ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा कुखुराको मासुको मूल्य वृद्धि – Nepal Press

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा कुखुराको मासुको मूल्य वृद्धि

ताप्लेजुङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो ।

फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम ४८० रुपैया पुगेकाे छ  । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।

इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको र हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको  फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले  बताए ।  जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको व्यवसायीको भनाइ छ । अहिले जिल्लामा लोकल कुखुराको मासु प्रतिकिलोग्राम  ७०० रुपैयाँ ले बिक्री गर्ने गरिएको छ ।

फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा ब्राेइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन् । सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ ।  मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार ब्राेइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर