‘कुकुल्याण्ड’ मा जोडिएको नामबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया- केही पनि छैन, कपोकल्पित – Nepal Press

‘कुकुल्याण्ड’ मा जोडिएको नामबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया- केही पनि छैन, कपोकल्पित

काठमाडौं । हालसालै बेलायतबाट बजारमा आएको खोजमूलक किताब ‘कुकुल्याण्ड’ आफ्नो नाम जोडिएको कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रिया दिएका छन् । केही दिनअघि गोरखामा पुगेका प्रधानमन्त्रीले गरेको पत्रकारसँगको छलफलमा उनले यो विषयलाई ठाडै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीलाई गोरखाका पत्रकारले सोधेका थिए, ‘प्रधानमन्त्री ज्यू एउटा प्रश्न छ । अहिले यो कुकुल्याण्ड भन्ने पुस्तकमा हजुरको नाम पनि समेटिएर आयो भन्ने न्यूजहरू अनलाइनमा आयो । त्यो विषयमा के छ ?’ नेपाल प्रेसलगायतका केही मिडियामा आएको कुकुल्याण्डका सवाललाई जोड्दै सोधिएको यो प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिए, ‘केही पनि छैन । कपोकल्पित ।’

कुकुल्याण्डको प्रश्नसँगै प्रधानमन्त्रीले पत्रकार सम्मेलन सकिएको घोषणा गरेर भने, ‘ल है ।’

यो पनि पढ्नुहोस्- विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’

के हो कुकुल्याण्ड प्रकरण ?

बेलायती कालो धनका बारेका विश्वविख्यात लेखक टम बर्गिसले कुकुल्याण्ड किताब हालसालै बजारमा ल्याएर आएका छन् । दुई हप्ता हाराहारीमात्रै अगाडि बजारमा आएको किताबको सातौँ अध्याय नेपालबारेमा छ । बेलायतमा बसेर विश्वभरका राजनीतिक तथा सत्ताधारी मान्छेको पैसामा टेलिकममा लगानी गरेर अकुत कमाइरहेका बेलायतका टेलिकम साहु महोमद आमेर्सीको कथा खोज्दै जाने क्रममा नेपालका माओवादी नेतृत्व, त्यसमा पनि प्रचण्ड र उनीसँग जोडिएका व्यापारी अजय सुमार्गी किताबमा तानिएका छन् । सुमार्गी हेलो टेलिकम त्यसमा साझेदारी गर्ने टेलिया सोनेराको व्यापारिक साँठगाँठ र त्यहाँ प्रधानमन्त्री प्रचण्डको सीधा संलग्नताको कुरा किताबमा छ ।

कुकुल्याण्डमा हेलो टेलिकममा प्रचण्डको सेयर भएको, उनले हेलो टेलिकमसँग साझेदार गर्न टेलिया सोनेरालाई आग्रह गरेको र उनकै पार्टीका सञ्चारमन्त्री हुँदा हेलो टेलिकमको लाइसेन्स मिलेको भन्दै राजनीतिक र टेलिकम व्यापारमा प्रचण्ड जोडेर किताब आएको छ । नेपालबाहेक रुस, काजाकिस्तान, उज्बेकिस्तान जस्ता देशहरूको कथा पनि किताबमा आएका छन् । यसबारेमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पनि सार्वजनिक चासो राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर