पश्चिम नवलपरासीमा हुण्डाइ गाडीको एसेम्ब्लिङ प्लान्ट सुरु – Nepal Press

पश्चिम नवलपरासीमा हुण्डाइ गाडीको एसेम्ब्लिङ प्लान्ट सुरु

लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत : प्रधानमन्त्री

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम ६ मा हुण्डाई गाडीको एसेम्ब्लिङ प्लान्टबाट गाडी उत्पादन सुरु भएको छ । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले एसेम्ब्लिङ प्लान्टमा पुगेर उद्घाटन गरेका हुन् ।

यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात् प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । गाडीको मागअनुसार सिफ्ट बनाएर उत्पादन गर्ने लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने ।

यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

गाडी आयात गरेर बेच्नेभन्दा यही उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो ।

यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ । उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे । कोरियन प्राविधिक टिमले यही बसेर एसेम्ब्लिङ प्लान्ट हेरिरहेको छ ।

उनले यो एसेम्ब्लिङ प्लान्ट टेक्नोलोजी ट्रान्सफरको उदाहरण भएको बताए । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरू उत्पादन हुने कम्पनीले जनाएको छ ।

करिब १० बिघा जग्गामा फैलिएको प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो उत्पादित गर्दै हुन्डाइको भेन्यू गाडी चढेका हुन् ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाइने बताउँदै निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने र लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सबल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’

उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे । ‘भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *