कमल थापाको दावी– संसद विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउँछ – Nepal Press

कमल थापाको दावी– संसद विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउँछ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनले होइन पुनःस्थापना भए चाहिं राजनीतिक अस्थिरता हुने बताएका छन् । सडकमा शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने काम भइरहेको टिप्पणी समेत थापाले गरेका छन् ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार विराटनगरको सभामा अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे सभामुखमार्फत संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने र जनताले नै फैसला गर्ने बताएका थिए । त्यसकाे जवाफ दिंदै थापाले यस्ता धम्कीले संविधान र प्रजातन्त्र कमजोर बनाउने बताएका छन् ।

आफ्नो लामो वक्तव्यमा थापाले भनेका छन्– संविधानको आशय स्थिरता हो। विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ। विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको हो। चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन । बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।

अध्यक्ष थापाले नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु असंवैधानिक अभिव्यक्ति भनेका छन् । उनले संविधानमा प्रतिनिधिसभा विघटनबारे अस्पष्टता भएकाले अदालतले व्याख्या गर्नुपर्ने बताएका छन् ।

थापाले भनेका छन्– बहुमतप्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा केही अस्पष्टता छ, त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविक हो।

थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुनसक्नेतर्फ सचेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर