सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौं: खानेपानीमन्त्री चौधरी – Nepal Press

सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौं: खानेपानीमन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन् ।शुक्रबार सिंहदरबारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन् ।

उनले आफ्नो मन्त्रालयका कर्मचारीहरु दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताए । मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताए । मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभइ कार्यान्वयन गरेर देखाउने बताए ।

मन्त्री चौधरीले भने, ‘हामी लगायत हाम्रा सबै टिम दिनरात खटेर भएपनि हामी चाँडो भन्दा चाँडो सरकारले घोषणा गरेको समयमा नै हामीले काठमाडौं वासीलाई अस्थायी भए पनि पानी ल्याएर ख्वाउँछौँ भनेर हामी पूरै लागि परेका छौँ र लाग्छौँ पनि । हामी सरकारले घोषणा गरेकै समयभित्र पानी ख्वाउने प्रतिवद्धता जनाउँछौँ । जबसम्म पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन गर्न गाह्रो छ । त्यसको लागि एडिबीसँग कुरा पनि गरेका छौँ । त्यहाँ एडिबीको एउटा अध्ययन टोलीले अध्ययन गरिरहेको छ ।’

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले वृहत खानेपानी आयोजना सर्वेका लागि आफ्नो जिल्लामा हालसम्म कर्मचारी नै नपुगेको गुनासो गरिन् । उनले योजना आएको तीन वर्षमा सर्वे हुन नसकेको भन्दै जनतासमक्ष जान पनि लाजमर्दो भएको बताइन् ।

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले खानेपानी मन्त्रालयले खानेपानीको वृहत् योजनाका लागि दीर्घकालीन र मध्यकालीन, तत्कालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले मन्त्रालयले अध्ययन गरेर दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताए । उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङको खानेपानी आयोजना हेर्नका लागि कार्यालय खोटाङको कुनामा राखेको भन्दै त्यसमा सच्याएर ओखलढुंगा तीनै जिल्लाका लागि पायक पर्ने भएकोले त्यहाँ कार्यालय स्थापना हुनुपर्ने माग गरे ।

नेकपा एमालेकी सांसद बिनाकुमारी श्रेष्ठले मेलम्ची खानेपानी साउनयता जनताले खान पाउनेरुपमा कुनै काम अघि बढ्न नसकेको बताइन् । उनले काठमाडौंका बासिन्दाले कहिलेसम्म मेलम्चीको खानेपानी खान पाउने हो भन्दै खानेपानी मन्त्रीलाई प्रश्नसमेत गरिन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एक घर एक धारा र जनसंख्याका आधारमा खानेपानी छुट्याउने कुरा एक आपसमा बाझिएको बताइन् । उनले खानेपानीको योजनामा लागतलाई आधार बनाएर काम अघि बढाउँदा राम्रो हुने बताइन् ।

नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामाले खानेपानी मन्त्रालयको कहिल्यै बिस्तृत योजना नभएको र सबैले गाली गर्न थालेको भन्दै मन्त्रालयको नाम फेरेर पिउने पानी मन्त्रालय राख्न सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर