स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय – Nepal Press
कोरोनाविरुद्धको खोप

स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लगत लिने काम शुरू गरेको छ ।

सरकारले ५ दिनअघि कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपालमा आपतकालीनरूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने औषधि व्यवस्था विभागले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिसकेको छ ।

आजै मात्र भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । उनले नेपालप्रेससँग भने, ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं । नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं ।’

गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ । सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए ।

भ्याक्सिन भण्डारणको पूर्वतयारी तीब्र

मन्त्रालयले भ्याक्सिन भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको  मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ ।

कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो । ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर