्दै उनले अझै धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् ।

‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,’ उनले भनेका छन् ।

आफ्ना कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने छुट्याउन साहको आग्रह छ ।

उनी भन्छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।’

अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुनसक्ने भए पनि अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग–अलग भाँडोमा राख्न उनले सुझाएका छन् ।

उनले थप भनेका छन्–

महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन ।

यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्नसक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *