मतदाता नामावली दर्ता अद्यावधिक सुरु – Nepal Press

मतदाता नामावली दर्ता अद्यावधिक सुरु

काठमाडौं । इलाम र बझाङमा वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका कारण रोकिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु भएको छ ।

उपनिर्वाचन हुने इलाम र बझाङमा वैशाख २५ गतेदेखि सुचारु हुने भए पनि बाँकी ७५ वटै जिल्लामा सोमबारदेखि नै मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु भएको निर्वाचन आयोगले जनाएको हो ।

मतदाता नामावली ऐन, २०७३ को व्यवस्था बमोजिम प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ प्रदेश र जिल्ला निर्वाचन अधिकारीले प्रमुख नाम दर्ता अधिकारीको रूपमा काम गर्नेगरी मतदाता नामावली दर्ता, तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको गत फागुन १३ गतेको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम उसको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली संकलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई आयोगले निरन्तरता दिएको छ ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर