‘सुकुम्बासी’ समिर र मिलन कसरी जोडिए ११ किलो सुन प्रकरणमा ? – Nepal Press

‘सुकुम्बासी’ समिर र मिलन कसरी जोडिए ११ किलो सुन प्रकरणमा ?

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ अमुवाका २८ वर्षीय समिर सुनारको गाउँमा कुनै पूर्जावाला घरजग्गा छैन । केही वर्षदेखि अमुवामै उनको सानो सुनचाँदी पसल रहेको थियो तर त्यो पनि राम्रोसँग चल्न नसकेर छाडेका थिए । स्थानीयका अनुसार गाउँमा कारोबार बिग्रेकाले उनको अझै ऋण तिर्न बाँकी छ ।

तर उनै समिर शुक्रबार काठमाडौंमा ११ किलो सुन प्रकरणमा समातिएका छन् । समिरको साथमा पक्राउ परेका २९ वर्षीय मिलन बिक पनि सोही प्रकरणमा पक्राउ परेका छन् । मिलनको पनि बुटवलमा सानो सुन पसल थियो तर उनको पनि कारोबार बिग्रेपछि त्यो पसल अलपत्र छ ।

शुक्रबार उनीहरु दुवै ११ किलो सुन प्रकरणमा समातिएपछि स्थानीयले उनीहरु कसैको भरिया भएको तर उनीहरुले त्यति धेरै रकम संकलन गरेर कारोबार गर्नसक्ने हैसियतको आर्थिक अवस्था नरहेको जनाएका छन् । सो वडाका वडाधयक्ष दीपक शाहीले गाउँमा पूर्जावाला जग्गासमेत नभएको सामान्य परिवारका मान्छेहरु यति ठूलो कारोबार आफैले गरेजस्तो विश्वासै नलाग्ने बताए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘समिरको त पूर्जावाला जग्गासमेत छैन, गाउँमा सानो सुन पसल थियो तर कारोबार बिग्रेर लथालिंग भथ्यो, मिलनको पनि आर्थिक अवस्था राम्रो होइन, सामान्य परिवारका मान्छेहरु हुन्, यहाँ रहँदासम्म इमान्दार नै देखिन्थे तर यति ठूलो कारोबारमा कसरी जोडिए ? यसको निष्पक्ष छानविन हुनुपर्छ ।’

उनले भने, ‘दोषी भए त सजाय पाउनुपरो तर उनीहरु भरिया मात्रै हुन् भन्ने त्यसको जरो पत्ता लगाउनुपरो ।’

स्थानीय हिरा बिश्वकर्माका अनुसार उनीहरु सामान्य परिवारका भएकाले यति ठूलो कारोबारमा कसरी जोडिए भन्ने आश्चर्यमा परेको बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित सुनार र बिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले रकमसहित पक्राउ परेको जनाएका छन् । ‘दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ’, उनले भनेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अवैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र उनको सम्पत्ति शुद्धीकरणमा समेत

मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।

गाउँमा सामान्य परिवारमा रहेका उनीहरु सानैदेखि सुनका विषयमा जानकार भएकाले र यता कारोबार बिग्रेकाले एकैपटक कमाउने ध्यानमा त्यता लागेको तर कारोबार नै उनीहरुले गर्नसक्ने अवस्थामा नरहेको स्थानीयको भनाइ छ । रुपन्देही प्रहरीले उनीहरु यहाँको विषयमा नसमातिएकाले अन्य जानकारी नभएको जनाएको छ । रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जिल्लाको विषय नभएकाले प्रहरीले माथि नै अनुसन्धान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर