रामेछापको चुनावी गणित- सिट र मतमा कुन दल बलियो ? – Nepal Press

रामेछापको चुनावी गणित- सिट र मतमा कुन दल बलियो ?

मन्थली । जिल्लाका ७ स्थानीय तहका ६४ वडामा प्राप्त मत र निर्वाचित जनप्रतिनिधिहरूको संख्याका आधारमा नेकपा एमाले रामेछापको सबैभन्दा ठूलो दल बनेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा रहँदा नेकपा एस र राप्रपाको मत लगभग बराबरी देखिएको छ । जिल्लाका विभिन्न पालिकामा कांग्रेस-माओवादी र माओवादी-नेकपा एसबीच गठबन्धन भएकाले वडाको मतलाई दलले प्राप्त गरेको मत आधार बनाउँदा एमाले पहिलो दल बनेको हो ।

जिल्लामा एमालेबाहेक सबै दल कुनै न कुनै गठबन्धनबाट चुनाव लडेका थिए । माओवादी केन्द्रले खाँडादेवी र दोरम्बा शैलुङमा नेपाली कांग्रेससँग घोषित गठबन्धन गरेको थियो भने लिखु र गोकुगंगा गाउँपालिकामा अघोषित गठबन्धन गरेको थियो ।

त्यस्तै उमाकुण्डमा राप्रपालाई अध्यक्ष दिएर उपाध्यक्षमा उम्मेदवारी दिएको माओवादी केन्द्रले सुनापती र मन्थली तथा रामेछाप नगरपालिकामा नेकपा एससँग गठबन्धन गरेको थियो ।

लिखु गाउँपालिकामा नेकपा एससँग गठबन्धन गरेपनि अन्तिम समयमा एमालेलाई हराउन सो पार्टीले अध्यक्षमा कांग्रेसलाई मत दिएको थियो भने गोकुलगंगामा पनि नेकपा एसलाई अध्यक्ष छाडेको माओवादीले अन्तिममा कांग्रेसलाई अध्यक्षमा मत दिएको थियो ।

कांग्रेसले खाँडादेवीमा अध्यक्ष लिएर माओवादीलाई उपाध्यक्ष दिए पनि जित निकाल्न सकेको थिएन भने दोरम्बा शैलुङमा माओवादीलाई अध्यक्ष दिएर उपाध्यक्ष जितेको कांग्रेस अन्य पालिकामा एकल प्रतिस्पर्धामा गएको थियो ।

जिल्लाका ६४ वडामा सम्बन्धित पार्टीका वडाध्यक्षहरूले पाएको मत जोड्दा ३८ हजार ८६० मत ल्याएर एमाले पहिलो पार्टी भएको हो ।

कांग्रेस ३८ हजार ७४३ मतका साथ दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्रले २७ हजार ८२९ मत ल्याई तेस्रो भएको छ ।

नेकपा एसले १ हजार ५६४ मत ल्याएर चौथो स्थान ओगटेको छ भने राप्रपाले १ हजार ५८ मत ल्याएर पाँचौ भएको छ । रामेछापमा मंगोल नेशनल अर्गनाइजेसनले २४०, जनता समाजवादी पार्टी नेपालले ८८, नेकपा मालेले ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ४ र स्वतन्त्र उम्मेदवारले ६५१ पाएका छन् ।

कसको कति सिट ?

घोषित परिणामअनुसार एमालेले तीन पालिका प्रमुख, तीन उपप्रमुखसहित २४ वडाध्यक्ष जितेर जिल्लाको ठूलो पार्टी बनेको छ । कांग्रेसले पनि तीनवटा प्रमुख र चार उपप्रमुखसहित २४ वडाध्यक्ष जितेर दोस्रो पार्टी बनेको छ ।

माओवादी केन्द्रले दुई पालिका प्रमुख र एक उपप्रमुखसहित १५ वटा वडा जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीले भने एउटा वडाध्यक्षमात्र जितेको छ ।

यो पनि पढ्नुस् : तीन पालिकासहित २५ वटा वडा जितेर एमाले बन्यो रामेछापको ठूलो दल, कांग्रेस दोस्रो (सूचीसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर