एमाले रामेछापमा तामाङ र कँडरियाबीच प्रतिस्पर्धा हुने, प्यानल बनाउने तयारी – Nepal Press

एमाले रामेछापमा तामाङ र कँडरियाबीच प्रतिस्पर्धा हुने, प्यानल बनाउने तयारी

काठमाडौं । नेकपा एमाले रामेछापको ९ औँ जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आगामी नेतृत्व चयन प्रक्रियाका लागि रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडीको अध्यक्षताम ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

यसअघि नेकपा एमाले रामेछापको अध्यक्षका लागि ४ जनाको नाम चर्चामा आएको भए पनि अहिले अन्तिम समयमा २ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङ र जिल्ला सचिव पुरुषोत्तम कँडरियाको बलियो दाबेदारी प्रस्तुत भएको छ ।

तामाङलाई पार्टीका केन्द्रीय नेताहरु कमल चौलागाईँ, माधब ढुङ्गेल र गीता कार्कीको समर्थन देखिएको छ ।

उता, कँडरियालाई भने कैलाश ढुङ्गेलकै समर्थन देखिएको छ । उनी एमाले बागमती प्रदेशका अध्यक्ष पनि हुन् । यद्यपी, कैलाशले मुखै खोलेर सार्वजनिक रुपमा समर्थन जनाइसकेका छैनन् ।

तर, उनले कँडरियालाई नै भावी नेतृत्वका रुपमा मौन समर्थन जनाएको बुझिएको छ । साथै, रामेछाप एमालेमा मात्रै नभई आम जनता र कार्यकर्तामा लोकप्रीय छवि बनाएका रत्न गौतमले पनि कँडरियालाई भावी अध्यक्षका रुपमा समर्थन जनाएका छन् ।

कार्यकर्तामा लोकप्रिय रहेका हालका जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको पनि कँडरियालाई नै उत्तराधिकारीका रुपमा प्रस्तुत गरेका छन् ।

खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्षसमेत तामाङ वागमती प्रदेश सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज हुन् ।

कँडरिया भने पार्टी विभाजनका बेला र तत्कालिन नेकपाभित्र आन्तरिक संघर्ष चलेका बेलासमेत एमालेको सचिव भएर संगठन निर्माणमा केन्द्रित भएका थिए ।

नेकपा एमाले रामेछापको आगामी नेतृत्व छनोट गर्न भूगोल, जनसंगठन र मनोनितबाट गरि ७ सय प्रतिनिधि चयन भएका छन् । उमाकुण्ड गाउँपालिकाबाट ४८ जना, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, लिखुतामाकोसी गाउँपालिकाबाट ६६ जना, मन्थली नगरपालिकाबाट १३५ जना, रामेछाप नगरपालिकाबाट ५६ जना, खाँडादेवी गाउँपालिकाबाट ९३ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकाबाट ७३ जना, सुनापति गाउँपालिका ४३ जना प्रतिनिधि छन् ।

जनसंगठनबाट ५२ जना, जिल्ला सल्लाकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट ३ जना र ५ प्रतिशत मनोनितमा ३३ जना प्रतिनिधि छनोट भएका छन् ।

यस आधारमा कुन पालिका र जनसंगठनमा कसको पकड छ भन्ने कुराले पनि अर्थ राख्ने छ । कँडरिया सकेसम्म पार्टीका नेताहरु बसेर सर्वसम्मत रुपमा नै नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् ।

‘नेताहरुले प्रतिनिधि र आम कार्यकर्ताको भावना बुझ्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु’, कँडरियाले भने, ‘यदि सहमित हुन नसक्दा लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गर्ने विकल्प छँदैछ, चुनाव भएको खण्डमा ५५० भन्दा बढी मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छु ।’

उनका अनुसार जिल्लामा लोकप्रीय मानिने मिलन कुमार घिसिङ, होतराज ढकाल, मन्थली नगर अध्यक्ष रामबाबु घिमिरे, अखिलका पूर्व अध्यक्षसमेत रहेका एमाले गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्की, एमाले रामेछापकी नेतृहरु माया कार्की, दीपशिखा दाहाल र युवा नेता लवहरि बुढाथोकीको कँडरियाको पक्षमा उभिएका छन् ।

कँडरियाले भने भूगोल र समुदाय मिलाएर एमाले रामेछापमा समावेशी प्रतिनिधित्व गराउने प्रयासमा आफू रहेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर