जिल्ला अधिवेशनमा हस्तक्षेप भएको भन्दै ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षद्वारा पार्टी परित्याग – Nepal Press

जिल्ला अधिवेशनमा हस्तक्षेप भएको भन्दै ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षद्वारा पार्टी परित्याग

ओखलढुंगा । दशौं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसकेपछि निवर्तमान जिल्ला अध्यक्ष शंकर कट्वालले पार्टी परित्याग गरेका छन् । जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई पत्र लेख्दै पार्टी त्यागेको जनाएका हुन् ।

उनले लेखेको पत्र बिहीबार बिहान सामाजिक सञ्जालमा राखेर पार्टीको सदस्यता समेत त्यागेको उल्लेख गरेका छन् । तर यो पत्र उनले २७ गते बेलुका नै जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई बुझाएका थिए । एमाले जिल्ला अधिवेशन नयाँ नेतृत्वय चयनसँगै २८ गते सम्पन्न भएको छ ।

३४ वर्ष एमालेको राजनीति गरेर दुई वर्ष पहिले जिल्ला अध्यक्ष भएका कट्वालले बन्द सत्र शुरु भएपछि पार्टी त्याग गरेको पत्र लेख्नु सामान्य घटना होइन । उद्घाटन समारोहपछि अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् ।

दशौं जिल्ला अधिवेशनको निर्वाचन प्रकृया शुरु हुने समयमा आएर उनले पार्टी नै त्याग गर्नु एमालेका लागि ठूलो दुर्घटना भएको नेताहरुले बताएका छन् । यसले पुर्‍याउने दिर्घकालीन क्षति आंकलन गर्न नसकिने भन्दै एमाले नेता कार्यकर्ताहरु निराश भएका छन् ।

बिहीबार विहान सामाजिक सञ्जल फेसबुकमा स्टाटस लेख्दै कट्वालले पार्टी सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टी त्यागको पुष्टि गरे । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय कट्वाल यस अघिको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनले नेपाल प्रेससँग टेलिफोनमा आफुले निकै कठोर निर्णय लिएको बताए । निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै उनले बिहीबार बिहान २७ गतेको पत्र सार्वजनिक गरे ।

कट्वालले पार्टी त्यागको परिदृश्य

अध्यक्ष भएपछि प्रदेश र केन्द्रका केही नेताहरुले उनलाई आफ्नो इशारामा चलाउन खोजेपछि उनी दबाबमा थिए । जे पनि निर्देशन नमानेपछि उनीमाथि ढुलमुले, काम गर्न नसक्ने आदि आरोप समेत लागे ।

जिल्ला अधिवेशनमा प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा उनलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा, अम्बीरबाबु गुरुङसम्मले हस्तक्षेप गरेको जिल्लाका नेताहरुको आरोप छ ।

अतिथिका रुपमा आएका नेताहरुको दवावमा प्रतिनिधीको अन्तिम नामावली तयार गर्दा हस्तक्षेप गरेर थप्ने र हटाउने समेत काम भएपछि उनले विधी विपरितको हस्तक्षेप भन्दै प्रतिवाद गरेका थिए ।

जिल्ला अधिवेशनमा पार्टीको केन्द्रिय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पठाएको ६ जनाको सदस्यता अभिलेख नमान्न उनलाई नेताहरुले दबाब दिएका थिए । उक्त दवाव विधी, पद्धति र संगठन विभागको परिपत्र विपरित भएको भनेर उनले स्वीकार गरेका थिएनन् ।

त्यसपछि अतिथिहरुको हस्तक्षेपबाट प्रतिनिधी समेत छनौट गर्ने क्रममा उपाध्यक्ष पदका दावेदार खड्गबहादुर कार्की लगायत छ जना प्रतिनिधीलाई मान्यता नदिने निर्णय भयो । यसले बन्द शत्र एक दिन लम्बियो । कार्की स्थानीय तह निर्वाचनअघि नै माओवादीबाट एमालेमा प्रवेश गरेका पूराना एमालेकै नेता हुन् ।

कट्वालले संगठन विभागले पठाएका सदस्य, गाउँपालिका र वडाबाट छनौट भएका प्रतिनिधिलाई हटाउन जवरजस्त हस्तक्षेप गरेपछि उनले पार्टीत्याग गरेको पत्र जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई थमाए, तर त्यसमाथि छलफल भएन । अतिथिहरु नै जिल्ला अधिवेशनमा प्यानल बनाएर भोट माग्न र जिताउनतिर खटिएका थिए । केन्द्रीय नेताहरु नै  चैत २५ गते ओखलढुंगा आएर २७ गतेसम्म बसेका थिए ।

अध्यक्ष पदको राजीनामा पत्रमा उनले अतिथिहरुले गरेको गुटबन्दी र हस्तक्षेपबारे खुलाएका छन् । मतदाता नामावली प्रकाशन गर्ने क्रममा आफ्नो निर्णय गर्ने अधिकार समेत नदिएर हस्तक्षेप गरेको, गुटउपगुट निर्माण गरि आरोप प्रत्यारोप गर्ने काम गरेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,– ‘दशौं जिल्ला अधिवेशनमा जे जस्तो रवैया, भाँडभैलो र आरोपप्रत्यारोपको होड चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले ३४ बर्षे राजनीतिक जीवनमा यस्तो विधी र पद्धति बिहिनता देखिएको थिएन ।’

केन्द्र र प्रदेशका नेताहरुले जिल्लामा बसेर राजनीति नगर्ने व्यवसायीहरुको समुह खडा गरी प्यानल बनाएर चुनाव गराएकोमा उनी असन्तुष्ट थिए । दशकौं श्रम र पसिना बगाएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर केन्द्रिय नेतृत्वबाटै नांगो हस्तक्षेप भएपछि उनले पार्टी त्याग गरेको कार्यकर्ताहरुले सामाजिक संजालमा लेखिरहेका छन् ।


प्रतिक्रिया

One thought on “जिल्ला अधिवेशनमा हस्तक्षेप भएको भन्दै ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षद्वारा पार्टी परित्याग

  1. यस्ता अस्थिर , हावा पनि नेता ? एमालेमा बस्न लायक नै देखिएनन् ।गए हुन्छ तर दलाल पत्रकारहरूलाई चाहिँ गतिलो मसला पुगेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर